किसानहरु किबी खेतीतर्फ उन्मुख

0
Shares

गणेश घिमिरे, इलाम
इलामे किसान यतिखेर किबी खेतीतर्फ अग्रसर भएका छन्। जिल्लाको उत्तरी भेगका गाउँमा व्यावसायिक चिराइँतो खेती गर्दै आएका किसानहरू अहिले किबी खेतीतर्फ लागेका हुन्। चिराइँतोको उत्पादन बढेपनि मूल्य भने वर्षेनी ओरालो लागेपछि किसानहरू किबीखेती तर्फ आकर्षित भएका थिए।

२०६९ सालमा प्रतिमन ३० हजार रूपियाँले किनबेच भएको चिराइँतो अहिले प्रतिमन चार हजार रूपियाँले पनि मुस्किलले किनबेच हुन थालेको छ। किसानहरू चिराइँतो खेतीलाई घटाएर किबी खेतीलाई अँगाल्न थालेको सन्दकपुर गाउँपालिका वडा नम्बर ४ माबुका किसान पेमगेल्जे शेर्पाले बताउनुभयो।

‘पहिलो एक सय मनसम्म चिराइँतो उत्पादन गर्दै आएका थिएँ’ शेर्पाले भन्नुभयो– ‘तर मूल्यमा गिरावट आएपछि खेती घटाएर अहिले किबी खेती थालेको छु।’ अहिले बारीमा चिराइँतो १० मन जति मात्र उत्पादन हुँदै आएको शेर्पाले बताउनुभयो। चिराइँतोको व्यावसायिक खेती गर्दै आएका किसानले उत्पादन बढे पनि मूल्य घट्दै जान थालेपछि आफूहरूमा निराशा छाएकाले खेती घटाएर किबी खेतीतर्फ लागेको बताउनुभयो। जिल्लाको सुलुबु·, माबु, माईमझुवा, जमुना, माईपोखरी, पुवामझुवा, चमैता, नयाँबजारलगायतका गाउँमा चिराइँतोको व्यावसायिक खेती गर्ने किसान पाँच हजारभन्दा बढी छन्। तर अहिले त्यत्तिकै सङ्ख्यामा चिराइँतोको खेती गर्ने किसान भए पनि उनीहरूले खेती भने धेरै घटाएको सुलुबु·का कृषक दिनेश सुवेदीले बताउनुभयो।

इलाममा उत्पादन हुँदै आएको चिराइँतोको मुख्य बजार भारत हो। फाट्टफुट्ट चीन पनि निर्यात हुँदै आएको छ। भारतमा नै चिराइँतोको उत्पादन बढेपछि भारतले नेपाली चिराइँतो नलिँदा मूल्य घटेको र बिक्रीमा समेत समस्या भएको स्थानीय व्यापारी दिलमान तामाङले बताउनुभयो। ‘चिराइँतो बिक्री नहुँदा गत वर्षको एक सय मन चिराइँतो अझै स्टकमै छ’ उहाँले भन्नुभयो– ‘चिराइँतो बिक्री गर्ने क्रममा केही व्यापारीले मिसावट गरेर गुणस्तरहीन चिराइँतो बिक्री गरेकाले पनि भारतले चिराइँतो नलिएको र मूल्य पनि घटाएको हो, जसकारण व्यावसायिक चिराइँतो खेती गर्दै आएका हजारौं किसानसहित व्यापारी प्रभावित भए।’