ढुवानी बन्द गर्ने आन्दोलनप्रति ट्यांकर व्यवसायीको असहमति

0
Shares

बुटवल, (नेस)
नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघले यही पौष २३ गतेदेखि गर्ने भनेको आन्दोलनप्रति पश्चिमाञ्चल ट्यांकर व्यवसायी संघको सहमति नभएको जनाएको छ।

महासंघको यही पौष ८ गते बसेको केन्द्रीय कार्यसमितिको बैठकले सरकारसँग ६ बुँदे माग राखी माग पूरा नभए ढुवानी बन्द गर्ने चेतावनी दिएकोप्रति संघको ऐक्यबद्धता नभएको समेत जानकारी गराएको छ। महासंघले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा मागपत्र पेश गर्दै माग पूरा नभए मुलुकभरका ढुावानी व्यवसाय बन्द गरी ट्यांकरको साँचो नेपाल आयल निगम लि। लाई बुझाउने निर्णयप्रति संघको सहमति नरहेको जनाएको छ।

संघको बिहीबार बसेको विशेष बैठकले महासंघको आन्दोलनमा सहभागिता जनाउन नसकिने र आन्दोलनबाट भन्दा पनि वार्ता र संवादद्वारा समस्याको समाधान खोज्न आग्रह गर्ने निर्णय गरेको अध्यक्ष राकेशकुमार कशौधन र महासचिव भुपराज अर्यालद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ।

प्रदेश नम्बर १ को विराटनगरमा केही दिनअघि पेट्रोलियम पदार्थ ढुवानीमा देखिएको समस्याको विषयलाई लिएर महासंघले आन्दोलन गर्नुभन्दा सरोकारवाला निकायसँग वार्ताद्वारा समस्या समाधान गर्न संघले माग गरेको छ। संघको बैठकले गरेको निर्णयको जानकारी उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघ, नेपाल आयल निगम लिमिटेड केन्द्रीय कार्यालय, नेपाल आयल निगम प्रादेशिक कार्यालय प्रदेश नम्बर ५ र जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा समेत जानकारी गराइएको विज्ञप्तिमा उल्लेख गरीएको छ।