शिवधामसहित धार्मिक स्थलको एकीकृत विकासमा भीनपा अग्रसर

0
Shares

मनोज भट्ट, महेन्द्रनगर ।
कञ्चनपुरको भीनपाका मेयर सुरेन्द्र विष्टले नगरपालिका क्षेत्रभित्रका सबै धार्मिक स्थलहरुको एकीकृत योजना बनाएर विकास गर्ने बताएका छन् । श्री शिवधाम क्षेत्र विकास समितिले बिहीबार विहान शिवधाम क्षेत्रमा आयोजना गरेको छलफल कार्यक्रममा मेयर विष्टले नगर समृद्धिको प्रमुख आधारमा पर्यटन भएकोले धार्मिक पर्यटन विकासका लागि एकीकृत योजना बनाएर जाने कुरा व्यक्त गरेका हुन् ।

शिवधाम क्षेत्र सहित नगर क्षेत्रका सबै धार्मिक स्थानको संरक्षण, संवद्र्धन र प्रचारप्रसारका लागि सबै धार्मिक संस्थाहरुको सहभागितामा धार्मिक सभा आयोजना गर्न आव्हान गरेका छन् । ‘भीमदत्त नगरपालिकाले आफ्नो समृद्धिको प्रमुृख आधार पर्यटनलाई मानेको छ, त्यसमा पनि धार्मिक पर्यटनलाई प्राथमिकता दिएको छ’ कार्यक्रममा मेयर विष्टले भने,‘त्यसका लागि भम्केनी, रौटेला, झिलमिला, ब्रह्मदेब जोडिने गरी जैविक धार्मिक पर्यटकीय माग बनाएका र्छौ, अन्य स्थलको पनि एकीकृत विकास गर्न चाहन्छौ, धार्मिक पर्यटकीय स्थलको विकासका लागि नगरपालिका सक्दो सहयोग गर्छ ।’ मेयर विष्टले शिवधाम क्षेत्रको योजनाबद्ध विकासका लागि गुरुयोजना बनाउन नगरपालिका तयार भएको बताए ।

 

भीनपाले चालु आर्थिक वर्षमा योग भवन निर्माणका लागि ३० लाख बजेट विनियोजन गरेकाले भवन बनाउन जग्गा खोजी थालिएको नगर प्रमुख विष्टले जानकारी दिए । बैतडीको दुर्गास्थनामा जन्मिएका स्वर्गिय महन्त पूर्ण गिरीजी महाराजको अगुवाईमा २०२२ मा स्थापना गरिएको शिवधाम क्षेत्र साढे सात बिगाहा जमिनमा फैलिएको छ । यस क्षेत्रमा पशुपति नाथको मन्दिर, दत्तात्रेय मन्दिर, शनि मन्दिर, सभागृह, यज्ञशाला, हनुमान मन्दिर, राधाकृष्ण मन्दिर, गुरुकुल विद्यालय लगायतका संरचना छन् ।

काठमाडौंको पशुपति मन्दिरजस्तै शिवधाम क्षेत्रमा पशुपति मन्दिर छ । शिवरात्रीमा यस क्षेत्रमा ठूलो मेला लाग्ने गरेको छ । युवा व्यवसायी वसन्त जोशीले व्यक्तिगत लगानीमा शनिको निर्माण गरेका हुन् । शिवधाम मन्दिर विकास समितिले शिवधाम क्षेत्रको गुरु योजना बनाएर विकास गर्न नगर प्रमुख विष्टलाई सात बुँदे माग पत्र बुझाएको छ ।

शिवधाम क्षेत्रका महन्थ लक्ष्मीनारायण गिरीजी महराजको उपस्थितिमा गरिएको कार्यक्रममा गुरु कुल निर्माण, गुरुकुल विद्यार्थीका लागि छात्राबास निर्माण, पशुपति नाथ मन्दिरको पर्खाल र प्रवेशद्वार निर्माण, सभागृह हलको तला थप, शिवधाम क्षेत्र भएर बग्ने नालामा निकास, खोलामा तटबन्ध निर्माण, गौशला र धर्मशाला निर्माण गरिनु पर्ने माग गरिएको छ ।

समितिका सचिव पदमराज भट्टले मेयर बिष्टलाई पेश गरिएको मागमध्ये गुरुकुल भवन र छात्रावास निर्माण कार्य तत्काल नगरी नहुने अवस्था रहेको बताए । समितिका अध्यक्ष रामदत्त बडुले नगरपालिकाले शिवधाम क्षेत्रको विकासका लागि सहयोग गर्ने आशा राखिएको बताए ।