चिरञ्जीवी मास्के, दोलखा
झण्डै ३ वर्षअघि शुरु भएको लामोसाँगु जिरी सडकको लामोसाँगु चरिकोट खण्डमा शुरु भएको सडक विस्तारको कामले सोचेजस्तो प्रगति गर्न नसकेपछि सडक डिभिजन चरिकोटले दबाब बढाएको छ।
सडक डिभिजन कार्यालय चरिकोटले लामोसाँगु चरिकोट सडक विस्तारअन्र्तगत लामोसाँगु–मुडे २५ किलोमिटर र मुडे–चरिकोट ३० किलोमिटर सडक विस्तारको काम गरिरहेको दुवै निर्माण कम्पनीका प्रतिनिधि, कन्सल्टेन्ट, स्थानीय प्रशासन, जिल्ला समन्वय समितिका प्रमुख, नागरिक समाज र पत्रकारसहितको संयुक्त छलफल आयोजना गरेको थियो।
उक्त छलफलमा मुडे–चरिकोट ३० किलोमिटर सडक विस्तारको काम गरिरहेको शङ्कर माली निर्माण कम्पनीका मेनेजिङ डाइरेक्टर दीपक सापकोटा सहभागी भए पनि लामोसाँगु–मुडे २५ किलोमिटर सडक विस्तारको काम गरिरहेको निर्माण कम्पनीको भने कुनै पनि प्रतिनिधि सहभागी भएका थिएनन्।
छलफलमा सहभागी मुडे–चरिकोट ३० किलोमिटर सडक विस्तारको काम गरिरहेको शङ्कर माली निर्माण कम्पनिका मेनेजिङ डाइरेक्टर दीपक सापकोटाले १० दिनभित्र क्रसरको काम शुरु गर्ने र वर्षाअघिनै सडक पिचको काम शुरु हुने बताए। उनले आन्तरिक कारणले काम तोकिएको समयमा नसकिएको भए पनि अब द्रूततर गतिमा काम गर्ने प्रतिवद्धता जनाए। उनले अब एकैपटक तीन ठाउँबाट विस्तारको काम गर्ने पनि बताए।
सडक डिभिजन कार्यालय चरिकोटका प्रमुख एवं सडक विस्तार आयोजनाका आयोजना प्रमुख धमेन्द्रकुमार झाले लामोसाँगु–मुडे २५ किलोमिटर सडक विस्तारको काम गरिरहेको निर्माण कम्पनीले सोचेजति काम पनि नगरेको र गरेको काम पनि गुणस्तरीय नभएकाले ठेक्का तोडेर नयाँ प्रकृया शुरु गर्नुपर्ने अवस्था रहेको बताए।
तत्कालै जिम्मेवार ढङ्गले काम हुने अवस्था नभए कार्यालयको तर्फबाट ठेक्का तोड्ने प्रकृया शुरु गर्ने पनि आयोजना प्रमुख झाले बताए। त्यसरी ठेक्का तोड्दा सरकारलाई घाटा नहुने उल्लेख गर्दै उक्त साइडको काममा ढिलाइ भए पनि वर्षा याममा सडक डिभिजन कार्यालयले नै खाल्डाखुल्डी पुरेर यातायात सहज बनाउने कार्यालय प्रमुख एवं आयोजना प्रमुख झाले प्रतिवद्धता जनाए।
लामोसाँगु चरिकोट सडक विस्तार कार्यक्रमअन्र्तगत लामोसाँगु–मुडे २५ किलोमिटर सडक विस्तार र मुडे–चरिकोट ३० किलोमिटर सडक विस्तारको कामको सम्झौता २०७२ भदौमा भएको थियो।
दुवै कामको सम्पन्न अवधि दुई वर्षको थियो। सम्पन्न अवधि सकिएर एक वर्ष नाघिसक्दासमेत दुवै कामको प्रगति ७० प्रतिशत पनि नाँघ्न सकेको छैन। भारतीय एक्जिम बैङ्कको झण्डै १ अरब २४ करोड ऋण सहयोगमा निर्माण हुन लागेको सडक विस्तारको काम समयमै सम्पन्न हुन नसक्दा स्थानीयले ठूलो सास्ती खेप्नु परिरहेको छ।
सडक विस्तार आयोजनाका कन्सलटेन्ट इन्जिनियर श्याम खाड अहिलेसम्मको अवस्था हेर्दा आयोजनाको कामको प्रगति सोचेजस्तो हुन नसकेको बताउँछन्। अब द्रूत गतिमा काम भए पनि काम सम्पन्न गर्न कम्तिमा एक वर्ष लाग्ने खाडको भनाइ छ। छलफलमा सहभागी जिल्ला समन्वय समिति दोलखाका प्रमुख डबल पाण्डे वर्षाअघि यातायात सञ्चालनमा अवरोध नहुने गरी काम हुनुपर्ने बताउँछन्। कामको गति बढाएर वर्षाअघिनै पिच हुने गरी काम गर्नुपर्ने र त्यसो नभए स्थानीयको विरोधलाई थेग्न नसकिने जिल्ला समन्वय समिति प्रमुख पाण्डेको चेतावनी छ।











प्रतिक्रिया