‘धर्म नैतिकतामा आधारित हुन्छ’

0
Shares

नेपाल समाचारपत्र, काभ्रे
नेपाल बहुभाषिक, बहुजातीय, बहुसांस्कृतिक र धर्म निरपेक्षसमेत भएकाले राज्यले सबै क्षेत्रलाई समेट्दै अगाडि बढ्ने सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले बताए।

बनेपा नगरभित्र रहेका २६ वटा चर्चद्वारा आयोजित क्रिसमसको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै मन्त्री बास्कोटाले राज्यको कुनै जात र धर्म नहुने भएकाले धर्म नैतिकतामा आधारित हुने बताए। ‘राज्यको कुनै धर्म हुँदैन’, मन्त्री बास्कोटाले भने– ‘धर्मनिरपेक्ष राज्यमा धर्म मान्ने व्यक्तिको निजी विषय हो।’ राज्य साझा भएकाले जातिका नाममा, धर्मका नाममा, क्षेत्रका नाममा सद्भाव भड्काउन खोज्ने कुरा क्षम्य नहुने मन्त्री बास्कोटाले बताए। एक धर्म र अर्को धर्मबीच लडाइँ लड्नुपर्ने अवस्था नभएकाले धार्मिक विश्वासमाथि हमला गर्न नहुने बताउँदै मन्त्री बास्कोटाले धार्मिक स्वतन्त्रतामा कसैले छिः छि र दुरदुर तथा जबरजस्ती गर्न नहुने स्पष्ट पारे।

बनेपा नगरपालिकामा २६ वटा चर्च रहेका छन््। संयुक्तरूपमा आयोजना गरिएको उक्त कार्यक्रममा मन्त्री बास्कोटाले क्रिसमसलाई स्वतन्त्ररूपले मनाउन पाउने हकलाई राज्य र संविधानलेसमेत ग्यारेन्टी गरेको बताए। अध्यक्ष पास्टर रुबेन रानाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बनेपा नगरपालिकाका प्रमुख लक्ष्मीनरसिं बादे, उपप्रमुख रेखा सापकोटा, नेपाल पत्रकार महासंघ काभ्रेका अध्यक्ष मोतीराम तिमल्सिनालगायतले मन्तव्य राखेका थिए। कार्यक्रममा बनेपा नगरपालिकाका अधिकांश वडाका वडाध्यक्ष, विभिन्न क्षेत्रका व्यक्तिको सहभागिता रहेको थियो। दिनभर आयोजना गरिएको कार्यक्रममा क्रिसमससँग सम्बन्धित विविध सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको थियो।