हामीकहाँ कुनै विषय आयो भने अनुसन्धान गर्ने ठाउँ छैन, ओज छैन, नेताजीलाई जे विचार आयो त्यसैका आधारमा बोल्ने प्रचलन बढेको छ।
सत्तामा हुँदा र सत्ताबाहिर फरक अडान झल्किनु हाम्रो लागि दुर्भाग्य हो।
राजदूत भएर काम गर्ने व्यक्ति परराष्ट्र नीतिको प्रतीक हो, हाम्रो अन्तर्राष्ट्रिय सम्बन्धको प्रतीक हो।
दक्षिण एसियामा अहिलेको बदलिँदो भू–राजनीतिको परिकल्पना बीपीले पञ्चायतकालमा महसुस गरेर स्वदेश फर्कनुभएको थियो।
प्रधानमन्त्रीले एउटा दिशा तय गर्न सक्नुपर्छ। प्रस्ट ड्राइभ अनि डाइरेक्सन हुनुपर्छ, त्यो हुन सकेको छैन।
परराष्ट्र नीति भनेको संसद्मा दुई तिहाइ वा जतिसुकै मत ल्याउनेको पनि होइन परराष्ट्र नीति सबैको हो।
नेताहरू प्रयोग भएपछि हामी विभिन्न किसिमका कठिनाइबाट गुज्रिरहेका छौं, त्यसैले नेतृत्वले नै विवेक राखेर अघि बढ्नुपर्छ।
नेपालले आर्थिक समृद्धि हासिल गर्न पहिला त हामी नै ठीक हुनुपर्छ। घर ठीक हुनुपर्छ, आफू ठीक हुनुपर्छ, आफू आफ्नो ठाउँमा बस्नुपर्छ।
कूटनीतिमा समय, शब्द, सन्दर्भको, स्थानको बडो महत्वपूर्ण भूमिका हुन्छ, यस्ता कुराको सधैं ख्याल हुनुपर्छ।डा. दिनेश भट्टराई
पूर्वराजदूत
देशले विकास निर्माण र आर्थिक समृद्धि हासिल गर्न नसकेका कारण धेरै छन्। मुलुकको समृद्धिसँग प्रत्यक्ष÷अप्रत्यक्ष कूटनीतिक अभ्यास पनि जोडिन्छ, कूटनीतिक व्यवहार परिपक्व नहुँदा नेपाल पीछडिएको चर्चासमेत हुने गर्छ। राजनीतिक नेतृत्व परिपक्व नहुँदा नेपालको कूटनीतिक अभ्यास सधंै कमजोर भएको टिप्पणी गरिन्छ। यही सन्दर्भमा परराष्ट्र र कूटनीतिक मामिलाका जानकार एवं संयुक्त राष्ट्रसंघका लागि पूर्वस्थायी प्रतिनिधि डा. दिनेश भट्टराईसँग नेपाल समाचारपत्रकर्मी टीका बन्धनले गरेको अन्तरवार्ता ः
मुलुकले आर्थिक समृद्धि हासिल गर्न नसक्नुमा राजनीतिक र अन्य विविध कारण औंल्याइन्छ। यसमा कूटनीतिक कमी–कमजोरी पनि छ ?
