विराट ट्रेड एक्स्पोमा २५ करोडको कारोबार, डेढ लाखले गरे अवलोकन

0
Shares

सरोज यादव ,विराटनगर ।
विराटनगरमा नौ दिनसम्म सञ्चालन भएको विराट ट्रेड एक्स्पो २०१८ मा २५ करोडको कारोवार भएको छ । यो कारोबार आयोजकको अपेक्षाभन्दा बढी हो । काठमाडौंभन्दा बाहिरको सबैभन्दा ठूलो व्यापार मेला दाबी गरिएको एक्स्पोमा आयोजकको अपेक्षाभन्दा ५ करोड बढी कारोबार भएको छ । आयोजक मोरङ व्यापार संघका महासचिव नविन रिजालका अनुशार मेलाको अवधिभर २५ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । आयोजकले १५ देखि २० करोड बराबरको कारोबार हुने अपेक्षा राखेको थियो । अपेक्षाभन्दा बढी कारोबार हुनुमा उपभोक्तामा मेलाप्रतिको आकर्षण, अनुकूल मौसमलगायत रहेको उनको भनाइ छ । “खुसीको कुरा के छ भने मेला अवधिभर मौसमले साथ दियो, पुस भएर पनि खासै जाडोको महसुस भएन,” उनले भने, “अनि मेलाप्रति विराटनगरवासीको अथाह माया पनि रह्यो ।” मेला शनिबार औपचारिक रुपमा समापन गरिएको छ ।

पुस ६ गतेदेखि सुरु मेलामा १ लाख ५० हजार दर्शकले अवलोकन गरेको मेला आयोजक समितिका संयोजक अनुपम राठीले बताए । विराटनगर–२ शंकरपुरस्थित खाली जमिनमा आयोजना गरिएको मेलामा २ सय ५० स्टल राखिएको थियो । राठीका अनुसार सवारी साधन र नयाँ प्रविधिमा दर्शकको आकर्षण बढी देखियो । सवारी साधन, भाँडाकुँडा, टेलिभिजन, खाद्यन्न, लत्ताकपडा, जुत्ताचप्पललगायतका सामग्री बढी बिक्री भएको छ । “नयाँ–नयाँ उत्पादनमा ग्राहकको औधी रुचि देखियो,” संघका वरिष्ठ उपाध्यक्ष प्रकाश मुन्दडाले भने, “सामान खरिद गर्ने मात्रै होइन होटल र रेष्टुरेन्टमा खानाका पारखीको भीड पनि उत्तिकै लाग्यो, यो मेला ऐतिहासिक र भव्य रुपमा सम्पन्न भयो भन्ने हामीले ठानेका छौं ।” मेलामा भारत, चीन, बंगलादेश, पाकिस्तानलगायतका मुलुकबाट पनि २५ वटा स्टल समावेश थिए । सेल्फी जोनमा राखिएको डायनोसरको दुईवटा प्रतिमा र कमलको फूल आकृतिको प्रवेशद्वार मेलाको सबैभन्दा बढी आकर्षण रह्यो । जहाँ फोटो खिच्ने दर्शकले पालो कुर्नुप¥यो ।

अटोमोबाइल्स, आइटी, बैंक, निर्माण सामग्री, कृषि तथा हस्तकला, तयारी पोशाक तथा जुत्ताचप्पल, स्वास्थ्य, पर्यटनसहित दैनिक उपभोग्य सामग्रीका साथै बालबालिकाका लागि छुट्टै मनोरञ्जनस्थल छुट्याएर विभिन्न खेल सामग्री राखिएको थियो । समापन समारोहमा मोरङ ब्यापार संघका अध्यक्ष पवन सारडाले मेलामा बालबालिका, अपाङ्गता भएका,ज्येष्ठ नागरिकलाई विभिन्न कुराहरुमा छुट तथा सहुलियत प्रदान गरेको बताए । यसपटकको विराट एक्स्पो भव्यरुपमा सम्पन्न भएको बताउँदै सरकारले यस्ता ब्यापारिक मेलाको लागि जग्गाको ब्यबस्था गर्नुपर्ने उनले बताए ।

सारडाले जग्गा उपलब्ध गराईदिन माग गर्दै भने ‘१५ जनाको जग्गा लिएर यसपटकको एक्स्पो गरेका छौँ अर्को पटक कता हुन्छौँ थाहा छैन ।’ उनले तीन तहका सरकारले नै ब्यापारीहरुबाट चर्को कर उठाउँदै आएको भन्दै आफुहरु तीन तहको सरकारको चेपुवामा परेको गुनासो गरे । एक्स्पोको समापन कार्यक्रममा बोल्दै प्रदेश नं १ का प्रदेश प्रमुख गोविन्दबहादुर तुम्बाहाङले सरकारको समृद्ध नेपाल सुखि नेपालीको नारामा व्यापारीहरुको भूमिका महत्वपूर्ण रहनेमा विश्वस्त रहेको बताए । कार्यक्रममा नेकपाका सांसद तथा पूर्व उद्योग मन्त्री महेश बस्नेतले आफु मन्त्री हुँदा सक्दो प्रयास गरेको बताउँदै उद्योगी ब्यापारीहरु गुनासा सरकारसामु राख्ने बताए ।