प्रसादले प्रिमियरमै पायो प्रशंसा

0
Shares

निः सन्तान दम्पतीको सामाजिक कथामा बनेको फिल्म प्रसाद आज शुक्रबार अल नेपाल रिलिज हुने भएको छ। दिनेश राउतद्वारा निर्देशित तथा पत्रकार सुशील पौडेलद्वारा लिखित प्रसादले प्रिमियरबाटै प्रशंसा पाएको छ।

फिल्मको बिहीबार राति रेड कार्पेट प्रिमियर शो गरिएको थियो। फिल्ममा विपीन कार्की, नम्रता श्रेष्ठ, निश्चल बस्नेत, वसुन्धरा भुसाललगायतले अभिनय गरेका छन्। फिल्मका निर्देशक राउतले विगतमा प्रेमकथामा आधारित फिल्म निर्माण गर्दै आए पनि यसपटक विवाहपछिको प्रेमसम्बन्ध र सन्तान नहुँदा जीवनमा आउने उतारचढावमाथि गहकिलो फिल्म निर्माण गरेको बताए। फिल्मका लेखक सुशील पौडेलले फिल्ममा विपन्न वर्गको सानो क्यानभासलाई कथामा उनेको बताए। ‘निःसन्तान दम्पतीको स–साना समस्यालाई उठाएर प्रसादको आलेख तयार पारेको छु।’ –उनले भने।

फिल्ममा विपीन कार्कीले समाजले ‘माथिल्लो’ भन्ने गरेको जातकी युवती भगाउने दलित युवाको भूमिका निर्वाह गरेका छन्। अभिनेतृ नम्रता श्रेष्ठले फिल्ममा दाम्पत्य सुखका लागि संघर्ष गरेकी नारीको भूमिका निर्वाह गरेकी छिन्। ‘मैले प्रेम सफल पार्न अन्तरजातीय विवाह गरेको र दाम्पत्य जीवन सुखद तुल्याउनकै लागि सन्तान पाउन गरेको संघर्षशील नारीको भूमिका गरेको छुु’, नम्रताले भनिन्– ‘यसले दर्शकको मन छुनेछ।’ फिल्म सुवास थापाले निर्माण गरेका छन्।