सिन्धुलीमा हात्तीको आत्तंक, एक दर्जन घर तोडफोड

0
Shares

बुद्ध नेपाली, सिन्धुली ।
करिव एक सातायता सिन्धुलीको दुधौली नगरपालीका–३ मा जंगली हात्तीले आतंक मच्चाउन थालेको छ । सिन्धुलीको दुधौली नगरपालिकाको ३,७ र ११ वडाका चुरेको जंगलमा बस्दै आएको हात्तीले आतंक मच्चाउदा स्थानिय त्रासित भएका छन् ।

दुई वटा जंगली हात्तीले दुधौली नगरपालिकाको वडा नं.३ का झन्डै एक दर्जन घर तोडफोड गरेको छ । घरमा भन्डारण गरी राखिएको अन्न खाएर नष्ट समेत गरेको छ  । यस्तै स्थानिय किसानले खेतमा लगाएको अन्नबालीमा पनि क्षति र्पुयाएको स्थानीय तथा दुधौली नगरपालिका वडा नं.३ का वडाध्यक्ष साने धामीले बताए ।

तिन चार दिन यता हात्तीले दुधौली नगरपालिका–३ का रामऔतार धामी, टेक बहादुर माझी, जुगेश्वर, कन्ना थारु, विनोद कुमर, मिना विक, बृहस्पती कुमर, पुरुषोत्तम कोईराला, नारायण कार्की, नारायण गुरागाई लगाएतको घर तोडफोड गरेको वडाअध्यक्ष धामीले जानकारी दिए । हात्तीको आतंकबाट अहिले सम्म मानविय क्षति नभएपनि स्थानियको भौतिक संरचनामा ठुलो क्षति भएको वडाअध्यक्ष धामीको भनाई छ ।

गाउँको नजिकको जंगलमा आएको जंगली हात्ती आतंकले त्यस क्षेत्रका स्थानीय त्रासमा छन । दिनभरि नजिकैको जंगलमा बस्ने र रात परेपछि बस्ती छिर्ने हात्तीका कारण स्थानीयबासी निकै त्रसित बनेका हुन ।

हात्तीले घरमा क्षति र्पुयाउनुका साथै घरमा राखिएको अन्नपात समेत खाने गरेको छ । चिसो मौसममा हात्तीले घर भत्काउँदा स्थानीयको बिजोग भएको वडाअध्यक्ष धामीले बताए  ।

वन जंगलमा घाँस दाउरा गर्न जान समेत समस्या भइरहेको स्थानियले बताएका छन । हात्ती आउने बित्तिकै गाउँले मिलेर भाँडा ठटाउने, आगो बाल्ने, पटका पडकाउने जस्ता काम गर्दै आएका छन । सिन्धुलीको कमलाखोँच क्षेत्र, दुधौली नगरपालिका तथा कमलामाई नगरपालिकाका चुरे जंगलका बस्तीहरुमा बर्षैपिछे हात्तीले आतंक मच्चाउदै आएको छ ।