धनवीर दाहाल, रुकुम
सामान्य प्रकारको चेकजाँच गर्नका लागि पनि सदरमुकाम खलंगा वा होलतारा धाउनै पर्ने मुसिकोट नगरपालिका–१० का वडाबासीको बाध्यताको अन्त्य भएको छ।
रुकुम पश्चिमको मुसिकोट नगरपालिका–१० मा स्वास्थ्य चौकी स्थापना भएपछि वर्षौंदेखिको स्थानीयको पीडा सकिएको हो। ग्रामीण बस्तीमा पनि सजिलै स्वास्थ्य सेवा सुविधा उपलब्ध गराउने उद्देश्यले मुसिकोट नगरपालिकाले उक्त स्वास्थ्य चौकी स्थापना गरेपछि स्थानीयमा खुसी छाएको छ।
नगरपालिकाको आन्तरिक रकमबाट व्यवस्थापन गर्ने गरी यस स्वास्थ्य चौकीको स्थापना गरिएको बताइएको छ। स्वास्थ्य चौकी स्थापना भएपछि स्थानीयहरू खुसी भएका छन्। यसअघि सामान्य रुघाखोकी र ज्वरो आउँदासमेत सदरमुकाम खलंगा वा होलतरा पुग्नुपर्ने बाध्यता हटेको छ।
स्वास्थ्य चौकीको एक कार्यक्रमका बीच नगरप्रमुख देवीलाल गौतमले रिवन काटेर उद्घाटन गर्नुभएको हो। स्वास्थ्य चौकीमा अहिले १ जना अहेबको दरबन्दी मात्र कायम गरिएको छ। स्वास्थ्य चौकी वडा कार्यालयसँगै राखिएकाले काम गर्न सहज हुने वडा सदस्य धनबहादुर खड्काले बताउनुभयो। यसलाई स्तरवृद्धि गर्दै प्राथमिक स्वास्थ्य केन्द्रका रूपमा लैजाने योजना रहेको उहाँको भनाइ छ। उहाँले भन्नुभयो– ‘हामीले स्थानीय चुनावमा बाचा गरेको र माननीय सांसद जनार्दन शर्माले चुनावी घोषणापत्रमा पनि उल्लेख गर्नुभएको कुरालाई हामी बिस्तारै पूरा गर्दै छौं।’
नागरिकका मौलिक अधिकारभित्र पर्ने शिक्षा, स्वास्थ्य सेवा हरेक नागरिलाई दिनका लागि आफूहरू प्रतिबद्ध भएर काम गरिरहेको उहाँको भनाइ छ। स्वास्थ्य चौकी उद्घाटन कार्यक्रममा उपप्रमुख प्रेमकुमारी सुनार, कार्यपालिका सदस्य जानकी केसी खड्का, वडा नम्बर १० का सदस्य धनबहादुर खड्का, वडा सचिव चन्द्रमा पुनमगर, अस्थायी प्रहरी चौकी झुल्खेतका प्रहरी निरीक्षक कृष्ण बिकलगायत विभिन्न राजनैतिक दलका प्रमुख, प्रतिनिधि तथा सर्वसाधारणको सहभागिता रहेको थियो। वडा नम्बर १० का अध्यक्ष गोप्यश्वर केसीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन स्वास्थ्य चौकी होलतराका इञ्चार्ज डिल्लीराज बोहराले गर्नुभएको थियो।











प्रतिक्रिया