यो ज्यादै महत्वपूर्ण प्रश्न हो। नेपालले प्रगति हासिल गर्न नसक्नुमा विविध प्रसंग आउने गर्छन्। कूटनीति भनेको परराष्ट्र नीतिलाई कार्यान्वयन गर्ने एउटा औजार हो, माध्यम हो। कूटनीति मुलुक बनाउन महत्वपूर्ण हुन्छ। हाम्रा मित्रहरूको सद्भाव, मित्रहरूको समर्थन र सहयोग जुटाएर मुलुकका प्राथमिकता तय गरेर उनीहरूको सहयोग र समर्थनलाई आबद्ध गराउन सक्ने किसिमका कूटनीतिज्ञहरू भए भने बल्ल मुलुकका लागि सहयोगी हुन्छ। त्यसैले कूटनीति जति प्रभावकारी र शसक्त बन्छ मुलुक पनि समृद्ध बन्छ। नेपाल जस्तो भौगोलिक अवस्थिति बढो संवेदनशील छ, नाजुक भू–राजनीति छ त्यसैले कूटनीतिक परिपक्वताको खाँचो हुन्छ। हामी दुई उदयीमान राष्ट्रको बीचमा छांै, दुई छिमेकी हाम्रा पहिलेदेखि नै थिए, उनीहरू गरिब भए पनि धनी भए पनि डिल गर्नुपर्ने हामीले उनीहरूसँग नै हो। हाम्रो विदेश नीतिमा छिमेकी सधैं हाम्रो पहिलो प्राथमिकतामा पर्छन् र छिमेकीहरूसँगको सम्बन्धलाई विश्वासका आधारमा हामीले अगाडि बढाउन कस्तो किसिमको नीति हामीले लियौं, कसरी हामीलाई सञ्चालन गरिरहेका छौं भन्ने कुरा पनि उत्तिकै महत्वपूर्ण हुन्छ।
तर यथार्थ त धेरै फरक छ नि ?
हामीले यहाँ कस्तो देख्छौं भने हाम्रो परराष्ट्र नीतिमा हाम्रा नेताहरू सत्ता र सत्ता बाहिर रहँदा फरक किसिमको व्यवहार गर्ने क्रम रोकिएको छैन। मैले कोही नेता विशेषलाई लक्षित गर्दै आक्षेप लगाउन खोजिरहेको छैन, तर यस्तो भइरहन्छ। एउटा उदाहरण म यहाँ जोड्न चाहन्छु। गत वर्ष अहिलेका हाम्रा प्रधानमन्त्री ओली जसरी भारत केन्द्रित भएर चुनाव प्रचार–प्रसारमा जुट्नुभयो र अहिले उहाँ सत्तामा आइसकेपछि जुन किसिमको व्यवहार गर्दै हुनुहुन्छ त्यसले हाम्रो कूटनीतिक अभ्यासमा कति स्पष्टता छ, स्थिरता छ भन्ने कुरा प्रस्ट हुन्छ। नेताहरूमा कूटनीति स्पष्टता र स्थिरता नहुँदा हाम्रो विश्वसनीयता गुमिरहेको छ। कूटनीतिक मामिलामा सत्तामा हुँदा र सत्ताबाहिर फरक अडान झल्किनु हाम्रो लागि दुर्भाग्य हो, अहिले मात्रै होइन विगतदेखि नै यस्तो छ। परराष्ट्र नीति भनेको राष्ट्रिय सुरक्षा, राष्ट्रिय सम्मान र राष्ट्रको विकास कसरी हुन्छ भन्ने कुरासँग सम्बन्धित हुन्छ। राष्ट्रिय सवालमा हाम्रा दल र दलका नेताहरूले यसको गम्भीरतालाई र संवेदनशीलतालाई नबुझ्नु नै कमजोर पक्ष हो।
यसका लागि राज्यका निकाय पनि उत्तिकै सबल र सक्षम हुनुपर्यो होला नि ?
