रश्मी थापा
साहित्यकार आमा प्रेमा शाहको वार्षिक पुण्य तिथि पारेर नायिका जल शाहले बिहीबार राजधानीमा आयोजना गरेको प्रेमा शाहको सम्झना कार्यक्रममा उनी स्वयं त भक्कानिइन् नै, हलमा उपस्थित सबैका आँखाबाट पनि आँशुका भेल पुग्न पुगे। कार्यक्रमका सहभागीलाई सम्बोधन गर्ने क्रममा नायिका जल शाह भक्कानिइन्– ‘म स्ट्र«ङ हुन्छु भन्ठानेकी थिएँ, तर सकिनँ। यहाँहरू आइदिनुभयो धन्यवाद।’ जल रुँदै पोर्डियमबाट बाहिरिएपछि वातावरण भावुक बनिरहेको बेला जब उनकी छोरी तथा प्रेमाकी नातिनी कलश रिमालले रुँदै भिडियो प्रस्तुतिमा आफ्ना भनाइ राखिन्, सबै भक्कानिए।
‘फस्ट डेचाहिँ मलाई लाग्या थिएन त्यस्तो भयो ९निधन० भनेर, सेकेन्ड डेचाहिँ मलाई रियलाइजेसन भयो अब छैन भनेर’, कार्यक्रममा प्रस्तुत भिडियो सामग्रीमा कलशले आँशु खसाल्दै भनिन्– ‘उहाँ मलाई एकदमै माया गर्नुहुन्थ्यो। नेपाल आउँदा आमा अमेरिकामा भएको र अमेरिकामा हुँदा नेपालमा भएको जस्तो लाग्छ। मलाई उहाँका बारेमा किताब लेख्न मन छ। मैले एकपटक उहाँको पहेंलो गुलाब कपी गरेर नीलो गुलाब लेख्न खोजेको पनि थिएँ। लास्ट टाइम हस्पिटलमा भेट्दा म तिम्रो काखमा मर्न चाहन्छु भन्नुभएको थियो। आमालाई नदेखेको मात्र हो तर यहीं हुनुहुन्छ जस्तो लाग्छ।’ कलशको भनाइ सकिँदासम्म हलमा सन्नाटा छाएको थियो भने जल उनको पति शरद्कुमार रिमाल र कलशले नेपाल आएर केही दिनअघि मात्र देवघाट पुगी प्रेमाको अस्तु सेलाएको भिडियो चलिरहेको थियो। हलमा उपस्थितका आँखामा आँशु बगिरहेको थियो।
राजधानीको दरबारमार्गस्थित होटल अन्नपूर्णमा आयोजना गरिएको कार्यक्रममा साहित्यकारहरूले उनको तस्वीरमा माल्र्यापण गर्दै एक मिनेट मौनधारण गरेका थिए। कार्यक्रममा प्रेमाको जीवनीमा आधारित भिडियोमा उनका समकालीन तथा उनलाई नजिकबाट जान्ने विभिन्न व्यक्तित्वले उनको बारेमा प्रकाश पारेका थिए। प्राध्यापक डा। वासुदेव त्रिपाठीले अकस्मात् उदाएकी प्रेमा त्यस बेलाकी एउटी सशक्त र अजर अमर साधक भएको चर्चा गरे। ‘प्रेमा प्रेम र वासनालाई शालीन र शिष्ट किसिमले व्यक्त गर्थिन्।’ –उनले भने। प्रेमाको जीवनीमा आधारित विद्रोही प्राज्ञ प्रेमा शाह पुस्तक लेखेका साहित्यकार नरेन्द्रराज प्रसाईंले प्रेमा नेपालमा जन्मनु भौगोलिक भुल भएको चर्चा गरे। ‘मानिसहरू भन्ने गर्थे लक्ष्मीप्रसाद देवकोटा नेपालमा जन्मनु जियोग्राफिकल मिस्टेक हो। म भन्छु प्रेमा शाह नेपालमा जन्मनु जियोग्राफिकल मिस्टेक हो। उनी लक्ष्मीप्रसाद देवकोटाको हाराहारीकी साहित्कार हुन्। बौद्धिकताकी धनी प्रेमा शाहलाई मैले सेन्टिमेन्टल क्विन नामाकरण गरेको छुु।’ –उनले भने।
