एमेच्योर शुक्रले जिते उपाधि


नेपाल समाचारपत्र
काठमाडौं
एमेच्योर गल्फर शुक्रबहादुर राईले धरानमा भएको सूर्य नेपाल इस्टर्न ओपनको उपाधि शुक्रबार जितेका छन्।

शुक्रले अन्तिम दिन ३ अन्डर ६७ स्कोर बनाएपछि कुल ४ अन्डर २ सय ६ अंकको साथमा उपाधि जितेका हुन्। उनले नेपालका नम्बर एक गल्फर शिवराम श्रेष्ठमाथि ४ स्ट्रोकको अग्रता बनाएका थिए। नेपाली गल्फको इतिहासमा एमेच्योर खेलाडीले व्यावसायिक उपाधि जितेको तेस्रो अवसर हो। यसअघि शिवरामले सन् २००५ मा सूर्य नेपाल वेस्टर्न ओपन र रूपक आचार्यले सन् २०१० मा सूर्य नेपाल सेन्ट्रल ओपन जितेका थिए।

यस्तै शिवराम र विकास अधिकारी समान १ ओभर २ सय ११ स्कोरसहित दोस्रो स्थानमा रहे। भुवन नगरकोटी ४ ओभर २ सय १४ स्कोरसहित तेस्रो स्थानमा रहेका थिए।

विजेता शुक्र एमेच्योर खेलाडी भएका हुनाले नगद पुरस्कार दिइएन। यसको बदला शिवराम र विकासले जनही ९८ हजार ५ सय रुपियाँ पुरस्कार प्राप्त गरे। भुवनले ५५ हजार नगद हात पार्दा सञ्जय लामा र देवराज पाखरिनले समान ३९ हजार नगद हासिल गरेका थिए। तर लगातार दुई दिन शीर्ष स्थानमा रहेका रवि खड्का सातौं स्थानमा चित्त बुझाएर २९ हजार २ सय ५० रुपियाँको हकदार बनेका थिए।