समृद्ध नेपालका लागि उद्योग ग्रामको अवधारणा

0
Shares

नेपालमा निर्मित हस्तकलाका सामानले विश्वबजारमा ख्याति कमाइसकेको छ । विश्वमा नेपाल चिनाउन यहाँका हस्तकलाका सामग्री सहयोगीसिद्ध भएको कुरा नकार्न सकिँदैन । कुनै बेला यहाँ निर्मित ऊनीका गलैँचा, स्वेटर एवम् तयारी पोशाक ठूलो मात्रामा विदेश निर्यात हुने गरेको सबैलाई थाहा भएकै कुरा हो । हस्तकला क्षेत्रले आर्थिक विकास मात्र नभएर नेपालको अर्थतन्त्रलाई नै चलायमान बनाउन महत्वपूर्ण भूमिका खेलेको छ । त्यसैले समृद्ध नेपालका लागि यहाँको हस्तकला क्षेत्रको विकास र प्रवद्र्धन गर्नु जरुरी देखिएको छ ।

यहाँ उपलब्ध स्रोत–साधन र सीपको प्रयोगबाट घरेलु उद्योग फस्टायो भने मात्र ग्रामीण जीवनस्तर उकासिनेछ । यसैलाई मध्यनजर गरी उद्योगमन्त्री डा. युवराज खतिवडाले उद्योग ग्रामको अवधारणा अघि सार्नुभएको छ । स्थानीय स्तरमा प्राप्त स्रोत–साधन र सीपको प्रयोगमार्फत उद्यमशीलता विकास तथा व्यवसाय प्रवद्र्धनका लागि उद्योग ग्रामको अवधारणा ल्याउन लागिएको उहाँले बताउनुभएको छ । आर्थिक उपार्जनका लागि उहाँले अघि सार्नुभएको यो अवधारणा स्वागतयोग्य छ ।

सरकारले प्रत्येक स्थानीय तहलाई उद्योग ग्राम स्थापना गर्न आवश्यक आर्थिक तथा प्राविधिक सहयोग उपलब्ध गराउने तयारी गरिरहेको छ । स्थानीय सीप, श्रम र स्रोतको अधिकतम उपयोगमार्फत आर्थिक विकासका लागि हरेक स्थानीय तहमा उद्योग ग्राम सञ्चालन गर्ने र त्यसको आर्थिक तथा प्राविधिक पक्षको जिम्मेवारी सरकारले बहन गर्ने गरी नयाँ अवधारणामा काम गरिरहेको मन्त्री खतिवडाले बताउनुभएको छ ।

तर सरकारले ल्याएको यो अवधारणालाई साकार रुप दिन सबै स्थानीय तहले सहयोग गर्नु अपरिहार्य छ । यो अवधारणा सफल भएमा ग्रामीण भेगमा बस्नेहरुको मौलिक सीपको सदुपयोग हुनुका साथै रोजगारीका अवसरहरु बढ्नेछन् । साथै स्थानीय स्तरमा पाइने विभिन्न वस्तुको अधिकतम प्रयोगमार्फत आर्थिक उपार्जन हुनेछ ।

यो अवधारणालाई कार्यान्वयनमा ल्याउनका लागि कुन–कुन स्थानमा के–के प्रकृतिप्रदत्त वस्तु अधिकतम मात्रामा पाइन्छ र त्यहाँ कस्तो–कस्तो सीप भएका व्यक्तिहरुको बाहुल्यता छ भन्ने कुरा स्थानीय तहमार्फत तथ्यांक संकलन गरिनुपर्छ । साथै ती वस्तुलाई सानो पुँजीबाट कसरी परिमार्जन गरी निर्यातयोग्य वस्तु बनाउन सकिन्छ भन्ने कुरा पनि महत्वपूर्ण पाटो हो ।

ढुंगा–काठका सामग्री, ऊनी, सुती र ढाकाका सामग्री, पस्मिना, हातेकागजका सामग्री, छालाजन्य समग्री, बेत–बाँसका सामग्री, जडीबुटीका सामग्री आदि उद्योग ग्रामबाट उत्पादन हुन सक्ने वस्तुहरु हुन् । स्थानीय तहमा निर्मित यस्ता वस्तुको विक्री वितरणको व्यवस्थासमेत शुरुमा सरकारबाट हुन सक्यो भने उद्योग ग्रामको अवधारणले सार्थकता पाउनेछ । यसका लागि सबैतिरबाट सहयोग मिलोस् ।