२००१ सालमा वीरगन्जको श्रीपुरमा जन्मेकी प्रेमा आऊ मलाई सम्भोग गर कविता लेखेपछि साहसी महिला साहित्कारका रूपमा साहित्य क्षत्रेमा उदाएकी थिइन् भने एउटै सम्भोग नामक कथा लेखेपश्चात् उनको चर्चा चुलिएको थियो। आफ्नो जीवनमा उनले धेरै समय शिक्षण पेसा अँगालेकी थिइन्। साहित्यकार काशीनाथ टमोटका अनुसार उनी नेवारी साहित्यमा पनि उत्तिकै अब्बल थिइन्। उनी २०१७ सालमा प्रश्नचि≈न कथा लेखेर अन्तरकलेज नेपाल भाषा साहित्य सम्मेलनमा भाग लिई पहिलो भएकी थिइन्। ‘जबकि नेवारी साहित्यमा दख्खल भएका साहित्यकार मथुराकृष्ण सायमी दोस्रो भएका थिए। यसले मलाई निकै अचम्म लागेको थियो’, उनले भने– ‘साहित्यमा लागेर उहाँले आफ्नो फाइदाको मतलब गर्नुभएन।
केवल आफूलाई मन लागेको कुरा भित्री हृदयदेखि लेख्नुभयो। उहाँको शब्द चयन निकै राम्रो थियो। जुन शैली नेपालीमा बालकृष्ण समको मात्र छ।’ साहित्यकार डा। महादेव अवस्थीका अनुसार प्रेमा त्यस बेला मानिसको मनको कुण्ठाका रूपमा रहने यौनका कुुरालाई मर्यादितरूपमा साहित्यमा खुला तरिकाले प्रस्तुत गर्थिन्। ‘यौनका कुरालाई कलात्मक ढंगले व्यक्त गर्ने कुशल साहित्य श्रष्टाका रूपमा म उहाँलाई चिन्छु, उहाँका पछिल्ला रचनाहरूमा अस्तित्ववादी जीवन दृष्टि पाइन्छ।’ –उनले भने। साहित्यकार इन्दिरा प्रसाईंका अनुसार नाम हटाएर पठकले पढ्दा लेखक चिन्ने विशेषता प्रेमाका साहित्यमा रहेका छन्।
सञ्चारकर्मी शारदा थापाको सञ्चालनमा सम्पन्न कार्यक्रममा निर्देशक तथा गीतकार यादव खरेललले प्रेमाको जीवनको सपना भनेको आफ्नी छोरी तथा अभिनेतृ जल शाहको सफलता रहेको आफूले पाएको चर्चा गरे। ‘कुनै पनि महिला आमा बन्न सक्छिन् तर सबै आमा गार्जेन बन्न सक्दैनन्। प्रेमा जलको आमा र गार्जेन दुवै हुनुहुन्थो। प्रेमाले बाल साहित्य पनि धेरै लेख्नुभयो तर उहाँलाई यौन साहित्यमा मात्र फोकस गरियो।’ –खरेलले भने। साहित्यकार डा। ध्रुवचन्द्र गौतमका अनुसार नेपाली साहित्यमा प्रेमाको लेखन आलोचना गर्नेहरू पनि थिए। ‘तर, मेरो दृष्टिमा उहाँले लेख्नुभएका यौन कथाहरू धेरै उच्च कोटीका छन्। नेपाली साहित्यमा यौन मनोवैज्ञानिक कथाको इतिहास हेर्दा एक ठाउँमा आएर प्रेमा शाहमा आएर अडिनै पर्छ।’ –उनले भने। विद्रोही स्वभावकी प्रेमाको लेखनलाई त्यस समयमा उनकै परिवारले पनि बुझ्न नसकेको जलका मामा सुवर्ण क्षत्रीले बताए। ‘मरणोपरान्त उहाँको बारेमा लेखहरू आउन थालेपछि मात्र मैले पनि पहेंलो गुलाफ जस्ता कृति पढें। उहाँ अनौठो किसिमको मान्छे नभएर हामी पो अबुझ किसिमको मान्छे रहेछौं भन्ने लाग्यो।’ –क्षत्रीले भने। कार्यक्रममा प्रस्तुत भिडियोमा साहित्यकार तथा संगीतकार हिरण्य भोजपुरेले प्रेमाले लेखेका गीत सुनाएका थिए।
कथा संग्रह पहेंलो गुलाब, विषायान्तर, लघु उपन्यास ममी, संयुक्त लेखन उपन्यास आकाश विभाजित छ, हिन्दी नाटक चित्रङदाको नेपाली अनुवाद, बाल कथाहरू मन्टुकी बजैको कथाको पेटारो, जिंकी र जोकर, इन्द्रधनुष रंगीचंगी कथाहरू, राम्रो काम लेखेकी प्र्रेमाका बाल उपन्यासहरू मनु र भँगेरा, आनन्दको आविष्कार, बाल गीतिसंग्रह भाग १ र २ लगायत उनको प्रकाशित कृति हुन्। उनको गत वर्ष पुस ५ गते उपचारका क्रममा अमेरिकाको साल्टलेक सिटी अस्पतालमा निधन भएको थियो। उनी केही समयदेखि जलका साथ अमेरिका बस्दै आएकी थिइन्।
प्रतिक्रिया