पक्कै पनि। यसबारेमा म एउटा विदेशी प्रसंग जोड्न चाहन्छु। उपयुक्त जेम्स रविन्स र ड्यारन एसमुग्लु भन्ने लेखकद्वयको ‘वाई नेसन्स फेल’ पुस्तकको सारांश नियाल्यांै भने संस्थाहरू कमजोर अथवा नाजुक भए भने त्यो मुलुकचाहिँ असफलतातर्फ लम्किन्छ, अग्रसर हुन्छ भन्ने पाउन सकिन्छ। त्यसैले हाम्रो नेतृत्वले हाम्रा संस्थाहरू बलियो बनाउनुपर्यो, सुदृढीकरण गर्नुपर्यो, स्रोत उपलब्ध गराउनुपर्यो। संस्थाहरूलाई अनुसन्धानमा जुटाउने, तिनीहरूबाट विचार, मत अथवा पृष्ठपोषण लिएर ज्ञान निर्माणको प्रक्रिया शुरू हुनुपर्ने हो, त्यो हामीकहाँ हुन सकेन। संस्थालाई हामीले एकपछि अर्को गरी भत्काउँदै गयांै।
परराष्ट्र नीतिकै कुरा गर्दाखेरी भारतको उदाहरण हेर्यौं भने कति धेरै थिंक ट्याङ्क छन्। चाइनामा पनि धेरै छन्, अमेरिका र अन्य मुलुकमा पनि उत्तिनै धेरै छन्। मैले भन्न खोजेको के हो भने हामीकहाँ कुनै विषय आयो भने अनुसन्धान गर्ने ठाउँ छैन, ओज छैन, नेताजीलाई जे विचार आयो त्यसैका आधारमा बोल्ने प्रचलन बढेको छ। देश किन अघि बढ्न सकेन भन्दाखेरी हामीकहाँ ज्ञान भनेको पदेन जस्तो भइसक्यो, पद पाएपछि ऊ सबैकुराको जानकार नेता भइहाल्छ। जेमा पनि भाषण गर्न सक्ने भइहाल्छ। नेताले सक्षम व्यक्तिहरूलाई विश्वासमा लिएर अरूबाट काम गराउने हो, सबै काम कुरा आफैं गर्ने होइन। नेताले डाइरेक्सन र ड्राइभ गर्ने हो, तर दुवै हुन सकेन। परराष्ट्र मामिलामा पनि अन्य क्षेत्रमा पनि धरातलीय यथार्थ एकातिर छ अनि हामी अर्कैतिर बहकिरहेका छौं।
बाह्य प्रभावका कारणले पनि समस्या बढेको भनिन्छ। यसमा तपार्इंको धारणा के छ ?
नेपालमा बाह्य प्रभाव कम वा बेसी सधैं रह्यो। यो कुरा सबैले अनुभूत गरेकै कुरा हो। हामीले कहिलेकाहीं माइक्रो म्यानेजमेन्ट भन्ने कुराहरू पनि सुन्यौं। यस्तो किन सुनिन्छ र अरूले चलखेल गर्ने अवसर किन पाए भन्दा हाम्रै कमजोरीका कारणले। हामी सधैं सत्ता स्वार्थमा केन्द्रित भयौं, हामी क्षणिक स्वार्थमा सीमित भयांै। परराष्ट्र नीतिमा पनि अरूले हेप्ने कारण यही हो। भू–राजनीतिको संवेदनशीलतालाई बुझेर हामीले छिमेकी राष्ट्रहरूलाई आफ्नो विश्वासमा लिएर उनीहरूको समर्थन, सहयोग जुटाएर देश विकास गर्ने राम्रो अवसर छ। किनभने दुवै छिमेकी संसारकै उदयीमान राष्ट्रका रूपमा आफूलाई चिनाइरहेका छन्, विश्व रङ्गमञ्चमा महत्वपूर्ण भूमिका दिइरहेका छन्। चीन विश्वको दोस्रो आर्थिक मुलुकका रूपमा उदाइसकेको छ, भारत उसलाई पछ्याइरहेको छ।
कूटनीतिक अभ्यास सुधार्न विगतमा भएका अभ्यास कुल्चिँदै, बेवास्ता गर्दै अघि बढ्दा समस्या बढेको हो कि ?
