वृद्धभत्ता खोइ ?

0
Shares

शिवहरिप्रसाद भट्टराई, राजविराज
राजविराज नगरपालिका–२ का ८३ वर्षीय लक्ष्मीलाल देव दिनुहँजसो वृद्धभत्ताका लागि राजविराज नगरपालिका धाउने गरेका छन्। तर, काम नभएपछि निरास भएर फर्किनु २ महिनादेखिको उनको नियति नै बनेको छ।

देव जस्तै वडा नं। ८ का रामेश्वर वरही पनि यही कामका लागि नगरपालिका धाउँदै छन्, तर उनले पनि निरास भएर नै फर्किनु परिरहेको छ। ‘२÷४ दिनमा दिन्छौं भन्दा भन्दै कात्तिकमा पाउनुपर्ने वृद्धभत्ता अहिलेसम्म दिएका छैनन्’, उनले गुनासो गर्दै भने–‘वृद्ध शरीर घिसार्दै अझ कति दौडिनुपर्ने हो थाहा छैन।’

नगरपालिकामा दशैं अघिदेखि नै प्रमुख प्रशासकीय अधिकृत नभएका कारण करिब ४ हजार २ सय नगरबासीले गत साउनदेखिकै सामाजिक सुरक्षा भत्ता पाएका छैनन्। चौमासिक रूपमा दिइने गरेको यस्तो भत्ता कात्तिकमै दिइसक्नुपर्नेमा अहिलेसम्म नपाएको पीडितहरूको गुनासो छ।

तत्कालीन प्रमुख प्रशासकीय अधिकृत चन्द्रबहादुर कार्की दशैंअगाडि नै बिदामा गएपछि अहिलेसम्म फर्केका छैनन्। उनका ठाउँमा अर्का अधिकृत पनि नपठाइएका कारण ज्येष्ठ नागरिक, दलित ज्येष्ठ नागरिक, बिधुवा, एकल महिला, अपांग र दलित बालबालिकाले भत्ता नपाएको नगरपालिकाका सूचना अधिकारी प्रफुल्लकुमार श्रेष्ठले जानकारी दिएका छन्।

अधिकृत नभएका कारण आर्थिक कारोबारमा अवरोध भएकाले सामाजिक सुरक्षा भत्ता वितरण पनि प्रभावित भएको उनको भनाइ छ। ‘हामी १ साताभित्रैमा भत्ता वितरण गर्ने प्रयासमा छौं’, उनले थपे– ‘छिट्टै समस्याको समाधान हुनेछ।’