अंग्रेजी माध्यमले पनि तानेन विद्यार्थी

0
Shares

दुर्गाप्रसाद शर्मा, पर्वत ।
कुस्मा नगरपालिका–९ कटुवाचौपारीमा रहेको गायत्री आधारभूत विद्यालयले अंग्रेजी माध्यममा पढाउन थालेको ८ वर्ष भइसक्यो। अंग्रेजी माध्यममा पढाएको एक दशक पुग्न लाग्दा विद्यार्थी संख्या बढ्ला भन्दा झन घट्दै गएको छ।

गायत्री प्राविले २०६७ सालमा अंग्रेजी माध्यममा पढाए पनि अहिले विद्यार्थी नजिकको निजी विद्यालय र सदरमुकाम तथा ठूला शहरमा गएपछि ११ जना विद्यार्थीलाई पढाउँदै आएको हो। ‘अंग्रेजी माध्यममा पठनपाठन गर्न सकेमा विद्यार्थी संख्या बढ्ने अपेक्षा गरेका थियौं’, प्रअ पीताम्बर अधिकारी भन्नुहुन्छ– ‘हामीले अंग्रेजी माध्यममा पढाए पनि विद्यार्थी निजीमा नै गइदिए।’ गायत्री प्राविमा कक्षा ५ मा १ जना, ४ मा पनि १ जना, ३ मा ३ जना विद्यार्थी अनुगमनका क्रममा भेटिएका थिए। ‘६०÷६१ सालमा ९० जनासम्म बालबालिका यो विद्यालयमा पढ्न आउने गरेका थिए’, प्रअ अधिकारी भन्नुहुन्छ– ‘अहिले विद्यार्थी संख्या यस्तो अवस्थामा आइपुगेको छ।’

कुस्मा वडा नम्बर १० स्थित लाकुरी आधारभूत विद्यालयमा जम्मा ६ जना विद्यार्थी रहेका छन्। विद्यालयले पनि अंग्रेजी माध्यममा पढाइरहेको छ। हाजिरी रजिस्टरमा १५ जना विद्यार्थी देखिन्छन्। यहाँका विद्यार्थी निजीमा पढ्छन् र सामुदायिक विद्यालयमा हाजिर गर्दै परीक्षा पनि दिँदै आएको भेटिन्छ। कटुवाचौपारीमा रहेको आइबल एकेडेमीमा पढ्ने र यो विद्यालयमा समेत भर्ना भएका विद्यार्थीको संख्या ठूलो छ। कक्षा १ र ३ मा एकजना पनि विद्यार्थी छैनन्। कक्षा–२ मा दुईजना, कक्षा–४ मा एकजना र कक्षा ५ मा एकजना विद्यार्थी भएको प्रधानाध्यापक रामप्रसाद शर्माले जानकारी दिनुभयो। बालकक्षामा दुईजना बालबालिका छन्। ‘हामीले अंग्रेजी माध्यममा पनि पढाइरहेका छौं तर अभिभावक निजी विद्यालय खोजेर बसाइसराइ सरेरै बजार झर्छन्’, उहाँले भन्नुभयो– ‘अभिभावकको मानसिकतामा परिर्वतन गर्न नसक्दासम्म बसाइसराइ रोकिन्न र विद्यालयमा विद्यार्थी पनि आउँदैनन्।’

यो समस्या दूर दराजका गाउँमा मात्रै होइन, पर्वतको सदरमुकाम रहेको कुश्मा नगरपालिकाभित्रैका सामुदायिक विद्यालयमा समेत विद्यार्थी संख्या निरन्तर ओरालो लागिरहेका छन्। विद्यार्थी संख्या घट्दै जाँदा कतिपय विद्यालयमा शिक्षकभन्दा विद्यार्थी थोरै हुन थालेका कारण राज्यको लाखौं रुपियाँ बालुवामा पानी भइरहेको छ। कुश्मा नगरपालिका–१० कै पिपलटारी आधारभूत विद्यालयमा बालकक्षासहित छ जना विद्यार्थी छन्। कक्षा–१, ४ र ५ विद्यार्थीविहीन रहेको यो विद्यालयको कक्षा २ मा दुई र कक्षा–३ मा तीनजना विद्यार्थी छन्। बालकक्षामा एकजना छन्। स्थापना कालमा ९५ जनासम्म बालबालिका रहेको यो विद्यालयमा विद्यार्थी हरेक वर्ष घट्दै गएर अहिले छ जना विद्यार्थीमा सीमित भएको हो।

केही विद्यालयले अंग्रेजीसहित मन्टेस्वरी माध्यममा पढाउँदा विद्यार्थी संख्या बढेका छन्। कुश्मा–१४ को पञ्चकोशी माविमा विद्यार्थी संख्या बढेपछि दुईवटा कक्षा एउटैमा राखेर पढाउनुपर्ने अवस्था छ भने पोखराजस्ता शहरमा पढेका धेरै विद्यार्थी गाउँ नै फर्केको प्रधानाध्यापक अर्जुन पौडेल बताउनुहुन्छ। ‘हामीले मन्टेश्वरी माध्यममा पढाउन थालेपछि शहरबजारका विद्यार्थी पनि फर्केका छन्’, उहाँले भन्नुभयो– ‘विद्यार्थी संख्या बढेपछि शिक्षक र कक्षाकोठाको समेत अभाव छ।’ विद्यार्थीको चाप बढेपछि विद्यालयले प्राथमिक तहमा मात्रै ३ जना शिक्षक निजी स्रोतमा राखेर पठनपाठन गराइरहेको छ।

कुश्मा नगरपालिकाका नगर शिक्षा अधिकृत राजेन्द्रबहादुर क्षेत्री विद्यालयमा शिक्षकहरूप्रतिको विश्वास अभिभावकमा बढ्न नसकेकाले अंग्रेजी माध्यममा पढाएर मात्रै पनि विद्यार्थी संख्या बढ्न नसकेको बताउनुहुन्छ। ‘अभिभावकको विश्वास जित्न शिक्षकले मेहनत गर्नुपर्छ, त्यसपछि मात्रै विश्वास बढ्छ’, उहाँले भन्नुभयो– ‘अब शिक्षकले मेहनत नगर्ने हो भने घाम तापेर बस्नुबाहेक पठनपाठनको वातावरण बन्न सक्दैन।’

विद्यार्थी घट्ने र शिक्षक मात्रै रहने अवस्था आएपछि ‘जहाँ विद्यार्थी त्यहाँ शिक्षक’ अभियान चलाउनुपर्ने अवस्था आएको उहाँको भनाइ छ। ‘कतै विद्यार्थी धेरै छन्, शिक्षक अभाव छ त कतै विद्यार्थी नै छैनन्, शिक्षक मात्रै छन्। त्यसैले पनि जहाँ विद्यार्थी त्यहाँ शिक्षक अभियान चलाउनुपर्ने अवस्था आएको छ।’ –क्षेत्रीले भन्नुभयो। सामुदायिक विद्यालयका शिक्षकले अझै पनि अभिभावकको मन जित्न नसकेको उहाँको भनाइ छ।