सुनकोसीमा बन्यो सहकारी सञ्जाल

0
Shares

नानीराम नेपाल, सिन्धुपाल्चोक ।
सुनकोसी गाउँपालिकास्थित सहकारीहरुलाई प्रभावकारी बनाउने उदेस्यले सक्रिय सहकारीहरु सम्मिलीत गाउँपालिका स्तरीय सहकारी सञ्जाल गठन गरिएको छ । राष्ट्रिय सहकारी विकास बोर्डको सहयोगमा आत्मनिर्भर बचत तथा ऋण सहकारीद्धारा सञ्चालित दुई दिने वित्तिय साक्षरता तालिमको समापनका अवसरमा शनिवार गाउँपालिकास्तरीय सहकारी समन्वय समिति गठन गरिएको हो ।

सुनकोसी गाउँपालिका ६ मा रहेको जिल्लाकै अगुवा सहकारी आत्मनिर्भर बचत तथा ऋण सहकारीको संयोजकत्व रहनेगरि गाउँपालिका स्तरीय सहकारी सञ्जाल गठन गरिएको छ । सुनकोसी गाउँपालिकाभित्रका विभिन्न ३१ सहकारी संस्थाहरुको प्रतिनीधित्व हुनेगरि गठित सहकारी सञ्जालमा पांग्रेटार सामुदायिक सहकारी संस्थालाई सह संयोजकको जिम्मेवारी दिइएको छ ।

‘आर्थिक समृद्धिका कुरा चलीरहँदा सहकारीको भूमिका शशक्त र प्रभावकारी हुनुपर्दछ’, आत्मनिर्भर बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष एवम सहकारी अभियन्ता चक्रबहादुर बस्नेतले भने,–‘गाउँपालिकाभित्रका सक्रिय सहकारीहरुलाई समेटेर सहकारी सञ्जाल गठन गरेका हौं ।’ गाउँपालिका स्तरीय सहकारी समन्वय समितिका माध्यमबाट आगामी दिनमा पनि वित्तिय साक्षरता लगायत सहकारीसँग सम्बन्धित तालिम र प्रशिक्षणका कार्यक्रमहरु गर्दै जाने अध्यक्ष बस्नेतले बताए ।

राष्ट्रिय सहकारी विकास बोर्डको सहयोग तथा आत्मनिर्भर सहकारीद्धारा आयोजित वित्तिय साक्षरता तालिममा सहभागीहरुलाई शनिवार समापनका अवसरमा प्रमाणपत्र प्रदान गरियो । सहकारी विकास बोर्डका उपनिर्देशक जनकराज पौडेल र बोर्डका सञ्चार अधिकृत विजय चापागाइँले तालिमका सहभागिहरुलाई प्रमाणपत्र प्रदान गरेका हुन् ।