सेयर बजार ३० अंकले वृद्धि

0
Shares

काठमाडौं, (नेस)
बुधबार सेयर बजारमा ३० अंकको वृद्धि देखिएको छ। आइतबार ३२ अंक बढेर सोमबार र मंगलबार ओरालो लागेको सेयर बजार साताको चौथो दिन भने ३० दशमलब २६ अंकले बढेको हो।

बुधबार नेप्से परिसूचक १ हजार २ सय १६ दशमलव २७ मा पुगेको छ। परिसूचकसँगै बुधबार कारोबार रकम समेत वृद्धि भएको छ। दिनभर भएका ७ हजार ५ सय ८७ कारोबारबाट विभिन्न कम्पनीका १ लाख ९० हजार १ सय ३ कित्ता सेयर किनबेच भएका छन्। जसअनुसार कारोबार रकम ६९ करोड २६ लाख २३ हजार ७ सय ४६ रूपैयाँ पुगेको छ। मंगलबार ४२ करोड १३ लाख १६ हजार ७ सय २३ रूपैयाँको मात्रै सेयर कारोबार भएको थियो।

कसरी बढ्यो त सेयर बजार ?
नेपाल राष्ट्र बैंकले सेयर धितो कर्जाको मार्जिन सीमा ५० प्रतिशतबाट ६५ प्रतिशत पु¥याउने राष्ट्रबैंकको निर्णयपछि त्यसको असर सेयर बजारमा परेको हो। लगानीकर्ताहरूले ५० प्रतिशत कम भएको भन्दै यसलाई बढाउन आग्रह गरिरहेका थिए। अर्थमन्त्री डा। युवराज खतिवडाले गठन गरेको उच्चस्तरीय कार्यदलको सुझाव अनुसार केन्द्रीय बैंकले सेयर धितो कर्जामा उपलब्ध गराउने मार्जिन सीमा बढाएर ६५ प्रतिशत पु¥याएकै दिन सेयर बजारमा ठूलो सुधार देखिएको हो।

यसैगरी राष्ट्र बैंकले सेयरका लागि ऋण प्रवाह गर्दा जोखिम वेटेजलाई पनि घटाएर १०० प्रतिशतमा झारिएको छ। यसअघि जोखिम वेटेज १ सय ५० प्रतिशत थियो। केन्द्रीय बैंकले मार्जिन कलमा समेत सहुलियत दिएको छ। मार्जिन कल गर्दा मूल्य समायोजन भए लगत्तै हकप्रद तथा बोनस सेयरलाई पनि गणना गर्ने व्यवस्था गरेको केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थाहरूले प्राथमिक पूँजीको ४० प्रतिशतसम्म सेयर कर्जा प्रवाह गर्न सक्ने व्यवस्था गरेको छ।