नासाको इन्साइट रोबोट ल्यान्डर मंगलग्रहमा सफल अवतरण


नासा (एजेन्सी)
अमेरिकी अन्तरिक्ष एजेन्सी नासाको अन्तरिक्ष यान इन्साइट ल्यान्डर मंगलग्रहमा सफल अवतरण भएको छ । मंगलग्रहका लागि पठाइएको उक्त नयाँ रोबोट पछिल्लो ७ मिनेटको अत्यन्त महत्वपुर्ण समय पार गर्दै अवतरित भएको हो ।

नासाको इन्साइट मिसनको लक्ष्य मंगलग्रहको सतह र आन्तरिक भागको अध्ययन गर्नु हो । पृथ्वी बाहेक सौर्यमण्डलमा नासाले यस प्रकारको जाँच गर्न लागेको यो रातोग्रह पहिलो हो ।

उक्त यानको अवतरणका क्रममा पछिल्लो ७ मिनेट अत्यन्त तनावपुर्ण रह्यो । यस क्रममा उक्त अन्तरिक्ष यानले पृथ्वीमा सन्देश पठाइरहेको थियो । जब इन्साइट रोबोटिक यान मंगलग्रहमा सुरक्षित तरिकाबाट अवतरण भयो, क्यालिफोर्नियामा नासाका मिसन कन्ट्रोलमा खुसीको लहर छाएको थियो ।

रातो ग्रहको भित्री बनावटको अध्ययन हुने

यो यान एलिसियन प्लानिसिया नामक खुला समथर मैदानमा अवतरित भएको छ । यो स्थान उक्त रातो ग्रहको भुमध्य रेखा नजिक पर्छ । अहिले वैज्ञानिकहरु उक्त यान पुर्ण रुपमा ठीक हुन र यसको वरवरको जानकारी तथा तस्वीरको पर्खाइमा छन् । ती सबै जानकारी केही घण्टामा पृथ्वीमा आउने सम्भावना छ ।

अवतरणपछिको केही समय सोलार प्यानल खुल्न र त्यसबाट ब्याटरीमा उर्जा संकलनका लागि आवश्यक हुने वैज्ञानिकहरुले बताएका छन् ।
के हो इन्साइट ल्यान्डर ?

मंगलग्रहमा अवतरणका लागि उक्त यानका लागि ७ मिनेट अत्यन्त गम्भिर मानिएको थियो । यसका लागि यानले आफनो गति २० हजार किलोमिटर प्रति घन्टा सम्म कम गर्नु थियो ।

इन्साइट मंगलग्रहका बारेमा त्यस्ता जानकारीहरु दिन सक्षम हुनेछ जुन अर्बौ बर्षदेखि प्राप्त हुन सकेको छैन ।

आफनो अभियानका क्रममा यो यान मंगलग्रहमा एक साइज्मोमिटर राख्नेछ । यसले ग्रहको भित्री हलचलको रिकर्ड गर्न सक्छ । यसबाट मंगलग्रह भित्र भुकम्प जस्ता हलचल हुन्छ वा हुँदैन थाहा पाउन सकिनेछ ।
मंगलग्रह सतहमा खनन गरी उसको रहस्यमय जानकारी संकलन गर्ने यो पहिलो अन्तरिक्ष यान हुने छ । साथै एक जर्मन उपकरणले मंगलग्रहको सतहबाट ५ मिटर तल गई त्यहाँको तापक्रम पत्ता लगाउनेछ ।

ग्रहको यो तापक्रमले मंगल ग्रह अहिले पनि कति सक्रिय छ भन्ने पत्ता लगाउन सकिने अपेक्षा गरिएको छ ।

यसको तेस्रो परीक्षणमा रेडियो ट्रान्समिसनको प्रयोग हुने छ । यसबाट यो ग्रह आफनो कक्षमा डगमगाउँदै कसरी घुम्छ भन्ने पत्ता लाग्न सक्छ ।
यस अभियानमा सम्बद्ध एक वैज्ञानिक सुजैन स्मेकरले बताउँछिन– तपाई एउटा काँचो अन्डा लिनुस र एक पाकेको अन्डा, दुबैलाई घुमाउँदा उनीहरु फरक फरक तरिकाले घुम्छन ।

किनभने उनीहरु भित्रको तरल पदार्थ फरक फरक छन् । आज हामीलाई मंगलग्रहको भित्र ठोस पदार्थ छ वा तरल पदार्थ, थाहा छैन । साथै यसको भित्री भाग कति ठुलो छ यो पनि थाहा छैन । इन्साइटले हामीलाई यसको जानकारी दिनेछ ।