सांसद्हरुद्वारा पूर्वाधार विकासमा जोड

0
Shares

हेटौंडा ।
मकवानपुरका प्रतिनिधिसभाका २ सांसद्ले आफ्नो सांसद् विकास कोषमा आएको रकम विकास निर्माणमा खर्च गर्ने योजना सार्वजनिक गरेका छन् ।

कोषमा आएको ४ करोड रकम आफ्नो क्षेत्रमा पर्ने उपमहानगर, नगर र गाउँपालिकामा विभिन्न योजनाका शीर्षकमा रकम छुट्याएर काम गर्न लागिएको हेटौंडामा पत्रकार सम्मेलन गरी उहाँहरुले जानकारी दिनुभएको हो ।

मकवानपुर–१ का सांसद् कृष्णप्रसाद दाहाल र २ का विरोध खतिवडाले स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम नियमावली २०७५ बमोजिम छनौट गरेका योजनाको विवरण सार्वजनिक गर्नुभएको छ ।

सांसद् विकास कोषको सबैजसो रकम दुवै सांसद्ले पूर्वाधार विकासमा जोड दिएका छन् । सांसद्हरुले स्थानीय तह, जिल्लाबाट निर्वाचित प्रदेश सांसद्सहितको सल्लाहमा बजेट बाँडफाँट गरेको बताउनुभएको छ ।

सांसद् दाहालले वितरण गर्ने ४ करोडमा बागमती गाउँपालिकाको पूर्वाधार विकासमा एक करोड, मकवानपुरगढी गाउँपालिकाको पूर्र्वाधार विकासमा ५० लाख, हेटौंडा उपमहानगर क्षेत्रको पूर्वाधार विकासमा एक करोड ५० लाख, बकैया गाउँपालिकामा एक करोडको पूर्वाधार विकास गर्ने गरी बजेट तयार भएको छ ।

उक्त निर्वाचन क्षेत्रमा सडक निर्माणका काममा अधिक बजेट छुट्याइएको छ । उक्त क्षेत्रमा तीन करोड ३० लाख रुपियाँ सडक निर्माणमा खर्च गरिने भएको छ । रौतहटको क्यान्टिनबाट राईगाउँसम्म डुंगा चलाउन २० लाख, शैक्षिक संस्थाका लागि २५ लाख, खानेपानी योजनाका लागि १० लाख छुट्याइएको सांसद् दाहालले बताउनुभयो ।

सांसद् खतिवडाले ४ करोड रकममा हेटौंडा उपमहानगरमा २० लाख, थाहानगरमा ७० लाख, कैलाश गाउँपालिकामा ८० लाख, मकवानपुगढीमा ३५ लाख, इन्द्रसरोवरमा ३५ लाख, मनहरीमा ५५ लाख, राक्सिराङमा ५० लाख र भीमफेदीमा ५५ लाख रहेको बताउनुभयो ।
स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम नियमावली २०७५ बमोजिम सांसद् खतिवडाले क्षेत्रमा छनौट भएका योजनामा हेटौंडा–३ मा लटौला टोलदेखि राईगाउँ सडकलाई २० लाख बिनियोजन गर्नुभएको छ ।

थाहानगर–४ मा बसपार्क निर्माणलाई ५० लाख, २ नम्बरमा रहेको पाण्डुकेश्वर मन्दिर निर्माणमा २० लाख दिइने भएको छ । कैलाश–६ को माथिल्लो र तल्लो पकनी खानेपानीलाई ५० लाख, वडा–३ मा हेल्थपोष्ट भवन निर्माणलाई २० लाख र वडा–८ मा भार्ता–गोगने सडकलाई १० लाख रकम रहेको उहाँले बताउनुभयो ।

मकवानपुरगढी–६, भालुखोला–च्याफल भञ्ज्याङ मोटर बाटोलाई २५ लाख र वडा–८ मा रहेको इक्चुङ–बुढीचौर सडकलाई १० लाख, इन्द्रसरोवर–२ मा हेभी कुलेखानी खानीखेत खानेपानी योजनालाई २० लाख र वडा–४ घट्टेखोला हुमाने खानेपानी योजनालाई १५ लाख रकम रहेको छ ।

उहाँले मनहरी–९ मा रजैया सभाहल (वनस्पतिउद्यान) लाई २० लाख, वडा–१ गोगनपानी–चकरी सडकलाई १५ लाख, वडा–६ लोथर–हिलेदमार–काँकडा सडकलाई १० लाख, वडा–७ को कत्ले रमनटार खानेपानी योजनालाई १० लाख छुट्याउनुभएको छ ।

राक्सिराङ–९ मा ताल्ती–खैराङ सडकलाई २० लाख, वडा–७ मा तिरुवा–धिराङ सडकमा १० लाख र वडा–४ वडा कार्यालय सिमधाप धुम्वाङ निन्द्राङहँुदै भीमलटार सडकलाई २० लाख दिइने भएको छ ।

भीमफेदी गाउँपालिकामा भने उपल्लो सुपिङ बृहत् खानेपानी योजना वडा–५ लाई ३५ लाख, चुनियाँ बृहत् खानेपानी योजना वडा–२ मा १० लाख र वडा–३ मा लेखपान्द्राङ–बारीपाखा–चिलाउने कृषि सडकलाई १० लाख रकम रहेको बताइएको छ । विनियोजित रकमबाट ०.५० प्रतिशत प्रशासनिक खर्च कट्टा हुने सांसद्हरुले बताउनुभयो ।