कसैले राम्रो कुरा गरेको छ, लेखेको छ भने त्यसबाट शिक्षा पनि लिनुपर्छ। इतिहासबाट के लिने भन्ने कुरा हामीलाई थाहा हुनुपर्यो। पृथ्वीनारायण शाहदेखि यहँँसम्म हामी कसरी आइपुग्यौं भन्ने कुरा बिर्सनु भएन। अनि नेपाल स्वतन्त्र सार्वभौम नेपाल बनेको हामीसँग बल र बन्दुक मात्रै भएर होइन, विवेक, बुद्धि र ज्ञानले यो मुलुकलाई बचाएको हो। शासकहरूको गाम्भिर्यता, अध्ययनशीलताका साथै उनीहरूको बुद्धि र विवेकले यो मुलुकलाई बचाएको हो।
यो मुलुक लडाइँले मात्रै बचेको होइन। त्यस्तो विवेकचाहिँ अहिले गुमिरहेको छ। अहिले देखिएको समस्या नैतिक समस्या पनि हो। परराष्ट्रनीति भनेको गृह नीतिको विस्तारित रूप हो भनिन्छ, बाहिर आफ्नो शक्ति र इज्जत हुनका लागि मुलुकभित्रै पनि त नैतिक अभ्यास हुनुपर्यो नि। कोही विदेशी यहाँ आयो भने एयरपोर्टबाटै सीधै प्रधानमन्त्रीलाई भेट्न पुग्छ। त्यसैले यहाँ बाह्य प्रभाव बढेको हो, अरू केही कारण पनि होइन हाम्रै कारण हो, हामी बलियो नभएका कारणले हो, हाम्रा संस्थाहरू कमजोर भएका कारणले हो। हामी तथ्यमा आधारित नहुँदा, हाम्रो धरातलीय यथार्थ र नैतिक धरातल गुमेकाले समस्या बढेको हो।
केही दशकअघिसम्म उस्तै आर्थिक अवस्थामा रहेका मुलुकहरूलाई अहिले विश्वले चिन्छ, ठूलो व्यापार व्यवसाय हुन्छ। नेपाल पीछडिको राजनीतिक अस्थिरताले हो ?
कारण धेरै छन्, राजनीतिक अस्थिरता पनि हो। नेपालको वैदेशिक व्यापार बढ्न बढाउन अनुकूल वातावरण बनाउन हामीले सकेनौं। कसैले यहाँ लगानी गर्न चाहन्छ भने फाइदा हेरेरै गर्छ, फाइदा सुनिश्चित भएन भने कोही पनि आउँदैनन्। नेपाललाई प्रकृतिले यति ठूलो वरदान दिएको छ, विश्वका ८ वटा उच्च हिमशृंखला यहीं छ।
जलस्रोत र पर्यटनको विशाल सम्भावना यहीं छ। राजनीतिक स्थिरता भएर मात्रै पनि लगानी भित्रिँदैन, यसका लागि नीतिगत स्थितरको खाँचो हुन्छ अनि नेतृत्वको चालचलनमा पनि स्थिरता चाहिन्छ। सँगसँगै नीतिको निरन्तरता र स्थायित्व पनि चाहिन्छ। अहिले दुई तिहाइ बहुमतको सरकार हुँदा पनि त्यस्तो हुन सकिरहेको छैन, त्यही भएर लगानीकर्ता ढुक्क हुने अवस्थामा छैनन्, लगानीकर्ता बिच्किन्छन्। २ अर्व ५ करोड हाराहारीको बजार हाम्रो ढोकामा छ, हामी चीन पनि पठाउन सक्छौं, यता भारततिर पनि पठाउन सक्छौं। लगानी भित्याउनका लागि नेपालको अन्तर्राष्ट्रिय बजार बढाउनका लागि राजनीति स्थायित्व अहिले देखिएर मात्रै पनि हुँदैन, नीतिको स्थायित्व र नेताहरूको आनीबानीमा पनि स्थिरता जरुरी छ।
अपेक्षाअनुसार वैदेशिक लगानी नभित्रिनु हाम्रा दूतावास र नियोगको कार्यसम्पादन चुस्त र प्रभावकारी नभएको पो हो कि ?
