सीमा क्षेत्रमा नेपाली सुरक्षाचौकीको अभाव, नेपाली भूभागमा गस्ती गर्न भारतीय बाटो प्रयोग गर्नुपर्ने बाध्यता

0
Shares

नरेन्द्र केसी, घोराही, दाङ
नेपाल–भारत सिमानामा नेपाली सुरक्षाचौकीको अभाव रहेको छ। सशस्त्र प्रहरीको एउटा र नेपाल प्रहरीका चार प्रहरी चौकी तथा दुईवटा अस्थायी पोस्टको भरमा दाङखण्डको ८३ किलोमिटर सिमानाको सुरक्षा धानिएको छ।

भारतले ८३ किलोमिटरको दूरीमा २१ वटा बोर्डर आउट पोस्ट खडा गरेको छ। तर नेपालले भने सशस्त्र प्रहरी सीमा बलको एउटा मात्रै पोस्ट राखेको छ। संख्याका हिसाबले पनि भारतले प्रत्येक पास्टमा ६०÷७० जना सीमा सुरक्षा बल ९एसएसबी० राखेको छ भने नेपाली पोस्टमा निकै कम सुरक्षाकर्मी छन्। भारतले चार किलोमिटरको दूरीमा भारतीय सीमा सुरक्षा बल एसएसबी राखेको छ। तर, नेपालको तर्फबाट भने ८३ किलोमिटर सिंगो क्षेत्र हेर्न सशस्त्र प्रहरीको एउटा मात्रै सीमा सुरक्षा पोस्ट छ।

दाङ खण्डमा नेपाल र भारतसँग जोडिएका ३१ वटा नाका छन्। यी नाकासम्म पुग्न नेपाली भू–भागबाट सोझै सडक छैन। सुरक्षाकर्मीलाई गस्ती गर्नसमेत भारतीय बाटो प्रयोग गर्नुपर्ने बाध्यता छ। ‘सीमा स्तम्भको स्थलगत निरीक्षण गर्नसमेत भारतको भूमि प्रयोग गरेर जानुपर्ने बाध्यता छ’ –सीमा क्षेत्रको दाङखण्डमा रहेको एक मात्र सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट कोइलाबासका प्रमुख ईश्वरीप्रसाद खनालले भन्नुभयो–‘भारतीय सीमा सुरक्षा बलसँग सहकार्य गरेर बेलाबखतमा संयुक्त गस्ती पेट्रोलिङ्ग गर्छौं।’

भारतीय सुरक्षाकर्मीको तुलनामा नेपाली सुरक्षाकर्मी कम हुँदा समस्या देखिएको उहाँले बताउनुभयो जनशक्ति थपियो र अन्य बोर्डरमा पोस्ट स्थापना भए सुरक्षा व्यवस्था कायम राख्न र पिलरहरूको संरक्षण गर्न सजिलो हुने उहाँको भनाइ छ।

सीमा सुरक्षाकै लागि भनेर राखिएको एउटा मात्रै पोष्ट छ भने नाका क्षेत्रका नागरिकको सुरक्षाका लागि
खाङ्ग्रामा नेपाल प्रहरीको सीमा प्रहरी चौकी छ। तर, यो चौकीमा पर्याप्त दरबन्दी छैन। नाकामा बसोबास गर्ने स्थानीयसंगै प्रहरीहरूले साँझबिहानको छाकका लागि भारतीय बजारबाट दाल, चामल, तरकारी ल्याउनुपर्ने बाध्यता छ।

दाङको सीमा क्षेत्रमा रहेका १६ वटा सीमास्तम्भ मर्मत गर्न बाँकी छ। मुख्य सीमा स्तम्भ ११ र सहायक ५ गरी १६ वटा सीमास्तम्भ मर्मत गर्न बाँकी छ। जसमध्ये ४८ नम्बरको सीमास्तम्भ खबरी खोलाले बगाएका कारण त्यहाँ नयाँ सीमास्तम्भ निर्माण गर्नुपर्ने छ। दाङमा ७७ वटा सीमास्तम्भ छन्। ३७ वटा मुख्य र ४० वटा सहायक सीमास्तम्भ छन्।

खोलाले बगाएको सीमास्तम्भ यसै वर्ष निर्माण गरिने दाङका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले बताउनुभयो। ‘जार नम्बरको सीमास्तम्भ भारतले र विजोर नम्बरको सीमास्तम्भ नेपालले मर्मत गर्नुपर्ने सम्झौता भएको छ।’