तरकारीको मुल वीउ उत्पादनमा कमि हुन नदिन सरोकारवालाको जोड


धनवीर दाहाल, रुकुम । रुकुम पश्चिममा तरकारीको मुल वीउ उत्पादनमा कमि हुन नदिन सरोकारवालाले जोड दिएका छन् । जिल्लामा उत्पादन भएको मुल वीउ जिल्लाको माग धानेर जिल्ला बाहिर निर्यात हुने गरेको अवस्थामा स्थानीय सरकार देखी केन्द्रीय सरकारले बिशेष कार्यक्रम तर्जुमा गरी बजेटको कमि हुन नदिन सरोकारवालाले जोड दिएका हुन् ।

आइतबार तरकारी वीउ उत्पादन केन्द्रले आफ्नै कार्यालयमा गरेको कार्यक्रममा मुसिकोट नगरपालिकाका प्रमुख देवीलाल गौतमले तरकारी उत्पादन केन्द्र जिल्लाको गहना भएकोले वीउ उत्पादनमा कमि हुन नदिनका लागी नगरले पनि पहल गर्ने बताउनुभयो । प्रदेश सरकार अन्र्तगत संचालन हुने या केन्द्र सरकारले हेर्ने भन्नेमा अझै अन्यौल भएको उहाँको भनाई छ । यसै गरी प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेम्भीले कार्यालयले देखाएको बजेट अभावको समस्यालाई समाधान गर्न स्थानीयदेखी केन्द्र सरकारले ध्यान पुर्याउन आबश्यक रहेको बताउनुभयो । तरकारी वीउ उत्पादन केन्द्र चाँपाले बर्षेनि डेड टन तरकारीको मुल वीउ उत्पादन गर्ने गरेको छ ।

लक्ष अनुसार नै जिल्लामा वीउ उत्पादन भैरहेको केन्द्र प्रमुख, बरिष्ठ बागवानी बिकास अधिकृत डा. रविन्द्रनाथ चौबेले दिनुभयो । प्रयाप्त बजेट अभावमा केही समस्या भएको पनि उहाँले बताउनुभयो केन्द्रका अनुसार प्याज(रेड क्रियोल), काउली(काठमाडौं स्थानीय), मुला (मिनोअर्लि), रायो(खुमल चौडापात), केराउ(अर्केल, सिक्किमे र सिंगापुरे), सिमि(चौमासे, त्रिसुलि र कन्टेन्डर), चम्सुर(स्थानीय), साग(सिस्चार्ड), टमाटर(सृजना हाईब्रिड), धनिया(स्थानीय), भेडेखुर्सानी(क्यालिफोनिया वन्डर), काँक्रो (भक्तपुर) जातको वीउ उत्पादन हुने गरेको छ । त्यस्तै अन्य जातका तरकारीको उन्नत वीउ समेत उत्पादन हुने गरेको केन्द्रले जानकारी दिएको छ । जिल्लामा पुगेर बाहिरिन्छ वीउ जिल्लामा उत्पादन भएको वीउ जिल्लालाई पुगेर अन्य जिल्लामा निर्यात हुने गरेको छ ।

केन्द्र प्रमख बरिष्ठ बागवानी विकास अधिकृत डा. चौबेले जिल्लामा उत्पादन भएको तरकारीको मुल वीउ जिल्लामा पुगेर सल्यान, रोल्पा, दाङ, प्यठान, गुल्मि, अर्घाखाँचि तथा केन्द्रिय तरकारी वीउ उत्पादन केन्द्र खुमलटार सम्म पुग्ने गरेको बताउनुभयो । आइतबार कार्यालयमा एक कार्यक्रमको आयोजना गरी सरोकारवालाहरुबीच यस बर्षको कार्यक्रम सार्वजनिक गरिएको हो । आर्थिक वर्ष ०७४।०७५ मा आलु तरकारी तथा मसला विकास कार्यक्रम र प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रम सञ्चालन गरेको केन्द्र प्रमुख बरिष्ठ बागवानी विकास अधिकृत डाक्टर चौवेले जानकारी दिनुभयो ।

जसमा तरकारी उत्पादन कार्यक्रम तर्फ एककरोड ३२ लाख ६४ हजार र प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रम तर्फ २५ लाख ४५ हजार बजेट खर्च भएको उहाँले बताउनुभयो । गतवर्ष विभिन्न तरकारीको एकहजार दुईसय २३ किलो मूल बीउ र स्वीसचार्ड, चम्सुर, मकै, बोडी लगायतको पाँचसय ७६ किलो उन्नत बीउ उत्पादन गरिएको केन्द्रले जनाएको छ । आर्थिक वर्ष ०७५।०७६ मा २८ सय किलो मूल तथा उन्नत बीउ उत्पादन गर्ने लक्ष्य रहेको केन्द्र प्रमुख डाक्टर चौबेले जानकारी दिनुभयो । जसका लागि ३० लाख बजेट रहेको उहाँले बताउनुभयो । बीउ उत्पादनका लागि गतवर्षको भन्दा यो रकम १० लाख कम भएको उहाँको भनाई छ । विशेष गरी उत्पादन सामाग्रीमा बजेट कम हुँदा समस्या पर्ने बताइएको छ । यस आर्थिक वर्षमा केन्द्रको कूल बजेट चालुतर्फ एककरोड ३८ लाख ४६ हजार र पुँजीगततर्फ आठलाख रुपैया बजेट रहेको बताइएको छ ।