चैतमा जानी नजानी

0
Shares

अभिनेतृ रोशनी केसीद्वारा निर्मित तथा थुप्रै फिल्ममा सहायक निर्देशकका रूपमा काम गर्दै आएका वसन्त अधिकारीद्वारा निर्देशित फिल्म जानी नजानी आगामी चैत १ गते अल नेपाल रिलिज हुने भएको छ। फिल्मको फस्ट लुक्सका रूपमा पोस्टर सार्वजनिक गरिएको छ।

पोस्टरमा फिल्मका मुख्य कलाकारहरू मनीष श्रेष्ठ, निरिशा बस्नेत, सन्नी सिंह र नम्रता श्रेष्ठ समेटिएका छन्। पुराना कलाकार तथा निर्देशक विश्व बस्नेतको छोरी निरिशा केही समय बलिउडमा काम गरेपश्चात् यसै फिल्ममार्फत नेपाली रजतपटमा डेब्यु गर्दै छिन्। फिल्ममा प्रकाश अधिकारी, कृष्णभक्त महर्जन, रोशनी केसीलगायतले पनि अभिनय गरेका छन्।

आधुनिक प्रेमकथामा आधारित भनिएको फिल्ममा कथा, पटकथा र संवाद सामिप्यराज तिमिल्सेनाको रहेको छ भने संगीत अर्जुन पोखरेल, कोरियोग्राफी कविराज गहतराज, प्रवीण सिंह र शिशिर खाती, छायांकन सञ्जय लामा र सम्पादन अर्जुन जीसीको रहेको छ। रोशनी इन्टरटेन्मेनटको ब्यानरमा रोशनी केसीद्वारा प्रस्तुत फिल्ममा मोदनाथ खनाल र सागरकाजी मालीको लगानी रहेको छ।
आफँले जानी नजानीलाई राम्रो फिल्म बनाउन हर प्रयास गरेको प्रस्तुतकर्ता रोशनी केसीले बताइन्। ‘मेकिङमा सम्झौता गरेका छैनौं।

निर्माण पक्षको हिसाबले र पहिलो फिल्म डाक्टर खातेमार्फत सिकेको धेरै कुरा यसमा प्रयोग गरेको छुु’, प्रस्तुतकर्ता केसी भन्छिन्– ‘डाक्टर खातेले राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा पनि सहभागिता जनाउँदै अवार्डसमेत जितेको थियो। तर, यसपटकले माया प्रेमकै कथामा फिल्म निर्माण गरेको छु। फिल्मको छायांकन नेपालमा मात्र नभई मनालीको रमणीयस्थलमा पनि भएको छ।

निर्देशक वसन्त अधिकारी अब निर्देशन गर्ने समय आएकाले निर्देशनमा आएको बताए। ‘थुप्रै फिल्ममा मुख्य सहायक निर्देशक भएर काम गरिसकेपछि यो नै सही समय जस्तो लाग्यो डेब्यु गर्ने। सबैलाई टिम राम्रो चाहिन्छ। मैले टिमसँगै समय र कथा पनि राम्रो पाए। रोशनी दिदीको मेकिङ र सामिप्यजीको लेखनले गर्दा मैले आफँलाई अब अगाडि बढाउनुपर्छ भन्ने लाग्यो र डेब्यु गरें’, निर्देशक अधिकारीको भनाइ छ– ‘फिल्म हामीले आँखालाई नबिझ्ने किसिमले तयार पार्दै छौं।

यसमा अहिलेको पुस्ताले आफँलाई रिलेट गर्नुहुन्छ भने माया र मित्रताबीचको कन्फ्युजनबाट पनि मुक्त हुनुहुनेछ।’ लेखक सामिप्यराज तिमिल्सेनाले फिल्म प्रेमकथाको मियोका रूपमा रहेको बताए। ‘प्रेमकथा मलाई मन पर्ने विधा हो। त्यसैले यो फिल्ममा पनि प्रेमकथा मियोका रूपमा रहेको छ। तर, यसको दायाँ–बायाँ राष्ट्रियता र युवा पुस्ताले लिनुपर्ने जिम्मेवारीका कुरा पनि छन्। फिल्मले व्यापार व्यवसायमा नयाँ पुस्ताको सोचलाई पनि प्रतिबिम्वित गर्ने प्रयास गरेको छु।’ –सामिप्यको भनाइ छ।