कांग्रेसमा सिटौला गुट कायमै

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं ।
नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले आउँदो जेठभित्र पार्टीको १४औं महाधिवेशन गर्नुपर्ने बताउनुभएको छ। सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेललाई आफूले नेता नमान्ने भन्दै सिटौलाले १४औं महाधिवेशनमा पनि नेतृत्वको दाबी गर्ने सन्देश दिनुभएको छ।

बिहीबार राजधानीमा पत्रकार सम्मेलन गरी नेता सिटौलाले भन्नुभयो– ‘देउवा र पौडेललाई पहिला पनि नेता मानेको थिइनँ, अहिले पनि नेता मानेको छैन।’

आफू निकटका नेताहरू गगन थापा, उमाकान्त चौधरी, शिवप्रसाद हुमागाईंलगाएतका नेताहरूलाई सँगै राखेर आयोजना गरिएको पत्रकार सम्मेलनमा सिटौलाले शीघ्र महाधिवेशन गर्न सभापति देउवालाई दबाब दिनुभएको हो।

नेता सिटौलाले भन्नुभयो– ‘कि त १४औं अघिवेशनको तयारी थाल्नुपर्छ कि त संघीय संरचनाअनुसार अधिवेशन गरेर तलदेखि माथिसम्मै कार्यसमिति बनाउनुपर्छ।’

भुगोल परिवर्तन भएका नवलपरासी र रुकुम जिल्लामा अधिवेशन गर्नुपर्ने, नयाँ संरचनाअनुसार गठन भएको संघीय तथा प्रदेश निर्वाचन क्षेत्रमा कार्यसमिति गठन गर्नुपर्ने, गाउँपालिका र नगरमा संघीय संरचनाअनुसार नै कार्यसमिति गठन गर्नुपर्ने कुरालाई नेता सिटौलाले जोडतोडका साथ उठाउनुभएको थियो।

हालै महासमिति बैठकद्वारा संशोधित नेपाली कांग्रेसको विधानबारे जानकारी दिने र अब कांग्रेस कसरी अघि बढ्नुपर्छ भन्नेबारेमा पत्रकारसँग सुझाव लिने उद्देश्यले आयोजित पत्रकार भेटघाट कार्यक्रममा नेता सिटौलाले विधानअनुसार पार्टी सञ्चालन हुनुपर्ने बताउनुभएको थियो। पार्टी नेतृत्व विधि विधानअनुसार नचलेको संकेत गर्दै नेता सिटौलाले पार्टी बलियो भएमात्र सभापति बलियो हुने तर सभापति बलियो भएर पार्टी बलियो नहुने पनि बताउनुभएको थियो।