चौरजहारीमा कर्णाली प्रदेश कप टी–२० क्रिकेट शुरू


धनवीर दाहाल रुकुम
रुकुम पश्चिममा कर्णाली प्रदेश कप टी–२० क्रिकेट प्रतियोगीता सुरु भएको छ । जिल्ला क्रिकेट संघ रुकुमले जिल्लाको चौरजहारीमा आयोजना गरेको प्रतियोगीताको कर्णाली प्रदेशका मुख्य मन्त्री महेन्द्रवहादुर शाहीले आज उद्घाटन गर्नुभएको हो । चौरजहारी नगरपालिका १ नाखिरा स्थित खेल मैदानमा मुख्यमन्त्री शाहीले पानसमा बत्ति बालेर तथा ब्याटले बल प्रहार गरेर उद्घाटन गर्नुभयो । कर्णाली प्रदेशको क्रिकेट विकासमा टेवा पुर्याउने र जिल्लालाई क्रिकेटका माध्यमबाट चिनाउने उद्ेश्यले प्रतियोगीता आयोजना गरिएको आयोजकले जनाएको छ ।

प्रतियोगीताको उद्घाटन गर्दै मुख्य मन्त्री शाहीले कर्णाली प्रदेशको खेलकुद विकास लागि प्रदेश सरकारले वातावरण बनाईरहेको बताउनुभयो । खेल स्वास्थ्य, मनोञ्जन र प्रतिस्पर्धाका लागि मात्र नभई आर्थिक विकासको समेत आधार रहेको बताउनुभयो । खेललाई आर्थिक विकासका लागि प्रयोग गर्नुपर्नेमा उहाँको जोड छ । क्रिकेट संघले सरकारले गर्ने काम गरेको समेत उहाँको भनाई थियो । निजि क्षेत्रबाट हुने खेलकुदका कार्यक्रममा सहकार्य गर्न सरकार तयार रहेको समेत उहाँले बताउनुभयो । मंगलबारबाट सुरु भएको प्रतियोगीता पुस १७ गतेसम्म संचालन हुने छ । प्रतियोगीतामा कर्णाली प्रदेशका ७ जिल्लाको सहभागीता रहको जिल्ला क्रिकेट संघ रुकुमका अध्यक्ष दिपक बाँठामगरले जानकारी दिनुभयो । उहाँका अनुसार प्रतियोगीतामा आयोजक रुकुम सहित, सुर्खेत, जाजरकोट, सल्यान, जुम्ला र कालिकोटको सहभागीता जनाउँने छन् । सहभागी जिल्लालाई दुई ग्रुपमा विभाजन गरेर खेलाईने खेल खेलाईने छ ।

समुह ए मा आयोजक रुकुम सहित डोल्पा, सल्यान र कालिकोट रहेका छन भने समुह बि मा जाजरकोट, सुर्खेत र जुम्ला रहेका छन्। दुई ग्रुपका बिजेता र उपबिजेता सेमिफाईनल पुग्ने छन् । यो रुकुम पश्चिमको हाल सम्मकै ठुलो क्रिकेट प्रतियोगिता हो । साथै सेवा सुविधा र पुरस्कार राशिका हिसावले कर्णाली प्रदेशमा आयोजना हुने ठुला प्रतियोगिता स्तरकै भएको जिल्ला क्रिकेट संघले जनाएको छ । प्रतियोगिताको विजेताले नगद १ लाख सहित ट्रफि, मेडल र प्रमाण पत्र तथा उप विजेताले नगद ६० हजार सहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले बताएको छ ।

यसका साथै प्रत्येक खेलमा म्यान अफ द म्याच, म्यान अफ द सिरिज, बेष्ट बलर, बेष्ट ब्याटसम्यान, इमर्जिङ प्लेयर र लोकल इमर्जिङ प्लेयरको उपाधि पनि दिईने छ । त्यस्तै प्रतियोगितामा सहभागी सम्पुर्ण टीमलाई खान बस्नको व्यवस्था आयोजकले नै मिलाएको छ । प्रतियोगिता संचालनका लागि करिब २२ लाख खर्च लाग्ने जिल्ला क्रिकेट संघ रुकुमका अध्यक्ष दिपक बाँठामगरले जानकारी दिए । प्रतियोगीतामा राष्ट्रिय मान्यता प्राप्त अम्पायर तथा प्राविधिकहरुको सहभागीता रहने छ ।