सरोज यादव, विराटनगर ।
विराटनगर महानगरपालिकाको फोहोर व्यवस्थापन गर्ने ठेक्का पाएको वेष्ट म्यानेजमेन्ट ग्रुपका कर्मचारी आन्दोलनमा उत्रिएपछि विराटनगरका सडकहरूमा फोहोर थुप्रिएको छ । तिहार लगत्तै ठेकेदार कम्पनीका २ सय ५० मजदुर काम छाडेर आन्दोलनमा उत्रिएपछि सडकमा फोहोर थुप्रिएको हो ।
करार सेवामा कार्यरत मजदुर दशैभत्ताको माग गर्दै आन्दोलनमा उत्रिएपछि आइतबारदेखि महानगरको फोहोर उठ्न छाडेको हो । ठेकेदार कम्पनी वेष्ट म्यानेजमेन्ट गु्रपका सञ्चालक देवी आचार्य मजदुरले सुरू गरेको आन्दोलनले आइतबारदेखि फोहोर उठाउने कार्य प्रभावित भएको बताउँछन् । उनका अनुसार घाटामा सञ्चालन भैरहेको कम्पनीले कामदारलाई दशैभत्ता दिएको छैन । तर मजदुरले दशै भत्ता पाउनु पर्ने माग गर्दै आइतबारदेखि फोहोर उठाउन छाडेका हुन् ।
केही मजदुरको उक्साहटमा सबै मजदुरले काम छाडेको उनको गुनासो छ । ‘हामी दशै भत्ता दिन सक्ने अवस्थामा छैनौ ।’ उनले भने ‘ जसोतसो मासिक तलब उपलब्ध नियमित उपलब्ध गराएका छौं ।’ उनका अनुसार कार्यरत मजदुर मध्ये आधा आंशिक र बाँकी आधा पूर्णकालिन काम गर्ने छन् । पूर्णकालिनलाई करार सेवा अन्तरगत मासिक १५ हजार र आंशिक काम गर्नेलाई ८ हजार पारिश्रमिक उपलब्ध गराइँदै आएको छ ।
वेष्ट म्यानेजमेन्ट ग्रुपमा काम गरिरहेका सफाइ मजदुरहरुले भत्ता माग्दै फोहोर उठाउन नदिएको बताइएको छ । माग पूरा गर्न मजदुरले चाडवाडमा आन्दोलन गर्दै आएका छन् । सरोचियामा बसोवास गर्दै आएका डोम समुदायका मजदुरले भत्ता नदिएसम्म काम नगर्ने र फोहोर बोकेको गाडी पनि कुद्न नदिने बताएपछि काम रोकिएको बताइएको छ । विराटनगरमा सामान्य अवस्थामा दैनिक ३० देखि ३५ टयाक्टरसम्म फोहोर संकलन हुन्छ ।
तर चाडबाडमा भने ५० टयाक्टर भन्दा बढी फोहोर संकलन हुने ठेकेदार कम्पनीका सञ्चालक आचार्य बताउँछन् । फोहोर व्यवस्थापनका लागि २५ वटा टयाक्टर प्रयोग गरिदै आएको छ । सोमबार मजदुर काममा नफर्किए प्रशासनको सहायोगमा फोहोर उठाउने आचार्यले बताए । चाडपर्वमा महानगरले फोहोर नउठाउँदा छठ पूजा गर्न पनि समस्या भएको विराटनगर–२ का स्थानीय सुभास कामतले गुनासो गरे ।
विराटनगर महानगरपालिकाले ठेकेदार कम्पनीलाई मासिक ११ लाख ४० हजार रूपैयाँ दिदै आएको छ । तर नियमित फोहोर नउठेपछि बिकल्प खोज्ने अवस्था आएको विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले बताए । ‘हामीले ठेकेदार कम्पनीलाई तत्काल समस्या सामधान गर्न भनेका छौ ।’ उनले भने ‘ काम नगरे महानगरले बिकल्प खोज्छ ।’ ठेकेदार कम्पनीबाट चित्त बुझ्दो काम नभएको बताउँदै उनले काम नगरे बिकल्प खोज्ने बताए ।











प्रतिक्रिया