काठमाडौं, (नेस)
सरकारले परराष्ट्र मन्त्रालयका सहसचिवहरूलाई विभिन्न ५ मुलुकका लागि राजदूत सिफारिस गरेको छ। सरकारले फ्रान्स, कुवेत, क्यानडा, थाइल्याण्ड र संयुक्त राष्ट्रसंघका लागि राजदूत सिफारिस गरेको हो।
यही पुस ६ र ९ गतेको मन्त्रिपरिषद् बैठकले परराष्ट्र मन्त्रालयका शिष्टाचार महापाल दीपक अधिकारीलाई फ्रान्स, सहसचिवहरू दुर्गाप्रसाद भण्डारीलाई कुवेत, भृगु ढुंगानालाई क्यानडा र गणेशप्रसाद ढकाललाई थाइल्याण्डकालागि राजदूत नियुक्ति प्रक्रिया अघि बढाएको हो।
सोही मन्त्रालयका प्रशासन महाशाखा प्रमुख मणिप्रसाद भट्टराईलाई राष्ट्रसंघको स्थायी प्रतिनिधि तोकिएको छ। यसै गरी सरकारले विभिन्न मुलुकका ३ जना राजदूतलाई फिर्ता बोलाएको छ। मन्त्रिपरिषद्को गत सोमबारको बैठकले बंगलादेश, दक्षिण कोरिया र स्पेनका राजदूतलाई फिर्ता बोलाएको हो।
ती मुलुकमा क्रमशः डा। चोपलाल भुसाल, अर्जुन जंगबहादुर सिंह र भरतबहादुर रायमाझी राजदूत हुनुहुन्छ। भुसाल र सिंह नेपाली कांग्रेस तथा रायमाझी राप्रपाका तर्फबाट राजदूत नियुक्त हुनुभएको थियो।
उहाँहरूलाई तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले राजदूत नियुक्त गरेको थियो। देउवाकै कार्यकालमा कांग्रेसका तर्फबाट राजदूत नियुक्त भएका अन्य राजदूतलाई भने तत्काललाई फिर्ता नबोलाइएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतले जनाएको छ।
यसअघि सरकारले इजरायलका राजदूत निरञ्जन थापालाई फिर्ता बोलाएर डा। अञ्जान शाक्यलाई राजदूत सिफारिस गरिसकेको छ। थापा पनि देउवा कार्यकालमा राप्रपाका तर्फबाट राजदूत नियुक्त हुनुभएको थियो। तत्कालीन माओवादी कोटामा अस्टे«लियाका लागि राजदूत नियुक्त लक्की शेर्पा मानव बेचबिखनको विवादमा तानिएपछि परराष्ट्र मन्त्रालयको छानबिन टोलीले अनुसन्धान गरिरहेको छ।
तर उहाँलाई सोही जिम्मेवारीमा निरन्तरता दिने÷नदिने बारेमा मन्त्रालयले धारणा सार्वजनिक गरेको छैन।











प्रतिक्रिया