कालिमाटी बजारमा आंशिक सुधार

0
Shares

काठमाडौं, (नेस)
कृषि तथा पशुपन्छी विकास राज्यमन्त्री रामकुमारी चौधरीले नियम, कानुन र मापदण्ड उल्लंघन गर्ने जो कोहीलाई पनि कारबाहीको दायरामा ल्याउने बताउनु भएको छ। कालिमाटी फलफूल तथा तरकारी बजारको अनुगमनपछि राज्यमन्त्री चौधरीले कानुन सबैलाई समान रूपमा लाग्ने भन्दै उल्लंघन गरे कारबाही गर्न सरकारपछि नहट्ने बताउनुभएको हो।

गत जेठ २१ गते कृषि तथा पशुपन्छी विकासमन्त्री चक्रपाणि खनालको नेतृत्वमा अनुगमन गरेपछि सुधारको अवस्था बुझ्न राज्यमन्त्री चौधरी बिहीबार कालिमाटी पुगेनु भएको थियो। उहाँले पहिलेको तुलनामा सरसफाई र व्यवस्थापनमा केही सुधार भए पनि अरू धेरै सुधार गर्नुपर्ने ठाउँ रहेको बताउनुभयो। ‘पहिलोपटक अनुगमनमा आउँदा निक्कै अस्त व्यस्त र फोहोर थियो, राज्यमन्त्री चौधरीले भन्नुभयो–‘अहिले त्यसमा केही कमि आएको जस्तो देखिएको छ। तर, यतिले मात्र पुग्दैन।’