म्याग्दीको सुन्तला काठमाडौं तर्फ

0
Shares

प्रताप बानियाँ, म्याग्दी ।
म्याग्दीमा उत्पादित सुन्तला काठमाडौंको बजारमा पुग्न थालेको छ । उच्च पहाडी जिल्ला म्याग्दीका कृषकहरुले आफ्नो खेत तथा बारीमा लगाएको सुन्तलालाई सदरमुकाम बेनीबजार हुँदै पोखरा र काठमाडौंको बजारमा पठाएका हुन् ।

खाद्यान्न बाली उत्पादनका लागि पकेट क्षेत्र खेतबारीलाई मासेर सुन्तला लगाएका कृषकहरुले मंसिर महिना सुरु भएदेखि सुन्तला बजार पठाउने तयारीमा थिए । बेनी नगरपालिका–४, बास्कुनाका कृषकहरुले सुन्तला पोखरा र काठमाडौंका बजारमा पठाएको बताएका छन् । बोटबाटै प्रतिकेजी ७० रुपैयाँका दरले सुन्तला पठाएको बास्कुनाका अगुवा कृषक तिलक गुरुङले जानकारी दिए ।

कृषकहरुको फोन सम्पर्कमा पोखरा र काठमाडौंका व्यापारीहरु सुन्तला खरिद गर्नका लागि ट्रक लिएर किसानको घरमै पुगेका छन् । बास्कुना गाउँमा मात्रै १५ हजार सुन्तलाका विरुवाहरु लगाइएको छ भने त्यहाँका २५ जना कृषकहरु व्यावसायिक सुन्तला खेतीमा आबद्ध छन् । गाउँका अधिकांश कृषकहरु विदेशबाट फर्किएर सुन्तलाजात फलफुलका साथै विभिन्न कृषि उत्पादनमा लागेका थिए । बास्कुनाका कृषक गुरुङले २०० क्यारेट सुन्तला बिक्री गरिसकेको बताउँदै अझै २ सय क्यारेट सुन्तला बिक्रीमा रहेको बताएका छन् ।

स्थानीय व्यापारीहरुले पनि कृषकको बोटमै पुगेर सुन्तला खरिद गरेका छन् । गतवर्ष भन्दा यसवर्ष बास्कुनामा सुन्तला उत्पादन बढ्ने कृषकहरुले अनुमान गरेका छन् । बास्कुना कृषि सहकारी संस्थामार्फत पनि सुन्तलालगायत व्यवसायिक खेतीका लागि गाउँमा विभिन्न कार्यक्रमहरु सञ्चालन गरिँदै आएको छ । बास्कुनामा उत्पादित सुन्तला म्याग्दीसहित पोखरा, काठमाडौं, बुटवलका साथै अन्य ठूला शहरहरुमा पुग्ने गरेको छ । बोटमै प्रतिकेजी ७०÷८० रुपैयाँ मुल्य पर्ने सुन्तला बजार पु¥याउँदा केजीको झण्डै एकसय रुपैयाँसम्म मुल्य पर्ने गरेको कृषकहरु बताउँछन् ।

यसैगरी बेनी नगरपालिका–३, भकिम्लीको राखुका कृषकहरुले पनि पोखरा र काठमाडौंको बजारमा सुन्तला बिक्री सुरु गरेको बताए । राखुमा कुल ५५ घरधुरी कृषकहरु व्यावसायिक सुन्तला खेतीमा लागेको बताउँदै कृषक मनकुमारी पुनले यसवर्ष भने विगतको तुलनामा भन्दा सुन्तला उत्पादन घट्न गएको गुनासो गरेकी छिन् । ३ रोपनीमा सुन्तला लगाएकी उनले गतवर्ष सुन्तला बेचेरै साढे दुईलाख रुपैयाँ आम्दानी गरेपनि यसपटक भने आम्दानीमा समेत गिरावट आउने बताइन् । उनीसँग २ सयबढी बोटमा सुन्तला फल्ने गरेको छ । राखुमा सामान्य व्यक्तिले पनि वर्षमा सुन्तला बिक्री गरेर न्युनतम रुपमा एकलाख रुपैयाँ आम्दानी गर्दै आइरहेका छन् ।

सुन्तला उत्पादनका लागि कृषकहरुले बोटमा कम्पोष्ट मल र गहँतको प्रयोग गर्दै आइरहेका छन् । विगत केही वर्षदेखि यता पहाडी जिल्ला म्याग्दीमा सुन्तलाजात फलफुलको उत्पादनमा वृद्धि हुँदै गएको छ । खासगरी विगतमा तत्कालीन जिल्ला कृषि विकास कार्यालयको सहयोगमा जिल्लामा सुन्तला सुदृढीकरण अभियान सञ्चालन गरेपछि पछिल्लो समय सुन्तला उत्पादन बढ्न थालेको बताइएको छ ।