केही वर्ष म आफंै त्यस्तो जिम्मेवारीमा रहेको अनुभवका आधारमा दूतावास र नियोगको कार्यसम्पादनमा त्यति समस्या देख्दिनँ। तर, कहिलेकाहीं हाम्रा नेताहरूले के सजिलो मान्नुहुन्छ भने यहाँका भारतीय राजदूतसँग भेटघाट गरी यसो गर्दिनुपर्यो, उसो गर्दिनुपर्यो भन्न पछि पर्नुहुँदैन। भारतीय राजदूतमार्फत आफ्ना काम गराउनुहुन्छ।
यदि कुनै काम गराउनु छ भने दिल्लीमा रहेको हाम्रो दूतावास र राजदूतमार्फत गराउने हो। भारतीय प्रधानमन्त्रीसँग भेटवार्ताको समय मागेर नेपालको अडान बताउन राजदूतलाई निर्देशन दिने हो। त्यसो भएमा हाम्रो राजदूतले पनि त्यहाँका नेताहरूसँग आफ्नो सम्पर्क बढाउने मौका मिल्छ तर यहाँ आफूखुसी राजदूतलाई भेट्दा उताका हाम्रा राजदूतले धेरै कुरा थाहै पाउँदैनन्। त्यसैले दूतावास र नियोगको कार्यसम्पादनमा समस्या होइन, राजदूतहरूलाई स्पष्ट म्यान्डेट तोक्नुपर्छ।
आफ्ना राजदूत मार्फत सम्बन्धित मुलुकमा सन्देश पठाउनेहो भने सन्देशको प्रभावकारिता हुन्छ र राजदूतको भूमिका पनि सुदृढ हुन्छ। दिल्लीको हाम्रो राजदूत र दूतावास यहाँबाट जानेहरूको उपचार, नेपाली विद्यार्थी एड्मिसन जस्ता काममा बढी समय बिताउनुपर्ने अवस्था छ। राजनीतिक काम भनेको त्यहाँ धेरै कम हुन्छ। चाहे त्यो भारत वा अन्य मुलुक नै किन नहोस् राजदूत भएर काम गर्ने व्यक्ति परराष्ट्र नीतिको प्रतीक हो, हाम्रो अन्तर्राष्ट्रिय सम्बन्धको प्रतीक हो। छिमेकीहरूसँग हामीले राम्रो सम्बन्ध राख्नुपर्छ अन्य अन्तर्राष्ट्रिय जगत्सँग पनि उत्तिकै फराकिलो सम्बन्ध बनाउनुपर्छ। राष्ट्रिय स्वार्थमा सबै राजनीतिक दलहरू एक हुनुपर्छ। हाम्रा कमी–कमजोरी लुकाउनु हुँदैन।
यहाँले पटक–पटक परराष्ट्र सम्बन्ध खस्किएको बताउनुभयो, खस्किएको सम्बन्धलाई सुधार्न अहिलेको सरकारबाट सम्भव छ ?
