पर्वत, (नेस)
विगत तीन सातादेखि पर्वत सदरमुकाम कुश्माबजारको फोहोर उठ्न सकेको छैन। संकलित फोहोर फाल्ने स्थानको अभावमा फोहोर नउठाइँदा कुश्माबजार दिनप्रतिदिन दुर्गन्धित बन्दै गएको छ।
लामो समय फोहोर नउठाउँदा दुर्गन्ध फैलिएको भन्दै बजारवासी आक्रोशित बनेका छन््। विभिन्न नाममा कर संकलन गर्ने, तर फोहोरमैलाको व्यवस्थापनमा बेवास्ता गरेको भन्दै बजारबासी आक्रोशित बनेका हुन्। फोहोर फाल्न नपाएपछि बजारबासी घर वरिपरी, र चोक–चोकमा फोहोरको डंगुर थुपार्न बाध्य भएका छन््।
लामो समयसम्म फोहोर नउठाइँदा व्यावसायी अझै बढी समस्यामा परेका छन््। दैनिकजसो व्यापार व्यावसायबाट निस्किएको अनावश्यक चिज हटाउन नपाउँदा समस्या भएको व्यावसायीको भनाइ छ। बजारवासीबाट विभिन्न बहानामा एकीकृत सम्पत्ति कर, भूमि कर, व्यावसाय करलगायतको राजश्व संकलन गर्ने, तर नगरपालिकाले फोहोरमैला जस्तो संवेदनशील वस्तु व्यवस्थापनका लागि बेवास्ता गरेको पर्वत उद्योग वाणिज्य संघको आरोप छ।
यता कुश्मा नगरपालिकाले जग्गा व्यवस्थापनका लागि निरन्तर पहल भइरहेको जनाएको छ। नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुवासकुमार लामिछानेले जतिसक्दो चाँडै समस्या समाधान गर्ने प्रयासमा रहेको बताए। जनप्रतिनिधिले पनि चासो नदिएको स्थानीयको गुनासो छ।
गत आर्थिक वर्षसम्म कुश्माको फोहोर व्यवस्थापनको जिम्मा स्थानीय सफा कुश्माका लागि सामूहिक अभियान नामक संस्थाले लिएको थियो। उक्त संस्थाले फाल्दै आएको ठाउँको विकल्प खोज्दै नगरपालिका आफैंले व्यवस्थापनको जिम्मा लिए पनि उपयुक्त स्थान नपाउँदा समस्या भएको नगरपालिकाले जनाएको छ।











प्रतिक्रिया