मनोज भट्ट, महेन्द्रनगर ।
कञ्चनपुरको भीमदत्त नगरपालिकामा निर्माण गरिएको रौटेला ब्रह्मदेब जैविक धार्मिक पर्यटकीय मार्ग अवलोकनका लागि आकर्षणको केन्द्र बन्न थालेको छ । भीनपा १ बाराकुण्डादेखि ब्रह्मदेबसम्म निर्माण गरिएको जैविक मार्ग दैनिक रुपमा अवलोकन गरिएको छ ।
भीमदत्त नगरपालिकाका नगर प्रमुख सुुरेन्द्र विष्टले स्थानीय तह निर्वाचनमा गरिएको चुनावी प्रतिवद्धता अनुसार गत आर्थिक वर्ष रौटेलादेखि ब्रह्मदेबसम्म १८–२२ मिटर चौडाईको झण्डै १५ किलोमिटर माग निर्माण गरेका हुन् । गत वर्ष ट्रयाक खोलेर ग्राभेलिङ्ग गरिएको जैविक मार्गमा यस वर्ष स्तरोन्नति कार्यलाई तिब्रता दिइएको छ ।
जैविक मार्गले भीमदत्त नगरपालिका १, ३, ७, ८, ९ र १० नम्बर वडालाई एक आपशमा जोडिएका छन् । चुरे फेदमा निर्माण गरिएको यो मार्गले उत्तरी क्षेत्रका सबै धार्मिक पर्यटकीय क्षेत्र आपशमा जोडिएका छन् । ‘उत्तरी क्षेत्रका सडक पूर्वाधार विकास, धार्मिक पर्यटन विकास, पर्यावरण संरक्षण र चुरे संरक्षण गर्ने उद्देश्य सहित जैविक मार्ग निर्माण गरिएको छ’ भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्टले भने । नगर प्रमुख विष्टले जैविक मार्गको पूर्वी र पश्चिमी दुबै भाग नगर चक्रपथसित जोडिने बताए ।
कञ्चनपुर क्षेत्र नं. ३ का साँसद डा. दिपक प्रकाश भट्ट, सुदूरपश्चिम प्रदेश उद्योग, वन, वातावरण तथा पर्यटन राज्य मन्त्री प्रकाश रावल, साँसद मान बहादुर सुनार, लाल बहादुर खड्का लगायतले अवलोकन गरेका छन् । संघीय सरकारका साँसद डा. भट्टले अवालेकनका क्रममा जैविक मार्गलाई विकासको नमूना भनेर प्रशंसा गरेका थिए ।
पूर्व सभासद् नेकपा नेता कृपाराम राना, पूर्व दैजी गाविसका उपाध्यक्ष हिक्मत बहादुर सिहलाई भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्टले जैविक मार्ग अवलोकन गराएका छन् । पूर्व सभासद् रानाले जैविक मार्ग भीमदत्त नगरपालिकाको मात्रै नभएर सुदूरपश्चिम प्रदेशको गौरबको योजना भएको बताए ।

भीमदत्त नगरपालिकाले गत आर्थिक वर्षमा बाराकुण्डका एक् दर्जन कुण्ड पुनःभरण गरी पर्यटकीय क्षेत्र बनाइएको छ । जगद्गुरुबाट ती कुण्डको नामाकरण गरिने छ । केही दिन अघि सुदूरपश्चिम अग्रज पत्रकारहरुले जैविक मार्ग अवलोकन गरेका थिए । भीमदत्त नगरपालिकाका जनप्रतिनिधि सहित विभिन्न राजनीतिक दलका नेता कार्यकर्ताहरु दैनिक रुपमा जैविक मार्ग अवलोकनमा जाने गरेको भीमदत्त नगरपालिका नगर कार्यपालिकाका प्रवक्ता राजेन्द्र पाण्डेयले बताए ।
जैविक मार्गको प्रस्थान बिन्दु रौटेला र अन्तिम बिन्दु ब्रह्मदेबस्थित काली मन्दिरमा छ । कालि मन्दिर भएर महाकाली कोरिडोरको निर्माण कार्य अघि बढेको छ । केही दिन अघि महाकाली कोरिडोर हेर्न आएका राष्ट्रिय योजना आयोजना सदस्य सहितको टोलीले समेत जैविक मार्ग अवलोकन गरेका थिए ।
जैविक मार्गको किनारमा ट्रि गार्डन सहितको वृक्षारोपण कार्यक्रमलाई पनि निरन्तरता दिईएको छ ।
सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्षमा जैविक मार्गलाई काली, कर्णाली र गोदावरी नामारकण दिएर डिपिआर निर्माणका लागि बजेट विनियोजन गरेको छ । भीमदत्तका नगर प्रमुख विष्टले नगरको गौरबको योजना राखेर विशेष प्राथमिकतामा राखेका छन् । चालु आर्थिक वर्षका लागि तेस्रो नगर सभाबाट जैविक मार्गका लागि बजेट विनियोजन गरिएको छ ।











प्रतिक्रिया