यो जित सबैको: रवि ओड

0
Shares

लोकप्रिय अन्तर्राष्ट्रिय टेलिभिजन रियालिटी शोको नेपाली संस्करणमा कञ्चनपुरका रवि ओड दोस्रो नेपाल आइडल भएका छन्। शुक्रबार पुल्चोकस्थित इन्जिनियरिङ कलेजमा आयोजित प्रतियोगिताको अन्तिम चरणमा रविले दोस्रो नेपाल आइडलको उपाधि चुम्दै २२ लाख रुपियाँका साथ गोल्डेन माइक र कार पुरस्कार पाएका छन्। उनले उपाधि जितेबापत विश्व भ्रमण र एउटा एल्बम निकाल्ने अवसर पनि पाउनेछन्।

‘यो जित मेरो मात्र होइन। मलाई साथ सहयोग, माया र भोट दिएर यो सफलता दिलाउने तपाईं सबैको जित हो’ –दोस्रो नेपाल आइडलको उपाधि जितेपछि उनले भने। रवि म्यादी प्रहरीको अस्थायी सेवादेखि नेपाल आइडल सिजन २ सम्मको संघर्षमा उत्रिई उपाधि विजेता भएका थिए। रवि गरिबीसँग जुध्दै आप्mनो गायन कला प्रस्तुत गर्न नेपाल आइडलको प्रतिस्पर्धामा उत्रिएका थिए। उनी कञ्चनपुरको कृष्णपुर नगरपालिकामा जन्मिएका थिए। उनका पिता राजेन्द्र भारतमा पालेको काम गर्छन् भने हजुरबुवा पहाडी जिल्ला अछामबाट बसाइँ सरेर कञ्चनपुर झरेका थिए। उनी हजुरबुवाको प्रेरणाले संगीत क्षेत्रमा होमिएका थिए। उनी लोकदोहोरी, देउडा, शास्त्रीय, मेलोडियस तथा फिल्मी गीतमा स्वर दिने खुबी राख्छन्।

प्रतियोगितामा बिक्रम बरालले फस्ट रनर्सअप हुँदै २० लाख रुपियाँको चेक पाए भने सुमित पाठकले सेकेन्ड रनर्सअप हुँदै १२ लाखको चेक तथा अस्मिता अधिकारीले थर्ड रनर्सअप हुँदै स्कुटर पुरस्कार पाएकी छन्। उनी नेपाल आईडल २ की एक मात्र महिला विजेता बन्न सफल भएकी छिन्।