आज गाई तिहार: गाईलाई लक्ष्मीको प्रतीक र गौमाता मानेर आमाको रुपमा पूजा गरिंदै


काठमाडौं । यमपञ्चक वा महान पर्व तिहार अन्तर्गत आज गाईको पूजा गरी गाईतिहार मनाइन्छ । कात्तिक कृष्ण औंसीका दिन लोकमा गाईलाई लक्ष्मीको प्रतीक र गौमाता मानेर आमाको रुपमा पूजा गरिन्छ । गाईका शरीरमा सबै देवदेवता निवास गर्ने शास्त्रीय कथनअनुसार गाईपूजा गर्दा गाईका शिरदेखि पाउसम्मका अंगहरुको पूजा गर्ने चलन छ ।

गाईलाई सिंगारेर माला लगाई तेल घसेर सम्मान गरी मीठो खानेकुरा दिइन्छ । पूजाआज सकिएपछि गाई चराउन निकाल्ने मार्गमा तोरण तारेर चरणमा लैजाने चलन छ । कसैकसैले यस दिन गाईलाई बालीमा हुलेर चराउने गर्छन् । रक्षाबन्धनका दिन हातमा बाँधेको डोरो यसदिन गाईको पुच्छरमा बाँधिदिनाले मृत्युपछिको कष्टमय सागर वा वैतरणी पार गर्न सजिलो हुने विश्वास छ । गाई अत्यन्तै गुणी र सुधो प्राणी हो । समाजमा सज्जन र ज्ञानीजनलाई गाईको उपमा दिइन्छ । गावो विश्वष्य मातर भनेर गाईलाई विश्वकी माता मान्ने वैदिक उद्घोष छ ।

वन वनस्पति र खोलानालाको पानी खाएको । अन्न नून कम खुवाइएको गाईको नजिकबस्दा समेत शान्ति र आरोग्य मिल्छ । गाईको गहुँुत र गोबरमा शुद्धिको अमृत हुन्छ । औषधेय गुण हुन्छ । दूधमा आरोग्य र कुशाग्र वुद्धि विकास गराउने रस हुन्छ भन्ने तथ्य प्रमाणित भएको छ । स्थानीय प्रजातिको प्राकृत लिमे पार्कोटे जस्ता गाईको गोबर, गहुँत, दूध, दही र घ्यू मिसाएर पञ्जगव्य प्रयोग गर्ने चलनले नेपाली समाजमा ठूलो सांस्कृतिक महत्व छ । हिमाली खण्डमा पाइने चौँरीगाईदेखि तराई क्षेत्रमा पाइने विभिन्न प्रजातिका गाईले नेपाली जनताको आर्थिक विकास तथा स्वास्थ्य अभिवृद्धिमा महत्वपूर्ण सहयोग गरेकाले गाई हाम्रो जनजीवनको सहयोगी प्राणी सावित भएको छ । यसैले, गाईलाई नेपालको राष्ट्रिय जनावर मानिएको हो ।

यसैदिन बेलुकी घरघरमा धनधान्यकी देवी लक्ष्मीको पूजा गरिन्छ । लक्ष्मीपूजा गर्दा नयाँ पात्र ल्याई त्यसमा धनदौलत राखी आँगनदेखि लिपपोत गरी चामलको पिठाले लक्ष्मीको पाइला बनाई ढुकुटीसम्म पु¥याई लक्ष्मीलाई घरमा अटल रहन स्तुति गरिन्छ । धनसम्पत्तिलाई लक्ष्मीको प्रतीकका रुपमा पूजा गरिन्छ । लक्ष्मीको पूजा गर्दा विशेष रुपले दीपावली गरिन्छ । लक्ष्मीपूजा गरेको कोठा खुलै राख्ने पनि चलन छ । महलक्ष्मीको पूजाआजा गर्ने यस रातलाई सुखरात्रि भन्ने गरिन्छ । लक्ष्मीपूजा सकेपछि महिला घरघरमा गई भैलो खेली सुखशान्ति, सम्पन्नता र वैभवको कामना गर्ने चलन छ । विष्णुका परम्भक्त बलीबाट लक्ष्मीले विष्णुलाई मुक्त पारेको सम्झनामा भैलो खेल्ने चलन शुरु भएको कथन छ ।

यसैदिन नेपाली साहित्यका महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्मजयन्ती मनाइन्छ । विसं १९९६ को लक्ष्मीपूजाका दिन जन्मेका महाकवि देवकोटाले सानैदेखि काव्य, महाकाव्य, निबन्ध लगायतका सारा विधामा कलम चलाई नेपाली साहित्यलाई विश्वसाहित्यको स्तरमा पु¥याउन सफल भएका थिए । पागल कविता, मुनामदन काव्य, शाकुन्तल महाकाव्यलगायत दर्जनौँ प्रसिद्ध कीर्ति दिएर उनले नेपाली साहित्यलाई धनी र समृद्ध बनाएका छन् । विश्वकोटिको उचाइमा पु¥याएका छन् ।

गाईतिहारका दिनदेखि तीनदिनसम्म तिहारको बिदा शुरु हुने हुँदा यस दिनदेखि बजारमा किनमेलको घुइँचो लाग्ने गर्छ । पसलहरु फूलमालाले सजाएर धपक्क बलेको जस्तो देखिन्छ । ठाउँठाउँमा थुपारिएको फूलमालाको थुप्रोले मनै लोभ्याउँछ । तिहारको तयारीका लागि दिदीबहिनीहरु कोही माइतीघर फर्कन्छन् भने कसैले आफ्नै कर्मघरमा दाजुभाइ बोलाएर पर्व मान्न आवश्यक सामग्री जुटाउन थाल्छन् । कसैले सयपत्री, गोदावरी, मखमली फूल टिपेर माला उन्न थाल्छन् । फूलसँग तिहारको गहिरो सम्बन्ध छ । संस्कृतिमा यति गहन पुष्प सम्बन्ध भएको समाज दुनियाँमा दुर्लभै पाइन्छ ।