काठमाडौं ।
परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले भुटान सरकारले नेपालमा बसोबास गरेका आफ्ना नागरिकलाई सकुशल व्यवस्थापन गर्नुपर्ने बताउनुभएको छ ।
मन्त्रालयमा बुधबार आयोजित पत्रकार सम्मेलनमा मन्त्री ज्ञवालीले भुटानी नागरिकले सम्मानपूर्वक आफ्नो देश फिर्ता हुन पाउनुपर्ने बताउनुभयो । ‘ भुटान सरकारले आफ्ना नागरिकलाई लानुपर्छ, ‘सेटलमेन्ट’ हुन बाँकी ६ हजार ९ सयलाई अलपत्र पार्नु हुँदैन’ मन्त्रीले भन्नुभयो ‘ झण्डै १ लाख २० हजार भुटानी नेपाल आएका थिए, अरुको व्यवस्थापन भइसकेको छ ।’ भुटान सरकारद्धारा खेदाइएका उनीहरु भुटानी शरणार्थीका रुपमा झापा र मोरङका ७ वटा शिबिरमा बस्दै आएका थिए ।
मन्त्री ज्ञवालीले मिडियामा आउने अनेक हल्लाको पछि नलाग्नसमेत सर्वसाधारणलाई आग्रह गर्नुभएको छ । उहाँले ३ वटा देशमा राजदुतको लागि नाम प्रस्ताव गरिएको र खाली भएको अर्को देशमा पनि छिट्टै नाम सिफारिस गरिने जानकारी दिनुभयो । राजदुत खाली हुनुभन्दा ३ महिनाअघिदेखि प्रक्रिया चालिने उहाँको भनाई थियो । राजदुत कसले नियुक्त गरेको हो भनेर खोजी गरिनुभन्दा पनि उनको काम र जिम्मेबारी कस्तो छ भन्ने कुरा प्रमुख भएको उहाँले बताउनुभयो । मन्त्रालयमा खाँचो भएकाले केही समयअघि १ जना राजदुत फिर्ता बोलाइएको उहाँले प्रष्ट पार्नुभयो । राजदुतावास थप्ने प्रक्रिया अघि बढेको बताउँदै मन्त्री ज्ञवालीले राजदुतावास सञ्चालनबापत बार्षिक ७५ करोड रुपैंया खर्च हुने गरेको जानकारी दिनुभयो ।
वर्तमान कर्मचारी दरबन्दी र भइरहेको संरचनाले मन्त्रालयको काम कारवाही गर्न समस्या परेको उल्लेख गर्नुभयो । केही दिनमा आफ्नो जापान भ्रमण रहेको भन्दै उहाँले राष्ट्रपति विद्यादेवी भण्डारी विश्व जलवायु सम्मेलनमा भाग लिन आगामी नोभेम्बर १ देखि ५ तारिखसम्म पोल्याण्ड जाने बताउनुभयो । उहाँले कम्बोडियाका प्रधानमन्त्री एशियन पोलिटिकल पार्टीको कार्यक्रममा भाग लिन नेपाल आउने बताउनुभयो । पत्रकारले उहाँको भ्रमण शंकास्पद रहेको र नेपालको हितमा नभएको भन्दै मन्त्री ज्ञवालीमार्फत सरकारलाई सचेत रहनसमेत आग्रह गरेका थिए ।
मन्त्री ज्ञवालीले सन् २०२० मा २० लाख पर्यटक भित्रयाउने सरकारका योजना साकार पार्न सबैको सहयोग रहनुपर्ने बताउनुभयो ।











प्रतिक्रिया