चिसोमा पनि बालबालिका सडकमै

0
Shares

मोतीराम तिमल्सिना, काभ्रे
बालबालिकासम्बन्धी काम गर्ने थुप्रै संघसंस्था छन्। सरकार बालमैत्री शासनको परिकल्पनामा छ। बालश्रमविरुद्ध अभियान सञ्चालन छ।
अभिभावकविहीन, अभिभावक भएर पनि सडकमै रहेका बालबालिकाहरूको दिनचर्या अस्तव्यस्त छ। जब बढ्छ चिसो तब उनीहरू खोज्दै हिँड्छन् न्यानो भित्तो। पाए बोरा ओढ्छन्। दिनभरि घाम लागेकै स्थानमा हुन्छन् उनीहरू। पसल–पसलमा पैसा माग्ने मात्रै होइन, सडकमै उभिएर बसेका व्यक्तिको खुट्टामै ढोग्न पुग्छन् उनीहरू। त्यही पैसाले डेन्ड्राइट नामक विषात्तको स्वाद लिन्छन् र लठ्ठ पर्छन्।

त्यही लठ्ठपनले जाडोको ख्याल नै पाउँदैनन्। बनेपा, पनौती, धुलिखेल, पाँचखाल, नमोबुद्धका शहरी क्षेत्रमा अहिले सडक बालबालिकाहरू थपिँदै गएका छन्। बालकल्याण समिति हुँदा पनि यी बालबालिकाहरूको संरक्षण हुन सकेको थिएन। अहिले स्थानीय सरकारले त्यसको जिम्मेवारी प्राप्त गरेका छन्। भर्खरै प्राप्त गरेको जिम्मेवारीलाई स्थानीय सरकारले सडकमा बालबालिकामुक्त बनाउने अभ्यास शुरू गर्नु जरुरी छ।

पछिल्लो तथ्यांकले भन्छ– सडकमा तीन प्रकारका बालबालिका भेटिएका छन्। पहिलो जसका परिवार नै छैनन्, सडकमै कष्टकर जीवन बाँच्नका लागि संर्घष गरिरहेका छन् र सडकमै रातदिन बस्न बाध्य छन्। दोस्रो जसका परिवार छन् तर पनि सडकमा जीवनयापन गर्न सघर्ष गर्छन् र रातमा परिवारमा रहन्छन्। तेस्रो आमाबुबा, अभिभावकहरू पनि सडकमै बस्छन्, बालबालिकाहरू पनि सडकमै जन्मछन् र सडकमै जीवनयापन गर्छन्। सडक बालबालिकाहरूले फोहोर प्लास्टिक टिप्ने र फोहोरमा फालेका खानेकुरा खाने, माग्ने, चोर्ने गर्दै आएका छन्। डेन्ड्राइट सुँघ्ने, अन्य लागूऔषध खाने, एकआपसमै झगडा गर्ने गर्दै आएका बालबालिकालाई संरक्षण दिन नसक्दा दुव्र्यवहारको शिकार, यौन हिंसा र बलात्कारजस्ता जोखिममा पर्न थालेका छन्।

सडक बालबालिकाबाटै जन्मेका बालबालिकाको अवस्था झनै दयनीय छ। बनेपा नगरपालिकाको चारदोबाटो, बसपार्क, तीनदोबाटो, बकुटोल, धुलिखेल जाने बस स्टप, तरकारी बजार, गोदामचोक, उग्रेश्वर साथै पुण्यमाता पुल वरिपरिका कवाडी बेच्ने स्थानमा बालबालिकाहरू बस्ने गरेको भेटिएको छ। पनौतीमा पनौती बसपार्क, मानेश्वरी मन्दिर, पुरानो बजार, त्रिवेणी घाट एरियाका साथै पनौतीका विभिन्न स्थानमा सडक बालबालिका रहेका छन्। धुलिखेलको बसपार्क, अस्पताल चोक, पुरानो बजारलगायतका स्थानमा अनुगमन गर्दा सडक बालबालिकाहरूको अवस्था र समस्याका बारेमा जानकारी भएको थियो।

बनेपामा २२ जना सडक बालबालिका देखिएका छन्। सडकमा भएकामध्ये केही बालबालिका सडकमा रातदिन बिताउने र केही बालबालिका दिनमा सडकमा र रातमा परिवारसँग बस्ने गरेका छन्। पनौतीमा ११ जना सडक बालबालिका देखा परेकामा ३ जना सडकमै र ८ जना दिनमा सडकमा र राति सामूहिकरूपमा परिवारमा बस्ने गरेका छन्। धुलिखेल नगरपालिकामा ६ जना बालबालिका रहेकामा सबै जना दिनमा मात्रै सडकमा बस्ने र रातमा परिवारसँगै बस्ने गरेका छन्। ६ वर्ष देखि १८ वर्षसम्मका बालबालिकाहरू सडकमा बस्ने गरेका छन्।

जिल्लाबाट गरिएको अनुगमनमा पनौती नगरपालिकामा फेला परेका १३ वर्षकी झरना थापा नाम बताउने बालिका र उनका १० वर्षीय भाइ मनिष थापा, बनेपामा घर बताउने १० वर्षीय जनक घिसिङ पनौती बसपार्क वरपर बस्दै आएका छन्। मनिष र झरनाले बुबाले आमालाई कुटपिट गरेकाले आमा उनीहरूलाई छाडेर दोलखा माइती गएको र बुबा ज्यामी काम गर्न उनीहरूलाई छाडेर सिन्धुपाल्चोक गएकाले सडकमा बसेर गुजारा गरेको बताए।

सडकमा बालबालिकाहरू आइपुग्नुको प्रमुख कारण अभिभावक भएको अनुगमनसहितको तथ्यांकले देखाएको छ। आफ्नै अभिभावक नहुँदा छिमेकी वा आफन्तले समेत बालबालिकालाई संरक्षण नगरिदिँदा सडकमा बालबालिकाको संख्या घट्दै जाने होइन, बढ्दै गइरहेको छ। स्थानीय सरकारको काँधमा भविश्यका कर्णदार बालबालिकाहरूको जिम्मेवारी थपिएको छ। तत्काल समिति गठन गरी सडक बालबालिकाहरूको समस्या, बालश्रम अन्त्य गरी बालमैत्री स्थानीय शासनतर्फ उन्मुख हुनुपर्छ। सडक बालबालिकालाई पारिवारिक आर्थिक अवस्था कमजोर, बुबाआमाकोे बहुविवाह भई बालबालिकालाई हेरचाह माया ममता, उचित स्याहार, खाना, शिक्षा संरक्षणबाट वञ्चित, असुरक्षित यौन व्यवहार, गाँस, बास, कपासको समस्या छ। सडक बालबालिकाहरू जिउनकै लागि चोरी, लुटपाट र पाकेटमारजस्ता घटनामा संलग्न हुन थालेका छन्।