विश्वकप साढे ३ सय करोडले हेरे


पेरिस, (एजेन्सी)
गत जुन र जुलाईमा रूसमा सम्पन्न फिफा विश्वकप संसारभरि ३ सय ५७ करोडले हेरेको एउटा तथ्यांक फिफाले सार्वजनिक गरेको छ।
जसअनुसार टेलिभिजन र डिजिटल प्लेटफर्म दुवैलाई मिलाएर यो तथ्यांक निकालेकोे जनायो। १४ जुनदेखि १५ जुलाईसम्म चलेको विश्वकपलाई टेलिभिजनमार्फत कम्तीमा पनि एक मिनेट म्याच हेर्नेको संख्या ३ सय २६ करोड रहेको छ। यसै गरी ३० दशमलव ९७ करोड दर्शकले भने अन्य डिजिटल प्लेटफर्ममार्फत विश्वकपको मनोरञ्जन लिएको जनाइएको छ। यसै गरी १५ जुलाईमा फ्रान्स र क्रोएसियाबीच भएको फाइनल खेललाई १ सय १२ करोड दर्शकले हेरेका थिए। जसमध्ये ८८ दशमलव ४३७ करोड दर्शकले टेलिभिजन र २३ दशमलव १८२ करोड दर्शकले डिजिटल प्लेफर्ममार्फत हेरेको बताइएको छ। यो तथ्यांक सन् २०१४ को ब्राजिलमा सम्पन्न फिफा विश्वकपको तुलनामा १० दशमलव ९ प्रतिशतले बढी हो।