ट्रम्पको फैसलाको विरोध: अन्तर्राष्ट्रिय गठबन्धनका विशेष दूत म्याकगर्कद्वारा राजीनामा


वासिङ्टन, (एजेन्सी)
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको सिरियाबाट अमेरिकी सेना फिर्ता गर्ने फैसलाको विरोध लगातार बढिरहेको छ। यस सिलसिलामा सिरियामा इस्लामिक स्टेटविरुद्धको युद्धमा महŒवपूर्ण भूमिका निभाइरहेका अमेरिकाका एक वरिष्ठ अधिकारी ब्रेट म्याकगर्कले आफ्नो पदबाट राजीनामा दिएका छन्।

ब्रेट म्याकगर्क सिरियामा आईएसलाई समाप्त पार्ने उद्देश्यले बनाइएको अन्तर्राष्ट्रिय गठबन्धनमा अमेरिकाका विशेष दूत थिए। म्याकगर्क राष्ट्रपति ट्रम्पको फैसलामा खुसी थिएनन् उनी सिरियामा अमेरिकी सेनाको उपस्थिति कायम रहनुपर्ने पक्षमा थिए। यसअघि अमेरिकाका रक्षा मन्त्री जेम्स म्याटिसले पनि बिहीबार पदबाट राजीनामा लिएका थिए। म्याटिस पनि सिरियाबाट अमेरिकी सैनिक फर्ता गर्ने निर्णयप्रति असन्तुष्ट थिए। साथै उनले अफगानिस्तानमा अमेरिकी सैनिकको संख्या कम गर्ने फैसलाको पनि विरोध गरेका थिए।

म्याकगर्कलाई सन् २०१५ मा तात्कालीन राष्ट्रपति बाराक ओबामाको कार्यकालमा सिरियामा तैनाथ गरिएको थियो र उनी एक अनुभवी राजदूत थिए। डिसेम्बरको शुरूआतमा पत्रकारहरूसँग आफू सिरियामा बसिरहन चाहेको जसबाट उक्त क्षेत्रको स्थितिमा नियन्त्रण गर्न सक्ने उनले बताएका थिए। आफ्नो राजीनामामा म्याकगर्कले सिरियामा आईएसका कट्टरपन्थी पराजयको संघारमा रहेको तर पूर्णरूपमा समाप्त नभएको उल्लेख गरेका थिए। सिरियाबाट अमेरिकी फौज हटाउनुले त्यहाँ पुनः एक पटक आईएसले टाउको उठाउन सक्ने उनले उल्लेख गरेका थिए।

आफ्ना कर्मचारीहरूको नाम जारी गरिएको इमेलमा म्याकगर्कले आफू ट्रम्पको फैसलाबाट चकित परेको उल्लेख गरेको न्युयोर्क टाइम्सले जनाएको छ। उनले इमेलमा लेखेका थिए– ‘मलाई के लागेको छ भने अब म राष्ट्रपतिको यो नयाँ आदेशको पालना गर्न सक्दिनँ।’

अमेरिकी राष्ट्रपति ट्रम्पले बुधबार सिरियामा आईएस पूर्णरूपमा समाप्त भइसकेकाले त्यहाँ रहेका २ हजार सैनिक फिर्ता बोलाउने घोषणा गरेका थिए। ट्रम्पले म्याकगर्कको राजीनामाका विषयमा कुनै टिप्पणी गरेका छैनन्। यद्यपि शनिबारसम्म पनि राष्ट्रपति ट्रम्प आफ्नो फैसलामा अडिग थिए र उनका अनुसार आईएस पूर्णरूपमा समाप्त भइसकेको छ।

यसबीच अमेरिकाका वरिष्ठ रिपब्लिकन नेतालगायत प्रायः नेताहरूले ट्रम्पको उक्त फैसलाको विरोध गरिरहेका छन्। अमेरिकी स्थल सैनिक पहिलो पटक २०१५ मा सिरिया पुगेका थिए। सिरिया पठाइएका उक्त विशेष सैनिक बलको उद्देश्य आईएसविरुद्ध लडिरहेका कुर्द लडाकूहरूलाई तालिम र सल्लाह दिनु थियो। अमेरिकाले आईएसविरुद्ध लड्ने समूहहरूलाई हतियार पनि उपलब्ध गराएको थियो। त्यसपछिको २ वर्षमा सिरियामा अमेरिकी सैनिक संख्या बढ्दै गएको र हालसम्ममा यो संख्या २ हजार पुगेको बताइएको छ।

यस क्रममा अमेरिकी सेनाले सिरियाको उत्तरपूर्वी इलाकामा सैन्य अड्डा तथा हवाईपट्टीको नेटवर्क तयार गरे। अमेरिका आईएस र अन्य कट्टरपन्थीविरुद्ध हवाई हमला गर्ने अन्तर्राष्ट्रिय संगठनको हिस्सा पनि रहेको थियो।