सरकार गतिहिन भयो, काम गर्न सकेनः नेता पौडेल

0
Shares

चितवन ।
नेपाली काग्रेंसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अहिलेको सरकार गतिहिन भएको र कामै गर्न नसकेको आरोप लगाउनुभएको छ । प्रेस युनियन चितवन शाखाले आज भरतपुर विमानस्थलमा गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता पौडेलले सरकारको भनाई र काम गराईमा अन्तर भएकोले जनतामा निराशा उत्पन्न भएको बताउनुभयो । बहुमत भएको र प्र्रतिपक्ष समेत शान्त रहेको अनुकुल समयमा समेत सरकारले काम गर्न नसकेको उहाँको टिप्पणी थियो । सरकारले काम गर्न नसकेकोमा सत्तापक्षका नेताहरुसमेत चिन्तित रहेको पौडेलले बताए ।

त्यस्तै उनले विजय कुमार गच्छेदारलाई प्रक्रिया नपुर्याई हतार हतार पार्टी उपसभापति बनाइएकोे तर्क गरे । गच्छेदारलाई पार्टीमा उचित समायोजन गर्ने पक्षमा आफू रहेको तर त्यसको लागि एउटा समिती बनाएर समितीकोे प्रतिवेदनको आधारमा तलदेखी नै क्रियाशिल सदस्यहरुको पद संख्या बृद्धि गर्दै पदाधिकारीहरुको पद थप गर्नुपर्ने आफ्नो धारणा रहेकोमा पार्टी सभापतिले हतार हतारमा समायोजन गरेको पौडेलले बताए ।

पार्टीको केन्द्रिय समिती बढाउन आवश्यक रहेको भन्दै नेता पौडेलले केन्द्रिय सदस्यको संख्या बढाएर मात्रै पदाधिकारीको संख्या बढाउनुपर्ने स्पष्ट पारे ।