सुन्तला उत्पादन कतै बढ्यो भने कतै घट्यो

0
Shares

प्रताप बानियाँ, म्याग्दी
म्याग्दीमा उत्पादित सुन्तला काठमाडौंको बजारमा पुग्न थालेको छ। उच्च पहाडी जिल्ला म्याग्दीका कृषकहरूले आफ्नो खेत तथा बारीमा लगाएको सुन्तलालाई सदरमुकाम बेनीबजार हुँदै पोखरा र काठमाडौंको बजारमा पठाएका हुन्।

खाद्यान्न बाली उत्पादनका लागि पकेटक्षेत्र खेतबारीलाई मासेर सुन्तला लगाएका कृषकहरूले मंसिर महिना शुरू भएदेखि सुन्तला बजारमा पठाउने तयारीमा थिए। बेनी नगरपालिका–४, बास्कुनाका कृषकहरूले सुन्तला पोखरा र काठमाडौंका बजारमा पठाएको बताएका छन्। बोटबाटै प्रतिकेजी ७० रुपियाँका दरले सुन्तला पठाएको बास्कुनाका अगुवा कृषक तिलक गुरुङले जानकारी दिए।

कृषकहरूको फोन सम्पर्कमा पोखरा र काठमाडौंका व्यापारीहरू सुन्तला खरिद गर्नका लागि ट्रक लिएर किसानको घरमै पुगेका छन्। बास्कुना गाउँमा मात्रै १५ हजार सुन्तलाका बिरुवा लगाइएको छ भने त्यहाँका २५ जना कृषकहरू व्यावसायिक सुन्तला खेतीमा आबद्ध छन्। गाउँका अधिकांश कृषकहरू विदेशबाट फर्किएर सुन्तलाजात फलफूलका साथै विभिन्न कृषि उत्पादनमा लागेका थिए। बास्कुनाका कृषक गुरुङले २ सय क्यारेट सुन्तला बिक्री गरिसकेको बताउँदै अझै २ सय क्यारेट सुन्तला बिक्रीमा रहेको बताएका छन्।

स्थानीय व्यापारीहरूले पनि कृषकको बोटमै पुगेर सुन्तला खरिद गरेका छन्। गतवर्षभन्दा यस वर्ष बास्कुनामा सुन्तला उत्पादन बढ्ने कृषकहरूले अनुमान गरेका छन्। बास्कुना कृषि सहकारी संस्थामार्फत पनि सुन्तलालगायत व्यावसायिक खेतीका लागि गाउँमा विभिन्न कार्यक्रम सञ्चालन गरिँदै आएको छ। बास्कुनामा उत्पादित सुन्तला म्याग्दीसहित पोखरा, काठमाडौं, बुटवलका साथै अन्य ठूला शहरहरूमा पुग्ने गरेको छ। बोटमै प्रतिकेजी ७०÷८० रुपियाँ मूल्य पर्ने सुन्तला बजार पु¥याउँदा केजीको झण्डै १ सय रुपियाँसम्म मूल्य पर्ने गरेको कृषकहरू बताउँछन्।

यसै गरी बेनी नगरपालिका–३, भकिम्लीको राखुका कृषकहरूले पनि पोखरा र काठमाडौंको बजारमा सुन्तला बिक्री शुरू गरेको बताए। राखुमा कुल ५५ घरधुरी कृषकहरू व्यावसायिक सुन्तला खेतीमा लागेको बताउँदै कृषक मनकुमारी पुनले यस वर्ष भने विगतको तुलनामा भन्दा सुन्तला उत्पादन घट्न गएको गुनासो गरेकी छिन्। ३ रोपनीमा सुन्तला लगाएकी उनले गतवर्ष सुन्तला बेचेरै साढे २ लाख रुपियाँ आम्दानी गरे पनि यसपटक भने आम्दानीमा समेत गिरावट आउने बताइन्। उनीसँग २ सयबढी बोटमा सुन्तला फल्ने गरेको छ। राखुमा सामान्य व्यक्तिले पनि वर्षमा सुन्तला बिक्री गरेर न्युनतमरूपमा १ लाख रुपियाँ आम्दानी गर्दै आइरहेका छन्।

सुन्तला उत्पादनका लागि कृषकहरूले बोटमा कम्पोस्ट मल र गहँतको प्रयोग गर्दै आइरहेका छन्। विगत केही वर्षयता पहाडी जिल्ला म्याग्दीमा सुन्तलाजात फलफूलको उत्पादनमा वृद्धि हुँदै गएको छ। खासगरी विगतमा तत्कालीन जिल्ला कृषि विकास कार्यालयको सहयोगमा जिल्लामा सुन्तला सुदृढीकरण अभियान सञ्चालन गरेपछि पछिल्लो समय सुन्तला उत्पादन बढ्न थालेको बताइएको छ।