तर्साउने घर बन्दै

0
Shares

नेपालमा हरर फिल्म खासै चलेका छैनन्। तर पनि तर्साउने भन्दै अर्को नयाँ हरर फिल्म घर निर्माणको घोषणा गरिएको छ। फिल्ममा निर्देशन तथा कथा अर्पण थापाको रहनेछ।

डीएस डिजिटलको ब्यानरमा निर्माण गर्न लागिएको फिल्ममा शर्मिला पाण्डे र निर्माता निर्देशक दीपेन्द्र के खनालको लगानी रहनेछ भने सन्तोष अधिकारीको सहनिर्माण रहनेछ।
यसअघि फिल्म लभ लभ लभ र चंगा चेटमा लगानी गरेकी निर्मात्री पाण्डेले डीएस डिजिटलले प्राविधिक उपकरण र वितरणको साथमा वर्षमा एउटा फिल्म निर्माण गर्ने

योजनाअनुसार घर बनाउन लागेको बताइन्। फिल्मका निर्देशक अर्पण थापाले फिल्मले दर्शकलाई पूर्णरूपमा तर्साउने बताए। उनले यसभन्दा अघि पनि सुनकेशरी नामक हरर फिल्म निर्देशन गरेका थिए। ‘सुनकेशरीमा विदेशी भूत थियो। घरमा चाहिँ स्वदेशी भूत पस्कने प्रयास गर्नेछु। यो फिल्म २०१९ को सबैभन्दा राम्रो हरर फिल्म बन्नेछ’ –बिहीबार फिल्म निर्माण घोषणा कार्यक्रममा अर्पणले भने।

त्यसै गरी दीपेन्द्र के खनालले कथावस्तु राम्रो रहेकाले यो फिल्ममा लगानी गर्न लागेको बताए। ‘हामीले नेपाली फिल्म प्राविधिकरूपमा पनि स्ट्रङ हुनुपर्छ भनेर रेड एट के क्यामेरा भिœयाएका थियौं। अब फिल्म पनि बनाउनुपर्छ भनेर घर निर्माण गर्न लागेका हौं।’ –उनले भने। फिल्मका लागि २ नायिकाको खोजी भइरहेको तथा अर्पणबाहेक अन्य कलाकार प्राविधिक चयन भइनसकेको निर्माता खनालले बताए। फिल्म माघको दोस्रो साता सुटिङ फ्लोरमा जानेछ।