सीटीईभीटीईको ३६ औं व्यवस्थापनसम्बन्धी समीक्षा गोष्ठी

0
Shares

भक्तपुर, (नेस)
प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् ९सीटीईभीटीई० सानोठिमीले लाहान प्राविधिक शिक्षालय लाहानमा तीन दिने ३६औं व्यवस्थापन सम्बन्धी समीक्षा गोष्ठी सञ्चालन गरेको छ।

प्रदेश सामाजिक विकास मन्त्री नोवलकिशोर शाहले गोष्ठीको उद्घाटन गर्दै आजको एक्काइसांै शताब्दीमा प्राविधिक तथा व्यावसायिक शिक्षाको ठूलो महत्व रहेको बताउँदै यो मानव जीवनसँग प्रत्यक्ष गाँसिएको विषय भएको उल्लेख गर्नुभयो।

वैदेशिक रोजगारमा जाने युवाहरूमध्ये ५० प्रतिशत युवाहरू प्रदेश नम्बर २ बाट जाने गरेको तथ्यांकले देखाएको उल्लेख गर्दै परिषद्ले कार्यक्रम तय गर्दा जनसंख्यालाई आधार बनाएर कार्यक्रम तय गर्न सुझाव दिनुभयो। चालु आर्थिक वर्षमा परिषद्ले प्रदेश तहबाट सम्पादन गर्नुपर्ने कार्यक्रमहरूमध्ये छोटो अवधिका सीपमूलक तालिमहरू सञ्चालन गर्न प्रदेश नम्बर २ लाई दिइएको संख्या तुलनात्मक रूपमा कम भएको गुनासो गर्नुभयो।

कार्यक्रममा परिषद्का उपाध्यक्ष डा। कुलबहादुर वस्नेतले परिषद् स्थापनादेखि हालसम्मका उपलब्धी र भावी कार्य योजना बारे कार्यशालामा छलफल गरी निष्कर्ष लिनुपर्ने बताउनुभयो। प्राविधिक शिक्षाको मुख्य उद्देश्य रोजगारीसँग प्रत्यक्ष जोडिएको विषय भएकाले रोजगारी बृद्धि हुने गरी कार्यक्रम सञ्चालन हुनुपर्ने बताउनुभयो।

परिषद्ले सञ्चालन गर्ने गतिविधि, उपलब्धिहरूलाई तथ्यांकमा देखाइ सरोकारवालाहरूलाई जानकारी गराएर विश्वासमा लिन सक्नुपर्ने बताउनुभयो।
कार्यक्रममा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्का सदस्य सचिव डा पुष्परमण वाग्लेले युवाहरूको चाहना र क्षमताअनुसार प्राविधिक शिक्षाका कार्यक्रमहरू सञ्चालन गरी दक्ष प्राविधिक उत्पादन गरी उत्पादन र उत्पादकत्वमा वृद्धिका साथै उत्कृष्ट सेवा प्रदान गर्दै आयआर्जन गर्ने वातावरण बनाउनुपर्ने बताउनुभयो।

कार्यक्रममा सिराहा जिल्लाका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डित, लाहान नगरपालिकाका प्रमुख मुनी शाह, उद्योग वाणिज्य संघ लहानका अध्यक्ष श्री अशोक अमात्य, फोरम फर हेल्थ साइन्सका अध्यक्ष खगेन्द्र अधिकारीले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो।