चीनमा नेपाली फिल्मलाई मौका

0
Shares

नेपाली फिल्मले अब चीनमा पनि बजार पाउने भएको छ। हालै चीनमा सम्पन्न द फेडरेसन अफ मोसन पिक्चर प्रोड्युसर इन एसिया प्यासिफिकमा सहभागी भई फर्केका नेपाल चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारीले नेपाली फिल्मले चीनमा पनि बजार पाउने जनाएका हुन्।

संघका विविध काम र पहलबारे जानकारी दिन बिहीबार राजधानीमा आयोजित कार्यक्रममा अधिकारीले चीनको सो सम्मेलनका बहुआयामिक फाइदामूलक रहेको बताए। ‘नेपाली फिल्म क्षेत्रका लागि त अन्तर्राष्ट्रियकरणमा कोसेढुंगा नै सावित हुने मैले विश्वास लिएको छु। त्यहाँका अरू फिल्म फेडरेसनलगायत डिजिटल सञ्चारमाध्यमलाई बोलाई उनीहरूले नै आफ्नै भाषामा अनुवाद गरी अबका दिनमा नेपाली फिल्म पनि देखाउने छन्। उनीहरूलाई उक्त सिनेमाको कथावस्तु मन परेको खण्डमा नेपाली सिनेमा किन्न सक्नेछन’, अधिकारीको भनाइ थियो– ‘जसको फाइदा निर्मातालाई त हुने नै भयो नेपाली फिल्म क्षेत्रले पनि फाइदा लिनेछ।’

१९८२ बाट आधिकारीकरूपमा विधान बनी महासंघको अवधारणाअनुरूप विश्वका २४ राष्ट्र सदस्य भई अगाडि बढेको महासंघमा नेपालबाट नेपाल चलचित्र निर्माता संघले पनि सदस्यता पाएको र आफू त्यसको कार्यसमिति सदस्य बनेको आकाशले बताए। उनका अनुसार कार्यसमितिको कार्यकाल ५ वर्ष रहनेछ। नेपालसहित २५ राष्ट्र रहेको महासंघमा दक्षिण अमेरिका, युरोप हुँदै एसिया प्रशान्त क्षेत्रका राष्ट्रहरू संलग्न छन्। ‘सभामा महासंघसमक्ष मैले व्यक्तिगतरूपमा नेपालका कम्तीमा २ सिनेमा कोटा सिस्टममा त्यहाँ प्रदर्शनको व्यवस्था मिलाउन मैले अनुरोध गरेको छु। महासंघका अध्यक्षले सकारात्मकरूपमा लिएका छन्।’
–अधिकारी भने।

निर्मातालाई संघका गतिविधिबारे जानकारी दिन आयोजित कार्यक्रममा अपूर्ण कार्यसमिति पदाधिकारी तथा न्यून निर्माताको उपस्थितिका बीच चलचित्र विकास बोर्डमा आयोजित कार्यक्रममा आकाशले सरकारले नयाँ उद्योग नीति निर्माण गरिरहेको र संघको परामर्शअनुसार नयाँ नीतिमा फिल्म क्षेत्रले उद्योगको रूप लिने बताए।

कार्यक्रममा आकाशले काठमाडौं महानगरपालिकाले शहरका भित्तामा पोस्टर टाँस्न निषेध गरेको र त्यसबाट फिल्मलाई असर पर्ने भएकाले डिजिटल डिस्प्लेको अवधारणामा अगाडि बढ्न संघले पहल गरिरहेको बताए। उनले फिल्मको संगीतको रोयल्टी निर्माताले पाउनसमेत पहल गरिरहेको बताए।

कार्यक्रमा आकाशले भारतमा १९९२ को संविधानमा नेपाली भाषाले प्रवेश पाए पनि नेपालीको बसोबास रहेको भारतीय शहरमा नेपाली फिल्म रिलिज गर्न सेन्सरमा भाषागत समस्याका साथ विभिन्न समस्या रहेको जनाउँदै नेपाली फिल्मको सेन्सर सिक्किमा हुनुपर्ने मागका लागि लागिरहेको समेत उल्लेख गरे।

‘यसका लागि नेपालस्थित भारतीय दूतावासबाटै पहल गर्नुपर्ने रहेछ। त्यसका लागि सरकारको तर्फबाट समय मिलाई दिन चलचित्र विकास बोर्डलाई अनुरोध गरेका छौं। बोर्डले समय मात्र मिलाइदियोस्, बाँकी पहल र परामर्श हामी गर्छौं।’ –अधिकारीले भने। उनले निर्माता र वितरकबीच लेनदेनको विषयमा समस्या आइरहेकाले यसको निराकरणका लागि निर्माता र वितरकबीच अनिवार्यरूपमा लिखित सम्झौता गर्न सुझाउँदै यसका लागि निर्माता संघ र नेपाल चलचित्र संघले दुई संघबीच भएको सहमतिसमेत उल्लेख गरी संयुक्तरूपमा सम्झौताको नमुना तयार पारेको पनि बताए।

कार्यक्रममा संघका वरिष्ठ उपाध्यक्ष केशव भट्टराईले संघका विविध पक्षबारे प्रकाश पारेका थिए।