सल्यानमा सञ्चालित सार्वजनिक सवारीमा फोहोर फाल्ने डस्टबिन

0
Shares

नेपाल समाचारपत्र, सल्यान
सल्यानका सञ्चालित सार्वजनिक सवारी साधनहरूमा फोहोर राख्ने डस्टबिन राख्न थालिएको छ।
जथाभावी फोहोर फाल्दा वातावरण दूषित हुने भएकाले गाडीभित्रको फोहोरलाई उचित व्यवस्थापनका लागि पहिलोपटक डस्टबिन राख्न थालिएको हो। गाडीभित्र डस्टबिन राख्न थालेपछि यात्रुहरू पनि खुसी भएका छन्।

गाडीमा डस्टबिन राख्दा फोहोर व्यवस्थापनमा सजिलो भएको सल्यान रुकुम यातायात व्यवसायी समितिद्वारा सञ्चालित ना७ख ६३५८ नम्बरको बसका चालक सुमन सुनारले बताउनुभयो।

उहाँले गाडीमा संकलन हुने फोहोरको व्यवस्थापनका लागि पहिलोपटक डस्टबिन राखेकोमा खुसी व्यक्त गर्नुभयो। यात्रुहरूले गाडीभित्र खाएर फालेका फलफूलका बोक्रा, चाउचाउ बिस्कुटका प्याकेट आदिको व्यवस्थापनका लागि डस्टबिन राखिएकोमा गाडी स्टाफहरू पनि खुसी भएका छन्।

यात्रुहरूले गाडीभित्र खानेकुरा खाएर फोहोर गल्लीमा नै जथाभावी रूपमा फाल्ने गर्दथेँ, कतिले त झन सिसाबाट नै फोहोर बाहिर फाल्ने गरेका थिए, तर अब गाडीभित्र नै फोहोर फाल्ने डस्टबिन भएपछि सजिलो हुने भयो उहाँले भन्नुभयो।

ट्राफिक प्रहरीको केन्द्रीय परिपत्रअनुसार जिल्ला ट्राफिक प्रहरीले जिल्लामा सञ्चालित सबै सार्वजनिक सवारी साधनहरूलाई अनिवार्य रूपमा फोहोर व्यवस्थापनका लागि डस्टबिन राख्न सुझाव दिएको थियो।

अहिले जिल्लामा सञ्चालित सबै सार्बजनिक सवारीसाधनहरूले डस्टबिन राख्न शुरु गरेको ट्राफिक प्रहरी जवान खेम केसीले बताउनुभयो। उहाँले पहिलो चरणमा यस विषयमा गाडी स्टाफहरूलाई जानकारी दिदैँ आएको बताउनुभयो।

‘गाडी स्टाफलाई पनि गाडी भित्र उत्पादित फोहोर ब्यबस्थापनमा समस्या नहुने, यात्रुहरूलाई पनि जथाभावी फोहोर फाल्नुपर्ने समस्याको अन्त्य हुने र जथाधावी फोहोर फाल्दा वातावरण प्रदूषण हुने भएकाले यसलाई रोक्न यस्तो गरिएको हो’ –उहाँले भन्नुभयो।