विश्व च्याम्पियनको भव्य स्वागत


नेपाल समाचारपत्र, काठमाडौं
विश्व शारीरिक सुगठन च्याम्पियनसिपमा स्वर्ण जित्दै इतिहास रचेका महेश्वर महर्जनलाई मंगलबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरिएको छ।

महेश्वरलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष पीताम्बर तिम्सिना, नेपाल शारीरिक सुगठन तथा फिट्नेस संघका पदाधिकारी, खेलाडी, प्रशिक्षक, आफन्तलगायतले भव्य स्वागत गरेका हुन्।

महेश्वरले विश्व शारीरिक सुगठनमा स्वर्ण जित्दै इतिहास रचेकोमा खुशी व्यक्त गर्दै आफ्नो सपना साकार भएको बताए। उपाध्यक्ष तिम्सिनाले इतिहास रचेका महेश्वरलाई उचित पुरस्कारका लागि परिषद्ले नेपाल सरकार समक्ष चाँडै सिफारिस गर्ने बताए।

नेपाल शारीरिक सुगठन तथा फिट्नेस संघका अध्यक्ष राजेशबाबु श्रेष्ठले व्यक्तिगत रूपमा महेश्वरलाई प्रोत्साहनस्वरूप ३ लाख रूपियाँ प्रदान गर्ने घोषणा गरे। ‘महेश्वरजीले विश्व शारीरिक सुगठनमा स्वर्ण जितेर नेपाली शारीरिक सुगठनको मात्र नभइ सिंगो राष्ट्रको शिर उच्च बनाउनुभएको छ। उहाँलाई प्रोत्साहन र सम्मानस्वरूप ३ लाख रूपियाँ प्रदान गर्ने प्रतिबद्धता व्यक्त गर्छु।’ –अध्यक्ष श्रेष्ठले भने।
थाइल्यान्डको चियाङमाइमा यही डिसेम्बर ११ देखि १७ तारिखसम्म भएको १०औं विश्व शारीरिक सुगठन तथा स्पोर्ट्स फिजिक च्याम्पियनसिपअन्तर्गत शारीरिक सुगठनको पुरुष ७५ केजीमा महेश्वरले स्वर्ण जितेका थिए। नेपाली शारीरिक सुगठनको इतिहासमा यो पदक अहिले सम्मकै ठूलो र एक मात्र ठूलो उपलब्धी हो।

विश्व शारीरिक सुगठनमा नेपालले रजत पदक मात्र जितेको थियो। यसअघि गत वर्ष मंगोलियामा भएको विश्व शारीरिक सुगठनको नवौं संस्करणमा ननिता महर्जन तथा थाइल्यान्डमा भएको सातौं संस्करणमा रुजेश शाहीले रजत जितेका थिए। महेश्वर एसियाली शारीरिक सुगठनका पनि एक मात्र स्वर्ण विजेता नेपाली खेलाडी हुन्। महेश्वरले भुटानमा भएको ५०औं एसियाली शारीरिक सुगठनमा उक्त सफलता हात पारेका थिए। ३५ वर्षीय महेश्वर ११औं दक्षिण एसियाली शारीरिक सुगठनका कांस्य पदक विजेता हुन्।

थाइल्यान्डमा सम्मान
गैरनागरिक नेपाली संघ थाइल्यान्डले विश्व च्याम्पियन बनेका महेश महर्जनलाई सम्मान गरेको संघले विज्ञप्तिमार्फत् जानकारी गराएको छ। आइतबार बैंककमा संघका अध्यक्ष असाजीता अवालेले महर्जनले नेपालको नाम विश्वमा चम्किलो पारेको सम्मान कार्यक्रममा बताए। उनलाई २ लाख २५ हजार रुपियाँ पुरस्कार पनि दिइएको थियो।