हिमालयन शेर्पाको सानदार जित


नेपाल समाचारपत्र, काठमाडौं
हिमालयन शेर्पा क्लबले जारी शहीद स्मारक ‘ए’ डिभिजन लिगअन्तर्गत बुधबार सानदार जित हात पारेको छ। हिमालयन शेर्पाले ब्रिगेड ब्वाइज क्लबलाई ४–१ गोलअन्तरले हराएको हो। टोलीलाई जित दिलाउन विश्वास श्रेष्ठले २ गोल गरे। त्यस्तै गोहा पेट्रिक प्रिभाट र भिषण गुरुङले एक–एक गोलको योगदान दिएका थिए। ४–० ले पछि परेको अवस्थामा ८७औं मिनेटमा ब्रिगेडको तर्फबाट वर्तमान राईले सान्त्वना गोल फर्काएका थिए।

गोहाले ४६औं मिनेटमा गोल गर्दै हिमालयन शेर्पालाई अग्रता दिलाएका थिए। ५१औं मिनेटमा भिषणको फितलो प्रहार गोलमा परिणत भएको थियो। त्यसपछि विश्वासले ६२औं मिनेटमा कर्ण लिम्बुको पासमा गोल सम्भव पारे। योसँगै टोली ३–० को सुरक्षित स्थितिमा पुगेको थियो। विश्वासले नै ८०औं मिनेटमा गोहाको पासमा अर्को गोल थपेका थिए। यो जितले हिमालयन शेर्पा ११ खेलमा १७ अंक जोडेको छ। पराजित ब्रिगेड भने ११ खेलमा ६ अंकमै अड्किएको छ।
हिजै भएको अर्को खेलमा जावलाखेल युथ क्लबले मच्छिन्द्र क्लबलाई २–१ गोलअन्तरले हरायो। यो जावलाखेलको जारी लिगमा तेस्रो जित हो। अर्को खेलमा न्युरोड टिम ९एनआरटी० ले फ्रेन्डस् क्लबलाई १–१ बराबरीमा रोकेको थियो। योसँगै एनआरटीले ११औं चरणको आफ्नो खेलसम्म ५ अंक जोडेको छ।