सम्भावना छ। सम्भव हामीबाटै शुरू हुनुपर्छ, पहिले हामी सुध्रिनुपर्छ। परराष्ट्र नीति भनेको कुनै दलको नीति हुँदैन, समग्र राष्ट्रको नीति हुन्छ। परराष्ट्र नीति भनेको संसद्मा दुई तिहाइ वा जतिसुकै मत ल्याउनेको पनि होइन परराष्ट्र नीति सबैको हो। परराष्ट्र नीतिले देशको देशबासी सबैको हित हेर्छ।
तर, दलका नेताको बोली र व्यवहार सत्तामा हुँदा एउटा र सत्ताबाहिर हुँदा अर्कै हुनु भएन। सुधार यहींबाट शुरू हुनुपर्छ। विगतबाट सिकेर हामीले भविष्य बनाउने हो, भविष्य निर्देश गर्ने हो। इतिहास र भूगोल मुलुकलाई हेर्ने दुईवटा आँखा हुन्, हामीले बाहिर हेर्दा निै आँखाले हेर्नुपर्छ। जसले बुझेको छ, उसलाई अध्ययन गर्न लगाएर ल भन के हो भन्नुपर्यो। बीपी कोइरालाले निर्वासनमा रहँदा भूराजनीतिको विश्लेषण गरेर २०३३ सालमा स्वदेश फर्किएर आउँदा देशबासीको नाममा दिनुभएको अपिल अहिले पनि उत्तिकै मेल खान्छ। त्यस बेला उहाँले गर्नुभएको भू–राजनीतिको चित्रण ठ्याक्कै अहिले मेल खान्छ। जब हाम्रो चरित्र, स्वभाव विदेशीतर्फ ढल्किन्छ, त्यति बेला राष्ट्रियता पहिलो शिकार हुन्छ भनेर बीपीले त्यो बेला भन्नुभएको थियो। अहिले मुलुकलाई त्यस्तो दुरदर्शिता राख्ने लिडरसिपको खाँचो छ। नेतृत्व भन्ने कुरा देशको मुहार फेर्नका लागि ठूलो कुरा हुँदो रहेछ। सिंगापुरको उदाहरणलाई हेरांै, सिंगापुर सानो मुलुक हो तर त्यसै बनेको होइन, लिडरसिपले सफल बनाएको हो। अमेरिकी राष्ट्रपति, वा चिनियाँ राष्ट्रपति त्यहाँ पुगे भने आधुनिक सिंगापुरका निर्माता ली क्वान यूलाई एकपटक भेट्न पाए हुन्थ्यो भन्ने चाहन्थे।
सिंगापुर जस्ता मुलुकले हासिल गरेको प्रगतिबाट नेपाल प्रेरित हुनुपर्ने होइन र ?
हाम्रा नेताले नेपाललाई सिंगापुर, स्विजरल्यान्ड बनाउँछु भन्ने ठूलै चर्चा गरे। यस्ता मुलुकले हासिल गरेको समृद्धि के–कसरी अनुशरण गर्न सकिन्छ भन्ने गम्भीरता राजनीतिक नेतृत्वले कहिले लिएन। नेपालले भू–राजनीतिको पीडा भोगिरहेको छ, त्यो पीडा पनि राजनीतिक नेतृत्वले बुझ्न सकेको छैन।
अनि हामी यस्तो गम्भीर स्थितिमा छौं कि, दक्षिणबाट केही गतिविधि भए भने उत्तरले सहँदैन, उत्तरबाट केही गतिवियिध भए भने दक्षिणले सहँदैन, अलिकति पर जाऔं भने पश्चिमा जगत्ले सहँदैन। त्यसैले के यो नेपाल खेल मैदान हो, नेपाल के राजनीतिक प्रयोगशाला हो ? २००७ सालदेखि यतिका धेरै प्रयोग हुँदै आए तर कुनै पनि टिक्न नसक्ने कारण किन ? दक्षिण एसियामा अहिलेको बदलिँदो भू–राजनीतिको परिकल्पना बीपीले पञ्चायतकालमा महसुस गरेर स्वदेश फर्कनुभएको थियो। त्यसैले मुलुक रहेन भने नेताहरूले केका लागि राजनीति गर्ने त्यस्तो अनभूति नभएसम्म हाम्रा साधन स्रोत पनि त्यतिकै खेर जाने अवस्था रहन्छ। यहाँ अनुसन्धानका लागि बजेटको आवश्यकता महसुस गरिँदैन, प्राथमिकतामा पर्दैन, त्यस्तो प्रयोजननका लागि बजेट छुट्याइँदैन। त्यही भएर विदेशीले एनजीओ आईएनजीओलाई थिंक ट्यांक बनाएर चल्न थालेपछि देशको हालत कस्तो हुन्छ, जग नहालीकन छाना मात्रै हाल्न थाल्दा अडिन्छ र ?
