भन्सारमै थन्कियो डेढ सय मेट्रिक टन चिनी

0
Shares

बाँके, (नेस)
नेपालगन्ज भन्सारमा एक सय ४४ मेट्रिक टन चिनी अलपत्र परेको छ। सरकारले असोज १ गतेदेखि कोटा प्रणालीबाट चिनी ल्याउने निर्णय गरेपछि असोज ३ गते नेपालगन्ज भन्सारमा आइपुगेको चिनी थन्किएको हो। चिनी शिखरदिप प्रालिले ल्याउँदै थियो। ६७ लाख २० हजार रुपियाँबराबरको उक्त चिनी अहिले नेपालगन्ज भन्सार कार्यालयको गोदाममा रहेको छ। दशैं र तिहारलाई लक्षित गरेर चिनी भित्र्याइएको थियो। लामो समयदेखि भन्सारमा थन्किएको चिनीको निकास निकाल्न व्यवसायीले पटक–पटक आग्रह गरेका छन्। नेपालगन्ज भन्सार कार्यालयका प्रमुख शान्तिराम निरौलाले एक सय ४४ मेट्रिक टनमध्ये आधाको प्रज्ञापन भइसकेको बताउनुभयो।

पाँच दिन अघि अर्थमन्त्री डा। युवराज खतिवडा नेपालगञ्ज आउँदा भन्सार कार्यालयका प्रमुख निरौलाले उक्त चिनीका विषयमा अवगत गराउनु भएको थियो। ‘मैले अर्थमन्त्रीलाई थन्किएको चिनीको विषयमा जानकारी गराएको थिँए। उहाँले यसरी थन्क्याउनु त हुँदैन। कुनै न कुनै निकास निकाल्नुपर्छ भन्नुभएको छ,’ भन्सार प्रमुख निरौलाले भन्नुभयो–‘अर्थमन्त्री सकारात्मक हुनुहुन्छ। केही न केही निकास निस्किहाल्ला।’

व्यापारीहरुले सरकारले निर्णय गर्नुभन्दा पनि पहिले नै खरिद भएर आएकाले त्यसमा नयाँ निर्णय लागू नगर्न आग्रह गरेका छन्। नेपालगन्ज उद्योग बाणिज्य संघका अध्यक्ष नन्दलाल बैश्यले सरकारले निर्णय गर्नुभन्दा पहिले नै खरिद भएर आएकाले पुरानै मूल्यमा राजस्व काटेर चिनीलाई छोड्नुपर्ने बताउनुभयो।‘हामी यस विषयमा छलफल गर्दैछौं। सरकारले व्यापारीलाई मर्कामा पार्ने काम गर्नु हुँदैन, बैश्यले भन्नुभयो।