नेपाल–अफ्रिका फिल्म महोत्सव हुँदै

0
Shares

आगामी सोमबारबाट राजधानीमा सातौं नेपाल–अफ्रिका चलचित्र महोत्सव–२०१८ हुने भएको छ। नेपाल र अफ्रिकाबीच सांस्कृतिक एवं पर्यटकीय आदानप्रदान गर्नुका साथै दुई देशबीचको सम्बन्ध थप प्रगाढ बनाउने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको फेस्टिबल निर्देशक डा. मञ्जु मिश्रले राजधानीमा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइन्।

महोत्सव कलेज अफ जर्नालिज्म एन्ड मास कम्युनिकेसन (सीजेएमसी)ले आयोजना गर्न लागेको हो। नेपाल र अफ्रिकाको मैत्रीपूर्ण सम्बन्धलाई प्रगाढ बनाउने उद्देश्यले नेपाल, अफ्रिका मन्मेन्टका साथै नर्वे, नेपाल र सुडानको संयुक्त किताब विमोचन गरिनेसमेत सम्मेलनमा जानकारी गराइएको छ।

कमलपोखरीस्थित रसियन कल्चर सेन्टरमा तीन दिनसम्म चल्ने महोत्सवमा सामाजिक विषयमा आधारित विभिन्न ११ फिल्म प्रदर्शन गरिने महोत्सवका निर्देशक डा. मञ्जु मिश्रले जानकारी गराइन्। महोत्सवमा विदेशी फिल्मका निर्देशकको समेत उपस्थित रहनेछ।

सम्मेलनमा नेपाल पर्यटन बोर्डका निमित्त निर्देशक विमल कँडेलले नेपाल र अफ्रिकाबीचको दूरी कम गर्न यो महोत्सव सहयोगी हुने बताए। महोत्सवमा इजिप्टको नासिर ५६, स्वीजरल्यान्डको लाइफ इन प्रोगेस, स्वीडेनको नाडिया डाइवर्ग र फुटबोल डोक्र्टन, अमेरिकाको द सेरेन्गेटी, साउथ अफ्रिकाको कल मि थिफ र नेपालबाट मनोज पण्डितको छायालगायतका फिल्म प्रदर्शन गरिनेछन्। सन् २०११ देखि नै अफ्रिकन फिल्म फेस्टिवल गरिँदै आएको छ।