म्याग्दी ।
नेपाल कम्युनिष्ट पार्र्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी एकताको प्रक्रिया अन्तिम चरणमा पुगेको बताउनुभएको छ । नेकपा म्याग्दीले बुधबार बेनीमा आयोजना गरेको जिल्लास्तरीय अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले पार्टी एकतालाई छिटै नै पूर्णता दिइने बताउनुभयो ।

अध्यक्ष प्रचण्डले केही दिनभित्रै पार्टी एकताको प्रक्रियालाई टुङ्ग्याएर जनवर्गीय सङ्गठनहरुको एकता पनि टुङ्ग्याइने बताउनुभयो । उहाँले प्रदेश कमिटीको गठनको प्रक्रिया अन्तिम चरणमा पुगेकाले अब जिल्लाको पदाधिकारी टुङ्ग्याएर पार्टी एकतालाई अन्तिम रुप दिइने बताउँदै यसअघि गठन गरिएको कार्यदलले दिएको रिपोर्टको अध्ययन भैरहेको जानकारी दिनुभएको छ ।
नेकपाका महासचिव विष्णु पौडेल र सचिवालय सदस्य रामबहादुर थापाले कार्यदलको प्रतिवेदन हेरेर त्यसलाई अन्तिम दिएपछि सचिवालयमा पेश गर्ने र स्थायी समिति बसेर एकताको प्रक्रिया टुङ्ग्याउने अध्यक्ष प्रचण्डले बताउनुभयो । पार्टी एकताको प्रक्रिया टुङ्ग्याउनु र सुदृढ गर्नुको विकल्प नभएको भन्दै उहाँले पार्टी एकताले पूर्णता नपाए प्रतिक्रियावादी र साम्राज्यवादीले के भन्लान् ? भन्दै प्रश्न पनि गर्नुभयो । अध्यक्ष प्रचण्डले पार्टी एकता धेरै ठूलो काम गरिएको हुँदा यसको रक्षा सबैले गर्नुपर्नेमा जोड दिँदै पार्टी एकताको विरुद्धमा फर्किन सक्ने ठाउँ नभएको स्पष्ट पार्नुभयो ।

पूर्व प्रधानमन्त्री समेत रहेनुभएका नेकपाका अध्यक्ष प्रचण्डले सरकारले सकारात्मक कामको सुरुवात गरेपनि त्यसले गति लिन नसकेको बताउनुभयो । उहाँले विदेश नीति, सुरक्षासम्बन्धी व्यवस्थालगायत केही विषयमा सरकारले गरेका कामहरु सकारात्मक भएको बताउनुभएको छ । पार्टीको तल्लो तहसम्म कमिटीहरु गठन नहुँदा सरकारले गरेका कतिपय राम्रा कामहरुको जनतामाझ सन्देश पु¥याउन नसकिएको बताउँदै उहाँले प्रतिक्रियावादीहरुले जनतामा सरकारका विरुद्धमा भ्रम छर्ने काम गरेको आरोप लगाउनुभयो ।
अध्यक्ष प्रचण्डले धर्मपत्नी सीता दाहालको उपचारका लागि तातोपानी कुण्डमा आएकोमा बसाई अनौपचारिक भए पनि म्याग्दी भ्रमण सफल भएको दावी गर्नुभयो । अध्यक्ष प्रचण्डले जिल्लाको विकास निर्माणका लागि एकताबद्ध भएर अगाडि बढ्न जिल्लाका नेता तथा कार्यकर्तालाई निर्देशन दिनुभएको छ । बेनी–जोमसोम–कोरला तथा बेनी–दरबाङ सडक, तातोपानी कुण्ड, गलेश्वर मन्दिर र राहुघाट जलविद्युत आयोजनाको विकास तथा प्रवद्र्धन हुनसके म्याग्दीको भविष्य सुन्दर रहेको उहाँको भनाइ छ ।

सोही कार्यक्रमलाई सम्बोधन गर्दै नेकपाका सचिवालय सदस्य एवं गृहमन्त्री रामबहादुर थापाले पछिल्लो समय देशमा तीनवटा परिघटनाहरु भएको टिप्पणी गर्नुभयो । उहाँले विगत लामो समयदेखि रहिआएको सामन्तवादको अन्त्य, सर्वहारा वर्गको नेतृत्वमा सत्ता र कम्युनिष्ट पार्टीका बिचमा भएको एकता असाधारण राजनीतिक परिघटनाहरु घटेको उल्लेख गर्नुभएको छ ।

उहाँले अबको लक्ष्य राजनीतिक उपलब्धिलाई संस्थागत गरेर समाजवादको यात्रामा लाग्ने भएको बताउँदै पार्टीले लिएको रणनीति समाजवादको यात्रामा अघि बढ्ने र त्यसका लागि पूर्वाधारहरुको निर्माण गर्ने रहेको बताउनुभयो । देशमा औद्योगिकरणको विकास, कृषि क्रान्ति गरेर आर्थिक विकासलाई उत्कर्षमा पु¥याइने भन्दै गृहमन्त्री थापाले त्यसपछि मात्रै बल्ल देशमा समृद्धि आउने र सुखी नेपाली बन्न सक्ने धारणा राख्नुभएको थियो ।











प्रतिक्रिया