गाउँमै खटिएका जेटीए युवा

0
Shares

नेपाल समाचारपत्र, काभ्रे
सडक सञ्जालको समस्याबाट पछि परेको डाँडापारीको महाभारतको गोकुले यतिखेर सिन्धुली जिल्लाको रामपुर हुँदै सडक सञ्जालमा जोडिएको छ।

सडकसँगै शुरू भएको समृद्धिको यात्रामा जुटेका छन् जेटीएका माध्यमबाट स्थानीय युवा। डाँडापारी पशुपालन र कृषिका लागि उर्वर भूमि हो। सडक अभाव हुँदा उत्पादन भएका सामान शहरसम्म आइपुग्न सम्भव थिएन। उत्पादन नहुँदा धेरै युवाहरू विदेशिन बाध्य थिए। सानै उमेरमा विवाह गर्ने र विदेशिनुपर्ने बाध्यतालाई सडक र विकासका अन्य सम्भावनाले रोक्दै लगेको स्थानीयहरूले बताएका छन्।

महाभारत–१ गोकुलेमा नवीन एग्रोभेट सेन्टर खोलेका नवीन श्रेष्ठ उदाहरण हुन्। ‘केही अक्षर सिक्यो, नभए विद्यालयबाटै कक्षा छाडेर उमेर बढाउँदै राहदानी बनायो, लाग्यो मरुभूमि भएको देश विदेश’, नवीनले भने– ‘गाउँमै पशुपालन र कृषिमा केही गर्ने उदेश्यले एग्रोभेट शुरू गरें।’ गोकुल माविबाट ं२ सकेर जेटीए अध्ययन गरेका नवीनले साझेदारीमा एग्रोभेट शुरू गरेका हुन्।

पशुपालन तथा कृषिमा व्यवसायीकरण शुरू भएपछि गाउँमै एग्रोभेट शुरू गरेको नवीनले बताए। अनिश भट्टराई र नवीन श्रेष्ठले शुरू गरेको एग्रोभेटबाट पशुपालन र खेतीमा आएका समस्या समाधान गर्ने योजना बनाइएको छ। स्थानीय सरकारले एक वडा एक प्राविधिकसमेत राखेर स्थानीय क्षेत्रको समस्या समाधानका लागि पहल गरिरहेको छ। अनिशले त्यसबाट पनि महाभारतको गोकुलेमा योगदान पु¥याएका छन् भने नवीनले अनिशलाई साथ दिँदै आएका छन्। ‘विदेश जानुभन्दा गाउँमै रहेर पशुपालन क्षेत्रमा भएका समस्या समाधान गर्ने रहर जाग्यो’, नवीनले भने– ‘गाउँकै सेवा गर्ने भावनाले विदेश जाने सोच पलाएन।’ एक दिदी र एक भाइसमेत रहेका नवीनलाई बुबा ध्रुवबहादुर श्रेष्ठले सहयोग पु¥याएका छन्।

गोकुलेमा प्रायः हरेक घरमा पशुपालन छ। व्यावसायिकरूपमा बाख्रापालन पनि शुरू भएको छ। बाख्रा, कुखुरा पालनसँगै फैलिँदै गएको पशुपालनप्रतिको आर्कषणलाई सहयोग पु¥याउन गाउँमै प्राविधिक सेवा उपलब्ध गराउन थालिएको उनले बताए। वडा नम्बर १ र वडा नम्बर २ मा व्यावसायिक बाख्रा र कुखुरा फर्म शुरू भएको छ। चरनका हिसाबले उचित रहेको डाँडापारी क्षेत्रमा बाख्रापालनको व्यावसायिक सम्भावना रहेको छ। युवाहरूलाई विदेशिनबाट रोक्न र व्यावसायिक बनाउन विभिन्न कार्यक्रम तय भएको गाउाँपालिका अध्यक्ष कान्छालाल जिम्बाले बताए। नेपालमा हुने कामलाई सानो सम्झेर दिनदिनै विदेश जाने युवाहरूका लागि नवीन उदाहरण बनेका छन्। गाउँमै खेतीपाती र पशुपालन गरी आत्मसम्मानका साथ व्यवसाय गर्ने अभियानमा नवीनबाट केही सिक्नुपर्ने हो कि ?