अनियमितताको अडियो टेप सार्वजनिक गरियो


काठमाडौं, (नेस)
वैशाख २२ गते सम्पन्न अखिल नेपाल फुटबल संघ ९एन्फा० को निर्वाचनमा पैसाको खेल भएको भन्दै एन्फासँग सम्बन्धित ४ जिल्ला संघले अडियो टेपसहित प्रमाण पेस गरेको छ।

बुधबार भएको पत्रकार सम्मेलनमा जिल्ला फुटबल संघअन्तर्गत काठमाडौंका अध्यक्ष विराटजंग शाही, ललितपुरका अध्यक्ष पुरुषोत्तम थापा, भक्तपुरका अध्यक्ष गौतम सुजखु र धादिङका अध्यक्ष दीपक खतिवडाले अडियो टेप सार्वजनिक गरेका हुन्। अडियो टेपमा हालका एन्फाका मानार्थ अध्यक्ष टासी घले, महासचिव इन्द्रमान तुलाधर, केन्द्रीय सदस्य मधुसूदन उपाध्याय, कोषाध्यक्ष रवीन्द्र जोशी, अडिट एन्ड कम्प्लाइन्स समितिका संयोजक दीपक खाती र सदस्य दावा लामाबीचको कुराकानी रहेको थियो।

निर्वाचन गराउन लाखौं रुपियाँको प्रलोभन गराएको ती चार जिल्ला अध्यक्षको दाबी रहेको छ। त्यस्तै निर्वाचन समितिलाई आर्थिक प्रभाव पारेको, अदालतलाई आर्थिक प्रभाव पार्न खोजेको, मताधिकार प्राप्त प्रतिनिधिलाई आर्थिक प्रभाव पारेको, निर्वाचन हुनुअघि मताधिकार प्राप्त सदस्यहरूलाई भारत घुमाएको, हवाई टिकटमा अनियमित तरिका अपनाएको उनीहरुको आरोप रहेको छ।

यसै गरी निर्वाचन समितिका प्रतिनिधिलाई समेत ज्यान मार्ने धम्की दिएको निर्वाचित एन्फामाथि आरोप छ। सोमध्ये एक अध्यक्षले निर्वाचन समितिका सदस्यलाई कोठामा खाना–पानी नदिएर थुनेको बताए। उनीहरुको ज्यानसमेत जान सक्ने कार्य गरेको वर्तमान एन्फाका पदाधिकारीले राम्रो काम नगरेको उनीहरुले दाबी गरे।

चारै अध्यक्षले यो शुरूआत भएको र आगामी दिनमा अन्य प्रमाण पनि पेस गर्ने जानकारी गराएका छन्। उनीहरुको भनाइ छ– ‘हामीले फिफा र एएफसीमा पनि अनियमितताको प्रमाण पेस गरेका छौं। उनीहरुले पनि यसलाई हेरिरहेको हामीले आशा गरेका छौं। हामी राष्ट्रिय खेलकुद परिषद्, अख्तियार दुरूपयोग अनुसन्धान आयोग, संसद्को सार्वजनिक लेखा समिति र खेलकुद मन्त्रालयमा जानेछौं। आवश्यक परेमा प्रधानमन्त्री समक्ष पनि जान्छांै।’

यस्तै ललितपुर जिल्ला फुटबल संघका अध्यक्ष पुरुषोत्तम थापाले हालको एन्फाको प्यानेलमाथि कुनै पूर्वाग्रह नराखेको पनि बताए। थापाले बताए– ‘यो उहाँप्रति कुनै पूर्वाग्रह राखेको होइन। कुनै पनि संघमा पैसाको अनियमितता गरी निर्वाचन सम्पन्न गराउँछ भने त्यो राम्रो नजिर बस्दैन। यसले संघलाई समेत राम्रो गर्दैन। साथै फुटबलको भविष्य नै अन्धकार हुनसक्नेछ। उहाँहरु चेन्ज एन्फा भनेर आउनुभयो। तर, आजसम्म उहाँहरुले कुनै आहा⁄ भन्ने काम गर्नुभएको छैन। भन्नै कर लाग्छ उहाँहरु फुटबल विकास होइन आफ्नो विकासका लागि लाग्नुभएको हो।’