नेतृत्व विवेकशील नभएसम्म परिणाम राम्रो आउँदैन भन्न खोज्नुभएको हो ?
नेताहरू प्रयोग भएपछि हामी विभिन्न किसिमका कठिनाइबाट गुज्रिरहेका छौं, त्यसैले नेतृत्वले नै विवेक राखेर अघि बढ्नुपर्छ। जनता निरास र थकित भए भने सबैभन्दा खतरा परिस्थिति उत्पन्न हुन्छ। यो कुरा प्रधानमन्त्रीले पनि बुझ्नुभएको छ। हो सबै कुरा एकैपटक परिवर्तन हुँदैन। हामी विभिन्न किसिमको परिस्थतिबाट गुज्रिएर यहाँसम्म आएका छौं। तर, एउटा दिशाचाहिँ प्रधानमन्त्रीले तय गर्न सक्नुपर्छ। प्रस्ट ड्राइभ र डाइरेक्सन हुनुपर्छ, त्यो हुन सकेको छैन, उहाँमा अहिलेसम्म त्यस्तो भिजन देखिएन। आधुनिक भारत र पाकिस्तानको जन्मसँगै भएको हो, नेतृत्व विवेकशील भएकाले भारत अहिले कति अगाडि छ भन्ने प्रस्ट छ। विश्वास परराष्ट्र नीति सञ्चालन गर्ने एउटा आधारभूत पूर्वाधार हो। त्यो पूर्वाधार छिमेकीहरूसँग कता–कता हराए जस्तो देखिन्छ।
नेपालले आर्थिक समृद्धि हासिल गर्न आगामी दिनमा छिमेकीहरूसँग कस्तो व्यवहार गर्नुपर्छ ?
नेपालले आर्थिक समृद्धि हासिल गर्न पहिला त हामी नै ठीक हुनुपर्छ। घर ठीक हुनुपर्छ, आफू ठीक हुनुपर्छ, आफू आफ्नो ठाउँमा बस्नुपर्छ। त्यसो भयो भने उनीहरू पनि आफ्नो ठाउँमा बस्छन्। आफ्नो अडान र नैतिक धरातल गुमाउनु भएन अनि राज्यका निकायलाई बलियो बनाउनुपर्छ। भू–राजनीतिको पीडा जुन नेपालले भोगिरहेको छ त्यसलाई नेतृत्वले बुझ्ने प्रयास गर्नुपर्यो। विगतका सरकारले राष्ट्रहितमा के गरेका थिए त्यो बुझ्नुपर्यो, राम्रा कामलाई निरन्तरता दिनुपर्यो। कूटनीतिमा समय, शब्द, सन्दर्भको, स्थानको बडो अर्थपूर्ण भूमिका हुन्छ, यस्ता कुराको सधै ख्याल हुनुपर्छ। त्यसैले हाम्रो नेतृत्व दुवै छिमेकीको मन जितेर, सन्तुलित ढंगमा अघि बढ्नुपर्छ। अध्ययन गरेर, तयारी गरेर, तथ्य लिएर मात्रै छिमेकसँग अघि बढ्यौ भने हामी पनि तयारी भएर अघि बढ्नुपर्छ भन्ने भाव हुन्छ। उनीहरु पनि जथाभावी बोल्ने र जथाभावी प्रस्ताव गर्न हिचकिचाउँछ। त्यसैले कुतनीतिक अभ्यास धरातलिय यथार्थमा टेकेर कसरी राष्ट्रहितमा प्रवद्र्धन गर्न सकिन्छ भन्ने सोच विचार गरेर सन्तुलन राख्न सक्नु पर्छ।
प्रतिक्रिया