गोंगबुकी गरिमा पहिलो द डिभा नेसनल

0
Shares

काठमाडौंको गोंगबुकी गरिमासिंह पेलाले पहिलो संस्करणको द डिभा नेसनल २०१८ को ताज चुमेकी छिन्। वृक्ष इभेन्ट्स प्रालिले राजधानीको जमलस्थित राष्ट्रिय नाचघरमा आयोजना गरेको द डिभा नेसनलमा गरिमा निर्णायकद्वारा सोधिएको निर्णायक प्रश्नको सटिक जवाफ दिँदै पहिलो वर्षको उपाधि चुम्न सफल भएकी हुन्। उनी मस्ट ब्युटिफुल उपउपाधि विजेतासमेत भइन्।

प्रतियोगितामा काठमाडौं बुद्वनगरकी २१ वर्षीया सुमना घिमिरे फस्ट रनर्सअपका साथ बेस्ट फिगर भइन् भने भक्तपुर लोकन्थलीकी २३ वर्षीया अनु पौडेल सेकेन्ड रनर्सअपका साथमा बेस्ट पर्सनालिटी भइन्। मोडल तथा कोरियोग्राफर लभिन अन्सारीको कोरियोग्राफीमा भएको प्रतियोगितामा लमु शेर्पा मस्ट पपुलर, प्रतिक्षा महर्जन मस्ट कन्फिडेन्ट, कल्पना तामाङ मस्ट ट्यालेन्टेड, बबिता शाह भिवर्स च्वाइस, शिक्षा नेपाल बेस्ट स्माइल, प्रविना चौहान मल्टिमिडिया च्वाइस, एलेक्जिया लामा मस्ट फोटोजेनिक, रिभा कार्की मस्ट डिसिप्लेन र पुनम लिम्बु बेस्ट वाक भएका छन्। प्रतियोगितामा कुल २० युवतीले प्रतिस्पर्धा गरेका थिए।

गीत संगीत, जादु र नृत्य प्रस्तुतिका साथ मनोरञ्जकरूपमा अगाडि बढाइएको प्रतियोगितामा एभरेस्ट फिल्म एकेडेमीका संस्थापक विशाल श्रेष्ठ, अभिनेता मनिष राउत, फेसन डिजाइनर मिनु श्रेष्ठ र म्यानहन्ट इन्टरनेसनल २०१२ सनिष शाक्य निर्णायक रहेका थिए। आयोजक दीपेश कुँवरले विभिन्न कलेजमा अध्ययनरत विद्यार्थी तथा पेशाकर्मी युवतीभित्र अन्तर्निहित प्रतिभा प्रस्फुटनका लागि प्रतियोगिता आयोजना गरिएको र आगामी वर्षबाट प्रतियोगितालाई निरन्तरता दिने बताए।